June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

यस्तो थियो जंगबहादुर विरुद्ध लखन थापाको विद्रोह

11.8K

लखन थापा मगरलाई नेपाल सरकारले २०५६ साल फागुन ११ गते शहीद घोषणा गर्यो ।  सरोकारवालाहरुले उनलाई नेपालको प्रथम शहीद घोषणा गर्नुपर्ने माग बारम्बार दोहोर्याइरहँदा २०७२ साल असोज ३ गते नेपाल सरकारले उनलाई नेपालको प्रथम शहीद घोषणा गर्यो ।

जङ्गबहादुर राणाको निरङ्कुश शासन भोगेका लखन थापाले जङ्गबहादुरको जीवनको उत्तरार्धमा उनले लादेको शासन ब्यवस्थाको अन्त्यका लागि आफ्नो विद्रोही कदमलाई उत्कर्षमा पुर्याएका थिए । उनले जङ्गबहादुरको अत्याचारले सीमा नाघेको, उनले अङ्ग्रेजलाई देश बेचेकोले उनलाई मारेर सुनौलो युग ल्याउन आफूलाई मनकामना देवीले आदेश दिएको’ कुरा जनसमक्ष बताएर गोरखा बुङ्कोटबाट विद्रोहको आह्वान गरे । उनले सशस्त्र विद्रोहका लागि हतियार र सेना जम्मा गरेका थिए । आफूलाई राम शाहकालीन लखन थापा (प्रथम)को अवतार बताएर उनले बुङ्कोटमै मनकामना देवीको पूजा चलाई प्रशस्त भक्तजन पनि बटुलेका थिए । जङ्गबहादुरको आदेशबाट पल्टन लगाएर लखन थापा र उनका समर्थकहरुलाई पक्राउ गरियो । लखन लगायत उनका कट्टर ६ जना समर्थकलाई झुण्ड्याएर मृत्यूदण्ड दिइएको इतिहास पाइन्छ ।

उनको बारेमा अनुश्रुति मात्र होइन, इतिहास प्रमाणित गर्ने कैयौँ ऐतिहासिक तथ्यहरु हुँदाहुँदै पनि कसैकसैले उनको शहादतको तथ्यगत आधारमाथि प्रश्न उठाउने गरेका छन् । तर ऐतिहासिक तथ्यबाटै ती प्रश्नहरुको समाधान गर्न गाह्रो भने छैन । पूर्व सैनिक अधिकारी डा. प्रेमसिंह बस्न्यातले लखनले विद्रोह गर्नुभन्दाअघि नै वीरध्वज बस्नेत वि.सं. १९०३ मा जङ्गबहादुरलाई मार्ने सशस्त्र योजना बनाएकोलाई पहिलो विद्रोह मान्ने कि नमान्ने र वि.सं. १९०७ मा करवीर खत्री, जयबहादुर कुँवर र बद्रीनरसिंह कुँवरले जङ्गबहादुरलाई मार्ने योजना बनाउनुलाई जङ्गबहादुरविरुद्ध दोस्रो विद्रोह देखिन्छ भन्ने धारणा ब्यक्त गरेको पाइन्छ (बस्न्यात, डा. प्रेमसिंह, ‘नेपाली सेना लिगलिगकोटदेखि वर्तमानसम्म’ २०७१:१३४–१३५)। वीरध्वज र बद्रीनरसिंह कुँवरले गरेको जङ्गबहादुरलाई मार्ने प्रयास विद्रोह हो कि होइन, भन्नेबारे विचार गरौँ ।

आफ्नी सौता साम्राज्यलक्ष्मीदेवीको मृत्यू भएपछि राजा राजेन्द्रविक्रमकी कान्छी महारानी राज्यलक्ष्मीको मनमा आफ्ना छोरा रणेन्द्रलाई भावी राजा बनाउने महङ्खवाकाङ्क्षा चुलिएर गयो । तर उनको यस महत्वाकाँक्षालाई प्रधानमन्त्रीहरु माथवरसिंह थापा र फत्तेजङ्ज शाहले पूर्ण गरिदिन सकेनन् । त्यसबीच राज्यलक्ष्मीका अति प्रिय र भरपर्दा जनरल गगनसिंहको उनकै निवास ढोकाटोलमा साँझको समय पूजा गरिरहेको अवस्थामा रहस्यमय हत्या भयो । हत्यारा पत्ता लगाउने कचहरी बस्दा त्यो कचहरी कोतपर्वमा परिणत भयो । कोतपर्वपछि जङ्गबहादुर राणा शक्तिशाली शासक भएर उदाए । 

जङ्गबहादुरबाट पनि आफ्नो चाहना पुरा हुने नदेखिएपछि उनको विकल्पमा उनको हत्या गर्ने गुप्त षडयन्त्र तानाबाना बुन्नमा महारानी राज्यलक्ष्मी लागिन् । यसमा उनले काजी वीरध्वज बस्नेतलाई हातमा लिइन् । वीरध्वज र राज्यलक्ष्मीबीच तामातुलसी छोएर भएको धर्मपत्रअनुसार वीरध्वजले जङ्गबहादुर, सुरेन्द्र र उपेन्द्रलाई मारेर रणेन्द्रलाई राजगद्दिमा राख्ने किरिया खाएका थिए । गगनसिंहका छोरा वजीरसिंहलाई पनि यस खेलमा समावेश गर्ने निर्णय गरियो । योजना सफल हुनेबित्तिकै वीरध्वज प्रधानमन्त्री हुने पक्का गरियो । षडयन्त्रमा सामेल भएका विजयराज पाण्डेले जङ्गबहादुरलाई भोजका लागि आमन्त्रण गर्न जाँदा षडयन्त्रबारे सबै पोल खोलिदिएपछि यसविरुद्ध जाइलाग्न आफ्नै सैन्यशक्तिसहित जङ्गबहादुर राजदरबारतिर प्रस्थान गरे । वीरध्वज आफै जङ्गबहादुरलाई लिन हिडिरहेको बेला यी दुईको परस्पर बीच बाटैमा भेट भयो । जङ्गबहादुरको इशाराबाट वीरध्वजलाई रणमेहर अधिकारीले टुक्राटुक्रा हुने गरी काटिदिए  (राणा, पद्मजङ्ग,  ‘जङ्गबहादुरको जीवनयात्रा’ २०७४:८०–८४) । ‘भण्डारखाल पर्व’ नामले चिनिएको वि.सं. १९०३ कात्तिक सुदी १२ मा घटीत यो पर्वमा उक्त षडयन्त्रमा संलग्न वीरध्वजका अरु अनुयायीहरु पनि मारिए ।

