November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

माधव नेपालले एमाले विभाजन गरेर अर्को पार्टी बनाए वामदेव सामेल हुने

2.1K

काठमाडौं- माधवकुमार नेपालले एमाले विभाजन गरे सो पार्टीमा आफू सामेल हुने वामदेव गौतमले बताएका छन्। सोमबार गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले गौतमको धारणा भन्दै फेसबुकमा पोस्ट गरेको स्टेटसमार्फत उनले आफ्नो पक्षधरता स्पष्ट पारेका हुन्।

‘वरिष्ठ नेता क‍. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन’, गौतमको भनाइ छ, ‘तर, यदि उहाँहरूले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।’

त्यस्तै, गौतमले ओलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। ओलीले आफू पार्टीलाई २०७५ जेठ २ भन्दाअघि फर्काउन तयार नभएको बताएपछि प्रतिउत्तरमा गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेको उल्लेख गरिएको छ।

Advertisement

यस्तो छ गाैतमको भनाइ

नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ ।
१. अध्यक्ष कमरेडसँगको कुराकानीबारे
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’
यसको प्रतिउत्तरमा उपाध्यक्ष क.वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।
२. क.माधव नेपालहरुका सन्दर्भमा

वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।