April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

राष्ट्रिय जनगणनाको मुख्य गणना कार्य जेठ २५ देखि असार ८ गतेसम्म हुने

185

काठमाडाैं- राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य आगामी जेठ २५ देखि असार ८ गतेसम्म हुने भएको छ। केन्द्रीय तथ्याङ्‍क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उक्त जानकारी दिएका हुन्। 

समितिको राष्ट्रिय जनगणना २०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा छलफलमा भाग लिँदै उनले २०७८ को जनगणनाको मुख्य गणना कार्य २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्‍चालन गरिने बताए। यस अवधिमा सुपरिवेक्षकहरुले प्रत्येक वडाबाट सामुदायिक प्रश्नावलीमा रहेका विवरण सङ्‍कलन गर्ने उनले जानकारी दिए।

महानिर्देशक श्रेष्ठले यस वर्ष करिब ८० वटा प्रश्न लिएर जनगणनाका लागि प्रत्येक घरमा जाने बताए। जनगणनाका लागि ३९ हजार गणक तथा आठ हजार सुपरीवेक्षक परिचालन गरिने उनले बताए। मुख्य जनगणनाअघि वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गरिने उनको भनाइ थियो।

महानिर्देशक श्रेष्ठले जनगणनाका लागि आवश्यक तयारी गरिरहेको बताए। सातवटा प्रदेश र ७७ जिल्लाका ८० स्थानमा जनगणना कार्यालय स्थापना गरिएको पनि उनले जानकारी दिए। स्रोत र साधनले भ्याएसम्म प्रविधिको प्रयोग गरिने महानिर्देशक श्रेष्ठले बताए। 

वि.सं. १९६८ सालदेखि नेपालमा प्रारम्भ भएको जनगणना हरेक १०/१० वर्षमा हुँदै आएको छ।