यो ऐतिहासिक प्रकरण हेर्दा महारानी राज्यलक्ष्मीको महत्वाकाँक्षा पूर्ण गरिदिएर आफू प्रधानमन्त्री हुने बाहेक वीरध्वजको अरु सामाजिक वा राष्ट्रियमुक्तिको कुनै मनसुवा देखिदैन । त्यसैले वीरध्वज सम्बन्धी यो प्रकरण एउटा षडयन्त्र मात्र थियो, जसलाई कुनै पनि हालतमा विद्रोह मान्न सकिदैन ।

Jang_Bahadur_Rana.jpg

यसैगरी जङ्गबहादुर राणा बेलायत भ्रमणबाट फर्केपछि उनको हत्या गर्ने षडयन्त्रको रचना उनकै भाइहरुले रचे । जङ्गबहादुर बसन्तपुर दरबारबाट फर्कदा साहिँला भाई जनरल बद्रीनरसिंह, सेकेण्ड जनरल जयबहादुर कुँवर (जङ्गबहादुरका काकाको छोरा) र करबीर खत्री मिलेर जङ्गबहादुरको हत्या गर्ने योजना रहेको थियो । यो षडयन्त्रमा जङ्गबहादुरको गाथ ढल्नासाथ माहिला साहेव उपेन्द्रविक्रमले राजा सुरेन्द्रविक्रममाथि हमला गरी हत्यासमेत गरी राजगद्दीमा आफू बस्ने, बमबहादुरलाई प्रधानमन्त्री बनाउने र बद्रीनरसिंहले कमाण्डर इन् चिफ चलाउने यस योजनामा रहेको थियो । यस योजना सफल भए जयबहादुर कुँवर र करवीर खत्रीले उचित जिम्मेवारी पाउने पनि निधो गरिएको थियो (जबरा, पुरुषोत्तमशम्शेर,  ‘श्री ३ हरुको तथ्यवृत्तान्त’ २०६५:८४–८७) । 

वि.सं. १९०७ फागुन ८ गते जङ्गबहादुरलाई मार्ने र उपेन्द्रविक्रम शाहले सुरेन्द्रलाई मारी गद्दीमा बस्ने योजना थियो । तर योजना पुरा हुने अघिल्लो रात नै थापाथली दरबारमा पुगेर बमबहादुरले जङ्गबहादुर समक्ष सम्पूर्ण पोल खोलिदिए । त्यसपछि बद्रीनरसिंह, जयबहादुर इलाहावाद जेलमा कोचिए, करवीर खत्रीको चारपाटा मुडी जात पतित गरियो । यो प्रकरण पनि जङ्बहादुरका भाइहरुको सत्तामा जाने षडयन्त्रबाहेक सामुहिक भलाइको निमित्त गरिएको कुनै प्रयत्न नभएकोले यो प्रकरणलाई पनि विद्रोह मान्न कुनै पनि हालतमा सकिन्न । यो त एउटा असफल षडयन्त्र थियो । यी दुवै प्रकरण गोप्य रुपमा कोठामा बसेर बनाइएको थियो । विद्रोह र षडयन्त्र फरक कुरा हुन् ।

लखन थापा असली विद्रोही

प्राज्ञिक वहस गर्दा षडयन्त्र र विद्रोहमा फरक छुट्याउन जरुरी हुन्छ । मुठ्ठीभर मानिस भेला भएर गुप्त रुपमा कसैको अनिष्ट चिताउनु र सोही अनुसारको कर्म गर्नु षडयन्त्र हो । सामुहिक हितका लागि खुलेआम कसैको सत्ता पल्टाउने उद्देश्यले प्रशस्तै समर्थकहरुकासाथ गरिने क्रान्तिकारी कामलाई विद्रोह भनिन्छ । लखन थापाले जङ्गबहादुरको निरङ्कुश शासन ब्यवस्था पल्टाएर नेपालमा स्वर्ण युग ल्याउने सार्वजनिक आहृवान गरेका थिए ।जङ्गबहादुरका छोरा पद्मजङ्गकै भनाइमा पनि लखन थापाले आफ्नो विनीत आचरण र अनुयायी भाषाले गर्दा उनी छोटो समयमै १५ सय सङ्ख्यामा सेना जम्मा गर्न सफल भएका थिए । उनले नेपाली सेनाको नेतृत्व गर्ने, राजधानी प्रवेश गर्ने, जङ्गबहादुरको हत्या गरेर सरकार आफ्नो अधिनमा लिने र त्यसै दिनदेखि नेपाली इतिहासको स्वर्ण युग आरम्भ गर्ने घोषणा गरेका थिए (राणा, उही : २८३–२८४) ।

