April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

नयाँ सरकारबारे छलफल सुरु भयो : दाहाल

215

कपिलवस्तु । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारबारे घनीभूत छलफल सुरु भएको बताएका छन् । कपिलवस्तुको तौलिहवामा शनिबार आयोजित पार्टी जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले सरकार गठनका लागि नयाँ परिस्थिति बनेको जानकारी दिए । ‘सम्भवत: छिट्टै नयाँ सरकार बन्छ,’ उनले भने ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग धेरै नटाँसिन आग्रह गर्दै दाहालले आफूहरूसँग नयाँ सरकारमा जान आग्रह गरे । ‘केपी ओली मधेसी र मुस्लिमका हकअधिकार दिन चाहँदैनन्,’ उनले भने, ‘त्यही भएर महन्थ ठाकुरलाई नयाँ मोर्चामा सामेल हुन सुझाएको हुँ ।’ दाहालले प्रमुख प्रतिपक्ष कांग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको पनि दाबी गरे ।

कांग्रेसले शुक्रबार प्रधानमन्त्री ओलीको तत्काल राजीनामा माग्ने र अर्को सरकार गठनका निम्ति पहल गर्ने निर्णय गरेको छ । आफू प्रधानमन्त्री हुनु/नहुनु ठूलो कुरा नभएको उल्लेख गर्दै उनले नयाँ सरकार गठनका लागि तुरुन्तै पहल लिनुपर्ने सुझाव आएको खुलासा गरे । उनले ओली सरकार टिकाइरहनु देशलाई बर्बादीतर्फ धकेल्दै लैजानु भएको पनि बताए ।