March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

जसपामा फेरी लफडा

2.4K

काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक नबोलाइएको बताएका छन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले शनिवार दिउंसो १ बजे केन्द्रिय कार्यकारिणीको बैठक बोलाएको थियो । उक्त बैठक बसेपछि ठाकुरले विज्ञप्ति प्रकाशित गर्दै जसपाको बैठक नभएको बताएका हुन ।

उनले शनिवार दिउंसो १ बजे पार्टी कार्यालयमा जारी रहेको भनिएको बैठकप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै जसपा नेपालको केन्द्रिय कार्यकारिणी समितिको कुनै बैठक नभएको स्पष्ट पारेका छन् ।

जसपाको कार्यकारिणीमा अर्का अध्यक्ष यादवको बहुमत रहेको छ । ठाकुर पक्षमा रहेका महेन्द्र यादवसहित ३ जना केन्द्रिय सदस्य यादवतिर लागेपछि उनको पक्षमा बहुमत बनेको हो । ५१ सदस्यिय जसपाको कार्यकारिणीमा २८ जना यादवको पक्षमा छन् भने २२ जना ठाकुरको पक्षमा छन् । ठाकुरको पक्षमा रहेका रेशम चौधरी अहिले जेलमा छन् ।

Advertisement

यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्य उपस्थित रहेका दाबी गरिएको छ । जसपाभित्र संसदिय दलमा भने ठाकुरको पक्षमा स्पष्ट बहुमत देखिएको छ । तर, केही सांसदहरु सरकारमा जानुपर्ने पक्षमा छन् ।

उनिहरुले अध्यक्ष ठाकुरलाई सरकारमा सहभागी हुन दबाव दिइरहेका छन् भने ठाकुरले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुद्दाको सम्बोधन नभएसम्म आफु सरकारमा सहभागी नहुने बताइसकेका छन् । ठाकुर सरकारमा नगएको अवस्थामा उनिहरु पनि यादवतिर जाने सम्भावना बढेको छ ।

जसपामा निर्णायक मानिएको रेणु यादव,इस्तियाक राई र प्रदिप यादवको टिम यतिवेला विभाजन भएको छ । उनको टिममा रहेका रोहिणाज,विमल श्रीवास्तव र उमाशंकर अरघरिया ठाकुरको पक्षमा लागेका छन् भने अरु अध्यक्ष यादवतिर लागेका छन् । राईको समुह यादवतिर लागेसंगै उनको कार्यकारिणीमा बहुमत पुगेको हो ।

जसपामा ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीसंग चुनावसम्मै सहकार्य गरेर अघि बढ्ने पक्षमा छन् भने अर्का अध्यक्ष यादव माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग चुनावी गठबन्धन गरेर जाने पक्ष्ँमा छन् ।