यसरी सार्वजनिक रुपमा जङ्गबहादुरविरुद्ध जनसमर्थन पाएर छोटो समयमै १५ सय सैनिकको समूह समेत गठन गर्न सफल लखन थापाको यो प्रयत्न कुनै पनि षडयन्त्र नभई एउटा ब्यवस्थित विद्रोह थियो । यो विद्रोह दवाउन जङ्गबहादुर पल्टन नै परिचालन गर्न बाध्य हुनुपरेको थियो । ‘कुण्डली सङ्ग्रह’अनुसार जङ्गबहादुरको जीवनी लेखक उनका साहिला छोरा पद्मजङ्ग राणा लखन थापालाई मृत्यूदण्ड दिइएको बेला २० वर्षका थिए । पद्मजंगको जन्म वि.सं. १९१४ कात्तिक २८ गते भएको हो ( पन्त, दिनेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ९३, २०५५ वैशाख : ३५) । अर्को कुरा आफ्नै बाबु जङ्गबहादुरको जीवनी लेखनका लागि सामग्री सङ्कलनमा कलिलै उमेरदेखि उनी लागेका व्यक्ति हुन् भन्ने प्रमाण मदन पुरस्कार पुस्तकालयमा रहेको उनको एउटा कापीबाट पाइन्छ (दीक्षित, कमल, ‘जंग गीता’ २०४०: १३९) । त्यसैले पद्मजङ्गमा लखन थापाको त्यो समयको ऐतिहासिक प्रकरणबारे जानकारी हुनु असम्भव छैन । 

आध्यात्मिक र सैन्य नेतृत्वमा लखन थापा

लखन थापा आफ्नो समयको लोकप्रिय धार्मिक र राजनीतिक नेता थिए । एक वंशावलीमा उल्लेख भएअनुसार सिद्ध लखन थापाको अवतार हुँ भनी पाँचतले घर बनाई मौलो गाडेर सधैँ मनकामनादेवीको पूजा गर्थे । दुनियाँलाई प्रतित पारी गाउँ गाउँबाट पञ्चवली, बीसासय वली र कोरा पूजासमेत ल्याई पूजा गर्नेगर्दा दुनियाले मनकामना पूजा गर्न छाडेको उक्त वंशावलीमा उल्लेख छ (‘प्राचीन नेपाल’ सङ्ख्या २७, २०३१ वैशाख : १५–१६) ।

लखन थापाले गोरखा, बुङ्कोटमा मनकामना देवीको जुन ठाउँमा पूजा गर्थे, त्यो ठाउँ पाँचतले घर थियो भन्ने माथि परेकोले लखनले सुरु गरेको विद्रोह ब्यवस्थित थियो भन्ने बुझ्न गाह्रो पर्दैन। यो ठाउँमा उनले आफ्ना मानिसहरुलाई परिचालन गरी हातहतियार, बन्दुक, धनुकाँडहरु जम्मा गर्न लगाएका थिए । पछि जङ्गबहादुरले सेना परिचालन गरेर लखन र उनका समर्थकहरुलाई पक्राउ गरी थापाथली दरबार ल्याए । उनीहरुले विद्रोहको तयारी गरेको स्वीकार गरेपछि लखन थापा लगायतलाई झुण्ड्याएर मारियो भने केहीलाई कारावासमा कोचियो । लखन थापाले पूजा गर्ने गरेको जुन पाँचतले घर थियो, त्यसलाई मैदान हुने गरी भत्काइयो (‘प्राचीन नेपाल’, उही:१६) । लखन थापाले मनकामनाको पूजा गर्ने भनी बनाएको जुन घर छ, वास्तवमा त्यो विद्रोह र आवश्यक परे युद्ध सञ्चालन गर्नका लागि बनाइएको एउटा किल्ला थियो । 

लखन थापाले गोरखा बुङ्कोटमा रहेर जुन जनविद्रोहको तयारी गरिरहेका थिए, त्यसकाबारेमा जङ्गबहादुरसमक्ष जाहेर भएपछि उनले सैनिक दललाई विद्रोह दमनका लागि खटाएका थिए । मेजर कप्तान शमशेरजङ्ग थापा क्षेत्री, सुब्बा वीरमानजङ्ग थापा क्षेत्री र सुबेदार बदलसिंह बस्न्यातले पत्ता लगाएर वि.सं. १९३२ चैत सुदी १मा सरकारलाई जाहेर गरेको अर्जीअनुसार लखन थापा जुन घरमा बस्छन्, त्यो घरलाई ब्यवस्थित रुपमा सुरक्षा पर्खालले पनि घेरिएको थियो । सरकारी सैन्य अधिकारीहरुले लखन थापाको विद्रोह दमनका क्रममा वि.सं. १९३२ चैत सुदी १ मा गरेको बयानमा लखन थापा बस्ने एउटा किल्ला जस्तो घरलाई आठ क्यूविक चौडाई र १६ क्यूविक उचाईको पर्खालले घेरिएको उल्लेख गरेका छन् (रेग्मी, महेशचन्द्र, ‘रेग्मी रिसर्च सेरिज’ वर्ष १२ अङ्क ५, सन् १९८० डिसेम्बर : ७२–७५)। यस अर्जी अनुसार लखन थापाले आफ्ना सहयोद्धाहरुलाई जर्नेल, कर्णेल र कप्तानमा नियुक्ति दिने प्रतिज्ञा गरेका थिए । लखनसङ्गै अपजसिंह थापा मगरलाई पक्राउ गरिएको थियो । लखनले जहरे चुमीलाई जर्नेल, विराज थापा मगर, जुठ्या थापा मगर र जीतमान गुरुङलाई कर्णेल पद दिने प्रतिज्ञा गरेका थिए । जङ्गबहादुरपछि शाहज्यादा उपेन्द्रविक्रमलाई राजा बनाउने र लखन चाहिँ उपेन्द्रका दोस्रा व्यक्ति (प्रधानमन्त्री) बन्ने योजना रहेको थियो । लखनले तार्कु वा मनाङबेसीमा शिकारमा आउँदा जङ्गबहादुरको हत्या योजना बनाएका थिए । यदि यो योजना सफल नभए तिब्बतीहरुको सहयोग माग्न तिब्बत जानेसम्मको योजना लखन थापाको रहेको थियो (रेग्मी, उही : ७४) ।

