March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

अक्सिजन उत्पादन, आपूर्ति र वितरण तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन

2.4K

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीबाट विरामी भएका नागरिकको उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य उपकरणको तत्काल व्यवस्थापनका लागि निर्देशन दिएका छन्। 

विभिन्न अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र, मन्त्री र सरकारी निकायसँगको विशेष छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले मानव जीवन रक्षाका लागि तीव्र रफ्तारमा काम गर्न निर्देशन दिए।

कोभिड(१९ को दोस्रो भेरियन्ट संक्रमणका सन्दर्भमा आयोजित विशेष छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसको नियन्त्रणका लागि सरकारले चालेका कदमका विषयमा जानकारी दिंदै विभिन्न निकायले गर्नु पर्ने कामबारे निर्देशन दिएका थिए। 

Advertisement

तत्कालको काम अक्सिजन आपूर्ति

प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षाका लागि आवश्यक अक्सिजन आपूर्ति, उत्पादन र वितरणमा लाग्न निर्देशन दिए। घरघरमा अक्सिजनको सिलिण्डिर राख्ने र अस्पतालमा अक्सिजन अभाव हुने गरेकोप्रति लक्षित गर्दै उनले त्यसका लागि आवश्यक सचेतना आवश्यक रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

‘सुरक्षाका मापदण्ड नअपनाउने, कोभिड लाग्छ भनेर अक्सिजन घरमै लगेर राख्ने प्रवृत्ति बढेको छ, यसले अस्पतालको विरामीलाई पनि बचाउन सक्दैन र घरमा राखेको अक्सिजनले पनि काम गर्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यस कुरामा जनचेतना जगाउनु आवश्यक देखियो।’

सरकारले तत्काल गर्ने कामको रुपमा अहिले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई लिएको उनको भनाई थियो। प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता प्रस्तुत गर्दै भने, ‘अक्सिजन खरिद र वितरणका लागि तत्काल के के गर्नुपर्छ गर्ने, निजी अस्पतालमा बढेको नाफाखोर प्रवृत्ति हटाउने, भेन्टिलेटर अपुग भए तत्काल मगाएर त्यसको पूर्ति गर्ने काम गर्नु पर्‍यो । मानवीय संकटको बेला ३५ दिने सूचना पर्खेर बसे नागरिकको ज्यान जान्छ।’

विरामीलाई खोजेको औषधि र अन्य उपचार सामग्री नपाएर मर्छु भन्ने मनोविज्ञानबाट समेत मुक्त गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो। ‘विरामीले मैले खोजेको औषधि पाउँदिनँ, अक्सिजन पाउँदिनँ भन्ने सोच्नु नपरोस्,’ प्रधानमन्त्रीले भने, ‘तत्काल उपलब्धता र सुलभताका लागि तपाईंहरू सबैको सक्रियता आवश्यक छ ।’