काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरण औपचारिक रुपमा सुरु गरेकी छिन्। शुक्रबार भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारासहितको स्मारकमा पानी खोलेर राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन्।
उद्घाटन कार्यक्रमस्थलमा पानीको फोहरासमेत देखाइएको थियो। उक्त फोहराबाट पाँचदेखि १० मिटरसम्म उचाइमा पानी पुर्याइएको छ। यसको अर्थ मेलम्चीको पानी उपभोक्ताको १० मिटरसम्म अग्लो घरमा मेसिनको प्रयोग नै नगरी पुर्याउन सकिन्छ।
वि.सं. २०५५ देखि निर्माण सुरु भएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आइपुगेको हो।
फागुनको दोस्रो साता सुरुङमार्गमा पानी हालेर परीक्षण थालिएको थियो। मेलम्चीको सुरुङमा पुनः पानी परीक्षण गर्न खानेपानीमन्त्री मणिचन्द्र थापा आयोजनाको मुहान क्षेत्र पुगेका थिए।