सोही अर्जी अनुसार वि.सं. १९३२ फागुन २६ गते ढाल र तरबारले सुसज्जित भोटे सेनाको ठूलो समूह लखनलाई जङ्गबहादुरको हत्याको योजनामा साथ दिन आइपुगेका थिए (रेग्मी, उही : ७४) । सम्भवतः यी भोटे सेनाका जवान गोरखाको उत्तरी भेगको अठारसयखोला क्षेत्रका स्थानीय थिए । यहाँका भोटेहरुले वि.सं. १९०७ मा जङ्गबहादुरको आदेशअनुसार त्यहाँ खानी खनाउन जाने ठेकेदारलाई पातो कसी खानी खन्ने कामलाई अवरुद्ध गरेका थिए । उनीहरुको विद्रोह दबाउन जङ्गबहादुरको आदेश अनुसार सैन्य शक्ति परिचालन गरिएको थियो । (रेग्मी महेशचन्द्र, ‘रेग्मी रिसर्च सेरिज’ वर्ष १२ अङ्क ५, सन् १९८० डिसेम्बर : ७०–७१) । जङ्गबहादुरप्रतिको पुरानो रोष उनीहरुमा बाँकी भएकोले बदला लिन उनीहरुमध्ये कतिपय लखन थापाको सैन्य पङक्तिमा पङ्तिबद्द भएका हुन सक्छन् । यताबाट विचार गरेर हेर्दा लखन थापाको सैन्य नेतृत्वको कुशलता उत्तम प्रकारको थियो भन्ने विश्वास गर्न सकिन्छ ।

आजसम्म लखन थापा र जहरे चुमी लगायत ७ जनालाई मृत्यू दण्ड दिइएको प्रचारमा आएको छ । बाँकी बलिदानीहरु चाहिँ उनै लखन थापाबाट उच्च सैन्य पद प्रदान गरिने प्रतिज्ञा गरिएका उनका सहयोद्धाहरु जहरे चुमी, विराज थापा मगर, जुठ्या थापा मगर, जीतमान गुरुङलाई मृत्यूदण्ड दिइएको हुनसक्छ । अर्का अच्छामी उपथरका एक मगर पनि लखन थापासङ्गै मारिएको गोरखा बुङ्कोट क्षेत्रमा उनका सन्तानले चर्चा गर्ने गरेका छन् (शहीद लखन थापा स्मृति प्रतिष्ठानका उपाध्यक्ष उमेशबहादुर राना मगरको भनाई) ।

खासगरी मगर लेखकहरु डा. हर्षबहादुर बुडा, त्रिलोक थापा मगर, संजोग लाफा मगर लगायतले लेख्दै आएको लखन थापाको ऐतिहासिक प्रकरणमा उनी पुरानो गोरख गणको पूर्वकप्तान थिए भन्ने लेखनलाई पुष्टि गर्ने अर्को आधार उनको किल्ला तथा सैन्य शक्ति निर्माण पनि हो, जसको नेतृत्व उनी आफैले गरेका थिए । सामान्य सिपाहीले यस्तो योजना निर्माण, सैन्य नेतृत्व तथा जनसमर्थन त्यो समयमा प्राप्त गर्न मुस्किल हुन्थ्यो । त्यसैले उनमा कुनै समय सैन्य अधिकारी भएको अनुभव थियो भन्ने अनुमान गर्न सकिन्छ ।

राजदरबारसङ्ग सम्बन्ध

राज्यको सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर सर्वशक्तिमान हुन पुगेका तत्कालीन प्रधानमन्त्री जङ्बहादुर राणाविरुद्ध कोही पनि ‘चूँ’ सम्म बोल्ने आँट गर्दैनथे । त्यतिखेरका राजा राजेन्द्र आफैमा कमजोर प्रकृतिको हुनाले जंगबहादुरले राजालाई खोपाको देवता बनाइसकेका थिए । आफ्नो हातमा शक्ति आउँदा चुरुफुरु गर्ने महारानी राज्यलक्ष्मीबाट सम्पूर्ण शक्ति हरण गरेर उनलाई जङ्बहादुरले भण्डारखाल पर्वपछि काशीवासको प्रबन्ध मिलाइसकेका थिए । उनले नेपालको इतिहासमा रणबहादुरपछि महासन्काहा राजा सुरेन्द्रकी छोरीहरु आफ्ना छोराहरु जगतजङ्ग र जीतजङ्गका साथ र आफ्नी दुई छोरी युवराज त्रैलोक्यससंग विवाह गरिदिएर शाही नातागोता गाँसिसकेका थिए । यस्तो अवस्थामा जङ्गबहादुरको हत्या गरेर वा अन्य तवरले सत्ता उखेल्न सके सुरेन्द्रका विकल्पमा उनका भाई उपेन्द्रविक्रम राजा थाप्ने योजना पनि धेरैले बनाएका थिए । लखनले पनि यही योजना बनाएको प्रसङ्ग माथि परिसकेको छ ।

