April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

नेपाल समूहले वडा तहसम्म कमिटी बनाउने

180

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले वडा तहसम्मै कमिटी बनाउने भएको छ । नेपाल समूहले आज बसेको स्थायी समिति बैठकबाट ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’को घोषणा गरेको हो ।

पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै २ जेठ २०७५ लाई आधारमा मानेर एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान पनि आजको बैठकले गरेको छ । अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्यलाई ६ महिना निलम्बन गरेपछि नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बसेको हो ।

नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको शुक्रबार र शनिबार बसेको बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो ।

दुई महिने अभियानका क्रममा वडा तहसम्म पार्टी र जनसंगठनका संगठन बनाउने नेता रघुजी पन्तको भनाई छ । अधिवेशनबाट निर्वाचित कमिटीहरुलाई बाइपास गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले समानान्तर कमिटीहरु बनाएकाले त्यसको प्रतिरोध गर्नु बाध्यात्मक कदम भएको उनले जानकारी दिए ।

‘जहाँजहाँ निर्वाचनबाट आएका कमिटीहरु छन्, उनीहरुले आफ्नो काम गर्छन् र तलसम्म गएर कमिटीहरु बनाउँछन्,’ बैठकपछि नेता पन्तले भने, ‘जहाँ उहाँ (केपी ओली)ले फेरि समानान्तर कमिटीहरु बनाउनुभएको छ, त्यहाँ पनि समानान्तर कमिटीहरु बन्छन् ।’

यो अभियान पार्टी एकताको रक्षाका लागि भएको नेता योगेश भट्टराईले बताए । एमालेको एकता संकटमा रहेको भन्दै उनले भने, ‘आजको बैठकले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्षलाई आग्रह गरेको छ ।’

दुई महिने अभियान घोषणा
आज (शनिबार) कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको हो ।

नेता योगेश भट्टराईले बैठकपछि पत्रकारसँग कुरा गर्दै विभिन्न अधिवेशन, महाधिवेशनहरबाट आएका कमिटीहरु पुनः सन्चालन गर्ने र आवश्यकता अनुसार गठन पुनर्गठन हुने जानकारी दिए ।

‘नेकपा एमालेको एकतालाई जोगाऔं,कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाइने उनले बताए । उनले अध्यक्ष ओलीले आफ्नो निर्णय सच्याउनुपर्ने समेत बताए ।

नेता भट्टराईका अनुसार बैठकले पार्टीका विभिन्न संगठनहरुलाई सक्रिय बनाउने र आवश्यक परे पुनर्गठन गर्ने निर्णय समेत गरेको छ । आजको बैठकले आगामी जेठ ३ गते मदन–आश्रित जयन्ती चितवनमा मनाइने निर्णय पनि भएको उनले बताए ।