May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

ओलीविरुद्धको अविश्वास प्रस्तावका लागि सांसदको हस्ताक्षर जुटाउँदै काँग्रेस

1.4K

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापनका लागि आन्तरिक तयारी तीव्र बनाएको छ । बुधबारको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकबाट नयाँ सरकार गठनका लागि परिस्थिति अनुकुल बन्दै गएको निष्कर्ष निकालेको काँग्रेसले आफ्ना सांसदलाई ‘स्ट्यान्डबाई’ बस्न भनेको छ । विशेष गरी काठमाडौं उपत्यका बाहिर भएका सांसदलाई ‘स्ट्यान्डबाई’ बस्न भनिएको हो ।

बर्दियामा रहेका सांसद किशोर सिंह राठोरले काठमाडौंमा रहेका सांसदले सोही अनुसारको सूचना पठाएको बताए । पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद अधिवेशन अन्त्यपछि काँग्रेसका केही सांसद गृहजिल्ला पुगेका छन् । माओवादीले विश्वासको मत फिर्ता र अविश्वासको प्रस्ताव दर्ताको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएपछि काँग्रेसले आफ्ना सांसद तयारी अवस्थामा रहन निर्देशन दिएको हो । अब काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच निर्णायक छलफल गरेर अविश्वास प्रस्ताव अघि बढाउने तयारी भइरहेको बुझिएको छ ।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारीमा जुटेको काँग्रेसले प्रतिनिधिसभाको अंकगणितको लेखाजोखा गरिरहेको छ । काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालका अनुसार पार्टीका अधिकांश सांसदको हस्ताक्षर जुटिसकेको छ ।

अर्कोतिर काँग्रेसका दोस्रा तहका नेताहरु माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव– बाबुराम भट्टराई पक्षसँग निरन्तर संवादमा छन् । बिहीबार जसपाका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरुको छलफलमा पनि काँग्रेस नेता र यादव–भट्टराईबीचको उठ–बसबारे चर्चा भएको थियो । काँग्रेस अविश्वासको प्रस्ताव दर्ता गर्न अग्रसर देखिएपछि ठाकुर–महतो पक्षले यसलाई गम्भीरताका साथ हेरेको छ ।

माओवादी केन्द्रसहित एमालेको खनाल–नेपाल पक्ष र जसपाको यादव–भट्टराईको सहयोग रहनेमा काँग्रेस विश्वस्त देखिएको छ । सोही अनुसार हस्ताक्षर जुटाउन काँग्रेस लागिपरेको स्रोतको दाबी छ ।