उपेन्द्रविक्रम विद्रोही स्वभावका थिए । उनीसङ्ग राणाहरु पनि चिढिएका थिए । राजपरिवारका सदस्यहरुमा खुल्ला रुपमा विद्रोही देखिएकामध्ये युवराज त्रैलोक्यविक्रम पनि एक थिए । उनले राणाशासन अन्त्य नभइन्जेल श्रीपेच नलगाउने प्रण गरेका थिए । उनी राजा हुन नपाउँदै परलोक भए । लखन थापा कुनै बेला युवराज त्रैलोक्यविक्रम शाहका आठपहरिया (अङ्गरक्षक) थिए । उनले वि.सं. १९३२ सालमा श्री ३ जङ्गबहादुर राणाको विरुद्धमा गोरखा क्षेत्रमा विद्रोह सुरु गरेका कारण उनलाई झुण्ड्याएर मारियो (तुलसीराम वैद्य र अरु (सम्पा.), ‘नेपालको सैनिक इतिहास’ भाग–२, २०६५: ३६४) । यसरी तत्कालीन युवराज त्रैलोक्यविक्रमको आठपहरिया थिए भनी उल्लेख गर्ने पुस्तकको सम्पादक मण्डलका तीन सदस्यमध्ये बस्न्यात पनि एक हुन् । जङ्गबहादुर युवराज सुरेन्द्रको अङ्गरक्षकबाट राजा राजेन्द्रको अङ्गरक्षकमा सरुवा हुँदा कप्तान दर्जामा थिए (जबरा, पुरुषोत्तम,  ‘श्री ३ हरुको तथ्यवृत्तान्त’ २०६५:१२) । पछि दरबारकै एक सुसारे पुतली मैयालाई हात लिएर उनी काजी पदमा पदोन्नत भएका हुन् । 

तत्कालीन राजा तथा युवराजको अङ्गरक्षक कप्तान पदको सैन्य अधिकारी हुने हुँदा लखन थापा पनि कप्तान दर्जामै थिए भन्ने अनुमान गर्न त्यति गाह्रो छैन । अर्कोतिर गोरखाली परम्पराअनुसार ६ थरघर प्रभृतिअनुसार गोरखाका राना र थापा मगरहरुलाई उच्चपद दिने चलन थियो । अभिमानसिंह राना मगर कोतपर्वअघि उच्च पद पाउने मगर हुन् । यहीँ परम्परा जङ्गबहादुरले मिचे पनि एकाध मगरहरु कप्तान दर्जामा पुग्दा त्यहीँ पङ्तिमा लखन थापा परेको हुन सक्छ । तर यसको अभिलेख खोज्दा भेटिएन भन्ने तर्क आए के भन्न सकिन्छ भने विद्रोहीहरुको ज्यानै लिने सक्ने निरङ्कुश शासक जङ्गबहादुरलाई अभिलेख मेट्न त्यो बेला कुनै गाह्रो  कामै थिएन ।

लेखकः राजकुमार दिक्पाल

मनकामनादेवी: राम शाहकी रानी थिइन् ?

लखन थापा आध्यात्मिक थिए । उनको विद्रोहको आधार त्यतिखेर ब्याप्त जङ्गबहादुर राणाको निरङ्कुशता, एकलौटीकरण र थिचोमिचोले उत्पन्न गरेको आक्रोश प्रमुख थियो । उनले आध्यात्मिक आडमा यो विद्रोही भावनालाई गोरखा क्षेत्रमा प्रभावकारी रुपमा फैलाएका थिए । जसका कारण मनकामनाको सम्पूर्ण पूजा उनले गोरखाको बुङ्कोटमा सुरु गरिदिंदा यता मनकामनामा भक्तजनहरु आउन छाडेको प्रसङ्ग माथि परिसकेको छ । उनले आफूलाई मनकामनादेवीले जङ्गबहादुरको हत्या गरी सुनौलो युग ल्याउन आदेश दिएको प्रचार गर्थे । र मनकामनादेवीका पूजारी सिद्ध लखन थापा (प्रथम) को आफू अवतार भएको बताउँथे । यस सन्दर्भमा राम शाहकालीन सिद्ध लखन थापाको बारेमा पनि केही उल्लेख गर्न जरुरी देखिन्छ ।

गोरखा राज्यमा गोरक्षनाथ (गोरखनाथ) नामका एक सिद्ध थिए । उनैबाट लखन थापाले आध्यात्मिक ज्ञान प्राप्त गरी सिद्धि प्राप्त गरेका थिए । तत्कालीन राजा गोरखनाथका राम शाह र उनकी रानी इश्वरीदेवी पनि भक्त थिए । लखन थापाले अनेक चमत्कार देखाएर राजा राम शाहको विश्वास जितिसकेका थिए । गोरखनाथको दर्शनको अवसर राम शाह, महारानी ईश्वरीदेवी तथा लखन थापालाई हुँदा कुराकानी भयो । कुराकानी हुँदा दरबारको ढोकामा एक पुरुष देखा परे । त्यतिखेरै दिब्य र अति सुन्दर स्त्री निस्कंदा महारानी कसका पछि लागिन् भन्दै यो पुरुष को हो भनी काट्न तरबार झिकियो । पुरुष सिंहमा परिणत भए, उही सिंहमा ईश्वरी महारानी सवारी भइन् भनी लखन थापाले बयान दिए ।

लखनले ल्याएको पूजा सामग्री अनुसार गोरखनाथले पूजाविधि पनि सिकाइदिए । त्यहाँ महारानी इश्वरीदेवीको पनि पूजा हुँदा महारानी प्रसन्न भइन् । त्यतिखेरै ईश्वरीदेवीले लखनलाई बरदान दिदै ‘श्री मनकामनादेवी जो हुन्, मै हुँ मेरो पूजा सदासर्वदा तैँले र तेरो दरसन्तानले गर्नू’ भन्ने हुकुम दिइन् (‘प्राचीन नेपाल’ सङ्ख्या २८, २०३१ साउन: १४–१७)। यताबाट विचार गर्दा सिद्ध लखन थापाले राम शाहकी आध्यात्मप्रति विश्वासी महारानी इश्वरीदेवीलाई नै देवीको साक्षात रुपमा देख्न पुगेका हुन् भन्ने बुझ्न सकिन्छ । सम्भवतः इश्वरीदेवीमा पनि केही चमत्कारिक क्षमता थियो, जसका कारण उनले मनकामना देवी आफै हुँ भन्ने घोषणा गर्न सकिन् भन्न सकिन्छ ।

