April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

काठमाडौंका ठूला अस्पतालले नै कोभिड उपचारमा नीति पालना गरेनन्

120

काठमाडौं- कोभिड उपचारमा काठमाडौंका ठूला अस्पतालले नै सरकारी नीति लागु नगरेको पाइएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले गरेको अध्ययनले यस्तो देखाएको हो।

बिहीबार समितिको पूर्ण बैठकमा भएको छलफलमा क्रममा उपसमिति संयोजक जीवनराम श्रेष्ठले ठूला अस्पतालले कोभिडका धेरै केसहरु हेरेको भए पनि सरकारी नीति लागु नगरेको बताए।

‘सरकारले कोभिडका सन्दर्भमा एक खालको नीति बनाएको रहेछ। तर, त्यो कहीँ पनि लागु गरिएको हामीले पाएनौं,’ श्रेष्ठले भने, ‘अन्तको त कुरै छाडौं, उपत्यकाभित्रको निजी अस्पलातले पनि लागू गरेका रहेनछन्।’ राजधानीकै नाम चलेका ठूला अस्पतालमा त सरकारको नीति नै लागु नभएकाे भन्दै उनले मोफसलको चर्चै गर्नु नपर्ने बताए।

बिहीबारकै छलफलपछि उपसमितिले तयार गरेको प्रतिवेदन पारित गरेको छ। समितिको आजको बैठकमा उठेका सुझावहरुलाई पनि समावेश गर्नेगरी प्रतिवेदन पारित गरिएको हो।

गत भदौ ९ गते गठित उपसमितिमा जीवनराम श्रेष्ठ (संयोजक), अञ्‍जना विशंखे, एकवाल मिया, तिलबहादुर महत क्षेत्री, नमिता चौधरी, सन्तकुमार थारु र सरिता न्यौपाने सदस्य थिए।