काठमाडौं– जनता समावादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि (वैशाख ३१ गते) लिएको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन माग गरेका छन्।
संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले वैशाख ३१ गते राष्ट्रवपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण नगरी ‘त्यो पर्दैन’ भनेकोमा यादवले आपत्ति जनाएका छन्।
‘राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूवर्क त्यो पर्दैन भनेर शपथ ग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपग्रहण बदर गरी पुनः शपथ ग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ,’ जसपा अध्यक्ष यादवले आइतबार एक विज्ञप्ती जारी गर्दै भनेका छन्।
यस्तै, राजदूतहरु नियुक्त गर्दा संविधानमै भएको ‘समावेशी सिद्धान्त’को पालना नभएकोमा पनि यादवले आपत्ति जनाएका छन्।
अध्यक्ष यादवले कोरोना भाइरसको दोस्रो लहरले जनता आक्रान्त भएको अवस्थामा सरकारले जिम्मेवारीपूर्वक आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन नगरेको भनेर पनि आपत्ति जनाएका छन्।
‘अस्पतालहरुमा कोभिडका बिरामीहरका लागि बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर र औषधिको समेत अभावले जनता अकाल मृत्युवरण गरिरहेका छन्,’ यादवले भनेका छन्, ‘स्वास्थ्यकर्मी, डाक्टर अर्थात् आवश्यक जनशक्ति, बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर र औषधिको यथाशीघ्र व्यवस्था गर्नु पर्दछ।’