सनातनी हिन्दू धर्मभित्र शैवपन्थीहरुमा पनि दुई प्रकारको पन्थ छ, पाशुपत र शाक्त । तीमध्ये जीवलाई पशु मान्ने र सम्पूर्ण जीवहरुको पति शिव हुन् भन्ने धारणा बोक्नेहरु पाशुपत हुन् (भुसाल, बेदुराम, ‘नेपालमा प्रचलित दार्शनिक चिन्तनहरु’ २०६८: १३४) । त्यस्तै शक्तितत्वलाई परमतत्वका रुपमा स्वीकार गर्ने, जगतको सृष्टि, स्थिति र प्रलयको कारण शिव नै हो अर्थात् शिवलाई नै शक्तिको स्रोत मान्नेहरु शैव दर्शन मान्नेहरु शाक्त हुन् (भुसाल, उही: १४०–१४१) । गोरखाली राजाहरु शाक्त परम्पराका पन्थीहरु थिए । शाक्तहरुले शक्तिकी देवीलाई मान्ने गर्छन् । मनकामनादेवी पनि शाक्त परम्पराअन्तरगतको शक्तिपीठ हो, जहाँ वलि दिइने गरिन्छ । शाह राजाहरुको लालमोहरमा सबैभन्दा माथि श्रीदुर्गा, मुनि भवानी र बीचमा दायाँबाट बायाँतिर तेर्सिएको खड्ग चिन्ह हुनु यसको परम्परागत विशेषता हो । यस्तै शक्तिपीठहरुमा महादेव शिवको स्थान अनिवार्य हुने गर्छ ।

माथि उल्लेख भएको गोरखा वंशावलीअनुसार राम शाहकी महारानीले सिंहमा सवार भएको भन्ने कुरा आध्यामिक विश्वास मात्र हो । यसलाई विचार गर्दा महारानी इश्वरीदेवी शाक्त परम्परामा विश्वास गर्ने भक्तिनी थिइन्, जसले सिद्ध लखन थापालाई मनकामनादेवीको पूजा गर्न योग्य पूजारीका लागि विश्वास गरिन् । जहाँसम्म इश्वरीदेवी सिंहमाथि चढेर सवार भएको भन्ने कथन छ, यो चाहिँ उनीप्रति गरिएको श्रद्धाभाव मात्रै हो । आध्यात्मिक आख्यानमा मात्रै यस्तो सम्भव छ । तर ऐतिहासिक तथ्य विचार गर्दा कुनै पनि मानिस ज्यूँदो सिंहमा सवार भएको पाइंदैन ।

के राम शाहकी महारानी इश्वरीदेवीले स्थापना गरेको शक्तिपीठ नै मनकामनादेवी त होइनन् ? वा राम शाहकी महारानीको स्मृतिमा स्थापना भएको शक्तिपीठ मनकामनादेवी हुन् ? या पहिलो मनकामनादेवी मन्दिर सामान्य शक्तिपीठका रुपमा थियो, पछि इश्वरीदेवीले पूजाआजा प्रारम्भ गर्न लगाएर यसमा सिद्ध लखन थापालाई संस्थापक पूजारी बनाएकोले यो पूजास्थल प्रसिद्ध हुन पुग्यो, यताबाट पनि विचार गरेर हेर्न सकिन्छ । यसरी प्रसिद्ध बन्न पुगेको शक्तिपीठको आडमा रहेर आफूसङ्ग भएको आध्यात्मिक आस्थाका आधारमा गोरखाका सर्वसाधारणलाई जङ्गबहादुरविरुद्ध विद्रोहमा सहभागी हुन लखन थापाले प्रेरित गरेका थिए भन्ने स्पष्ट हुन आउँछ ।

कहिले मारिएका थिए लखन ?

लखन थापा फागुन २ गते मारिएका थिए भन्ने तर्क हालसम्म प्रचलित छ । यसको आधार के हो त ? अहिलेसम्मको अनुश्रुति अनुसार लखन थापाले आफूले मृत्यूदण्ड पाएको सात दिनपछि जङ्गबहादुरको मृत्यू हुनेछ भनी भविष्यवाणी गरेका थिए र जङ्गबहादुर मर्नुभन्दा सात दिनअघि लखन थापालाई झुण्ड्याएर मृत्यूदण्ड दिएको हुन सक्छ भन्ने अनुमानको आधारमा लखन थापाले फागुन २ गते मृत्यूदण्ड पाएको भन्ने तर्क पनि सुन्न पाइन्छ । यो अनुमानमाथि विचार गरेर हेर्दा पनि लखन थापाको मृत्यूदण्ड फागुन २ गते भएको तथ्यसम्मत देखिदैन ।

