June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

ओलीले यसअघिका निर्णय फिर्ता लिनुपर्छ: नेपाल

270

काठमाडाैं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गत फागुन २८ गतेका निर्णय फिर्ता लिनुपर्ने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले फागुन २८ र त्यसपछिका बैठकले गरेका निर्णय फिर्ता लिनुपर्ने बताएका छन् । त्यस्तै उनले २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफुहरुको बटम लाइन भएको स्पष्ट पारेका छन् ।

‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो’, नेता नेपालले भने ।

उनले आफूहरुले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध नेकपा एमाले चाहेको बताएका छन् । पार्टीलाई एकताबद्ध बनाउन आफुहरु वार्ता र लचकता दुवै अपनाउने तर, अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं’, उनले भने ।