जङ्गबहादुर राणाको मृत्यू चान्द्रमासअनुसार फागुन शुक्ल द्वादशी उप्रान्त त्रयोदशीमा भयो (पन्त, दिनेशराज, ‘पूर्णिमा’ पूर्णाङ्क ३३, २०३२ भदौ: ४६)। यसलाई सौर्यमासमा गणना गर्दा उनको मृत्यू वि.सं. १९३३ फागुन १६ गते भएको देखिन्छ । ‘म मरेको सात दिनपछि जङ्गबहादुरको पनि मृत्यू हुनेछ’ भन्ने लखन थापाको भविष्यवाणी पुरा भएकै हो भने पनि लखन थापाको मृत्यू फागुन ९ गते भएको हुनुपर्छ । उनले वि.सं. १९३१-३२मा लखन थापाले आफ्ना कर्मठ जवानहरुलाई परिचालन गरी ‘लखन ठूला औतारी हुन् तसर्थ जङ्गबहादुरले समेत लखन थापाको शरण पर्नु पर्यो । अब श्री मनकामना माताको मनासय जङ्गबहादुरलाई सम्पूर्ण पदबाट हटाई लखन थापालाई नै सम्पूर्ण उच्च पदमा नियुक्ति दिनु भन्ने आदेश भएको छ’ भनी प्रचार गर्न थाले । यसपछि देवीदेत्त पल्टन परिचालन गरी लखन थापा लगायत उनका समर्थकहरुलाई पक्राउ गरी बाँसको पिञ्जडामा राखी गलफन्दी लगाई काठमाडौं ल्याइयो । माफी पाएकाहरु घर फर्के । लखन लगायत उनका ६ जना साथीहरुलाई वि.सं. १९३३ पुस महिनामा झुण्ड्याएर मृत्यूदण्ड दिइयो (जबरा, पुरुषोत्तमशमशेर, ‘लुकेछिपेका प्रतिभाहरु’ २०६८: २७) ।

यताबाट हेर्दा लखन थापाले मृत्यूदण्ड पाएको मिति वि.सं. १९३३ पुस महिना देखिन आयो । यस्तो मिति उल्लेख गर्ने पुरुषोत्तमशम्शेर जबरा राणा शासनको पारिवारिक अन्तरकथाहरुलाई पनि निफनेर इतिहास लेख्ने इतिहासकार भएका हुँदा उनले उल्लेख गरेको लखन थापाको मृत्यूदण्डको मितिलाई गम्भीरतापूर्वक नियाल्नु जरुरी देखिन्छ ।

लखन थापासम्बन्धी ऐतिहासिक तथ्यबारे गर्दा १९३३ सालमै गोरखकालीमा चढाइएको ठूलो घण्टाबारे उल्लेख हुनु पनि जरुरी देखिन्छ । तुलसीराम वैद्य (‘प्रथम शहीद’ वर्ष १ अङ्क १, २०६४: २७) अनि तुलसीराम वैद्य र धनबज्र बज्राचार्य (‘गोरखाको ऐतिहासिक सामग्री’ २०२७: ३२–३३) लाई पाद टिप्पणीमा राखेर लेखिएको उमेश राना ‘गोर्खाली’को एक लेख (हिमालखबर डट कम, २०७७ पुस १८) मा लखन थापालाई मृत्यूदण्ड दिइसकेपछि गोरखाका जनतालाई पुरस्कारस्वरुप केही रुपैयाँ दिंदा सो रुपैयाँबाट लखन थापाकै नाममा घण्टा बनाएर चढाइयो ।

वि.सं. १९३३ माघ सुदी ८ रोज ४ मा मेजर कप्तान शमशेरजङ्ग थापा क्षेत्री र सुब्बा वीरमान थापा क्षेत्रीमार्फत् गोरखा शहरका बासिन्दाको नाममा यो घण्टा चढाएको देखिन्छ । हिजो लखन थापाका बारेमा सरकारसमक्ष अर्जी पठाउने पनि उनै ब्यक्तिहरु रहेको हुँदा यो घण्टा लखन थापालाई दिइएको मृत्यूदण्डप्रति प्रायश्चित गर्न चढाइएको हुनुपर्छ । यताबाट हेर्दा वि.सं. १९३३ को माघ वा माघअघि पुस महिनामा नै लखन थापालाई मृत्यूदण्ड दिइएको भन्ने आधार बलियो हुँदा उनको मृत्यूदण्डको महिना फागुन होइन भन्ने तर्क बलियोसङ्ग स्थापित गर्न सकिन्छ ।

गोरखामा दिवंगत आत्माहरुलाई पूजा गर्ने प्रचलनअनुसार पुसको पहिलो पञ्चमीमा लखन थापालगायतको पूजा गर्ने चलन रहिआएको छ । गोरखाका मगरहरु लखन थापा र उनका सहयोद्धाहरुलाई देवतामा परिणत भएको ठान्छन् । उनीहरुको स्मृतिमा गरिने पूजाको नाम ‘भँयरी पूजा’ हो । यो पूजामा लखन थापालाई भयरी देवताका रुपमा पूजा गर्छन् । लखन थापाका सहयोद्धा जयसिंह चुमीका सन्तानले यो पूजा गर्दै आएका छन् (बुडा मगर, डा. हर्षबहादुर वुडा, ‘मगर जाति र उनका सामाजिक संस्कार’ २०५३: २३) । लखन थापालाई मृत्यूदण्ड पुस महिनामै दिइएको भन्ने भन्ने तर्कलाई स्थापित गर्न यताबाट पनि विचार गर्न सकिन्छ ।

विद्रोहका आधार

लखन थापाको खास नाम लक्ष्मणसिंह थापा थियो । उनको जन्म सन् १८३४ (वि.सं. १८९१)मा गोरखामा भएको थियो । उनको प्रारम्भिक शिक्षा अलमोडामा सम्पन्न भयो । उनी भारतमा रहदा तेस्रो गोरखा राइफलमा भर्ना भएका थिए । तर त्यहाँको सेवामा उनलाई रुची नभएपछि उनी नेपाल फर्केर २० वर्षको उमेरमा पुरानो गोरख गणमा भर्ना भए (बुडा मगर, डा. हर्षबहादुर, ‘राष्ट्रका गौरव तथा नेपालका प्रथम शहीद लखन थापा मगर (द्वित्तीय)’ २०५४ : ७–८)। सेनामा भर्ती भएको १४ वर्षपछि उनी कप्तान दर्जामा पुगेका थिए (बुडा मगर, उही: ११)।

देशको सम्पूर्ण शक्ति जङ्गबहादुरको हातमा आइदिंदा उनकै भाई तथा छोराहरुले मात्रै सैन्य सेवामा उच्च पद पाउने एकलौटी अवस्था भएकोले पनि लखन थापामा एउटा विद्रोही चेतना आएको हुनुपर्छ । परम्पराअनुसार गोरखा र पछि हनुमानढोका दरबारभित्र धेरै मगरहरुले काजी तथा सरदार हुने अवसर पाउँथे । गोरखाका संस्थापक राजा द्रव्य शाहको समयमा मगरहरुलाई महत्वपूर्ण जिम्मेवारी गंगाराम रानालाई दिइएको थियो । उनैका सन्तति राजेन्द्रविक्रम शाहको समयमा घटित कोतपर्वभन्दाअघि अभिमानसिंह राना मगर तीन पल्टनको जिम्मेवारी महङ्खवपूर्ण जिम्मेवारीमा थिए । कोतपर्वमा जङ्गबहादुरको इशाराबाट एक सैनिकले उनैको छातीमा सङ्गीन प्रहार भएपछि कोतपर्वमा मारकाट सुरु भएको थियो । जङ्गबहादुरको एकलौटी शासन सुरु भएपछि मगरहरुलाई दरबारमा उच्चस्तरको मानमर्यादा र पदबाट पूर्णतः वञ्चित गरिएकोले पनि त्यो प्रतिशोधको भाव लखन थापामा उत्पन्न भएको सहजै अनुमान गर्न सकिन्छ ।

अर्कोतिर वि.सं. १९१४ मा भारत स्वतन्त्रता आन्दोलनमा अँग्रेज शासनविरुद्ध सैनिकले ठूलो विद्रोह गर्दा त्यसलाई दबाउन र अंग्रेज शासनलाई सहयोग गर्न जङ्गबहादुर राणाको नेतृत्वमा २५ नेपाली पल्टनसहित पुरानो गोरखगणका लखन थापामगर, जयसिं चुमी रानामगर, कालीबहादुर गणका श्रीपति गुरुङलगायत लखनउ पुगेका थिए (मगर, संजोग लाफा, नागरिकन्यूज डट कम, २०७२ माघ १६) । अङ्ग्रेजविरुद्ध भारतमा भएको सैनिक विद्रोह र अङ्ग्रेजप्रति जङ्गबहादुरको अनावश्यक गुलामी देखेबाट पनि उनमा तत्कालीन नेपालको सत्ताप्रति विद्रोहचेत आएको हुनुपर्छ ।

जङ्गबहादुर कट्टर सनातनी हिन्दु धर्मावलम्वी थिए । त्यो समयको हिन्दु वर्णाश्रमको कट्टरतामा आधारित भएर उनले वि.सं. १९१०मा मूलुकी ऐन ल्याए । यो ऐन मनुस्मृतिमा आधारित रहेको छ । लखन थापाको विद्रोह ब्राहृमणवाद र राणाविरुद्धको थियो भन्ने लियो ई. रोज र भुवन एल. जोशी (‘डेमोक्रेटिक इनोभेसन इन् नेपाल’ सन् १९६६: ४३–४४) लाई पाद टिप्पणीमा राख्दै रेग्मी रिसर्च सेरिजमा उल्लेख गरिएको छ (रेग्मी, महेशचन्द्र, ‘रेग्मी रिसर्च सेरिज’ वर्ष १२, अङ्क ५ सन् १९६६: ७२–७३)। एकातिरबाट राजनैतिक र अर्कातिरबाट धार्मिक तथा सांस्कृतिक रुपमा जङ्गबहादुरको हैकम सुरु भएपछि गोरखामै एकै समय लखन थापाले आफूलाई सिद्ध लखन थापाको अवतार र सुकदेव गुरुङले आफूलाई ‘नौ सरकार बौद्धबादशाह’ घोषणा गरेर राणा शासनलाई ठूलो चुनौति दिएका थिए ।

लखन थापाले जोसमनी मत लिएका थिए । मानिसको मन १६ लक्षणले युक्त हुन्छ । ती हुन् – लोभ, काम, क्रोध, लोभ, मोह, मात्सज्र्ये, मन, बुद्धि, चित्त, अहङ्कार, सत, रज, तम, भय, शोक, हर्ष । यिनै तत्वहरुमा देह दुःख सुख हुनु नै माया हो । माया मोह छाडे बिग्रुँला भनी मायाको वसमा मानिस रहन्छन् । यस्तै विकार छुटेपछि आत्मा अक्षरातीत–गुणातीत–शब्दातीत–सातसान्त आदि कारण भएको आत्माको गति जानेर त्यसैमा रहने हो भने ज्ञान, र वैराग्–दया–माया–शान्तिशील श्रद्धाले युक्त भई प्रेम गर्नु नै भक्ति हो भन्ने दर्शन जोसमनी मतको रहेको छ (भुसाल, उही: २९२–२९३)। यही धार्मिेक दर्शन र मनकामनादेवीको भक्ति आदिको आधारमा उनले त्यो बेला जगाएको धार्मिक तथा राजनीतिक जागरण अनि त्यसले उपन्न गरेको आफ्नो सत्ताप्रतिको चुनौति आदिका कारण जङ्गबहादुर लखन थापा र उनका सहयोद्धाहरुको प्राण लिन पछि परेनन् । परिणामस्वरुप लखन थापाले अमरत्व प्राप्त गरे ।

लखन थापाले त्यो समयको जङ्गबहादुर राणाको निरङ्कुश सत्ताविरुद्ध आफ्नो नेतृत्वमा प्रशस्तै मगरहरु सहभागी भएकोले उनको विद्रोहलाई मगर विद्रोह पनि भन्न सकिन्छ । तर उनको विद्रोहमा मगरहरुको मुक्तिको मात्र सवाल थिएन, पुरै देशको मुक्तिको सङ्कल्प गरिएको थियो ।