काठमाडौँ – कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएका छन् । माओवादी केन्द्रले चैत २१ र एमालेले २२ गतेका लागि बैठक बोलाएको हो ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव, सरकारलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।
त्यस्तै नेकपा एमालेले पनि नयाँ सरकार गठनका विषयमा छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।
कर्णाली प्रदेशसभामा ४० सदस्य छन् । जसमध्ये एमालेसंग २० जना सांसद छन् । एमालेमा सभामुख राजबहादुर शाही बाहेक १० जना ओली पक्षमा छन् भने ९ जना नेपाल पक्षमा रहेका छन् । दुवै पक्ष मिल्दा १९ जना सांसद हुन्छन् ।
कर्णाली प्रदेशसभामा अहिले माओवादी केन्द्रबाट १३, एमालेबाट २०, कांग्रेसबाट ६ र राप्रपाबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् ।
मुख्यमन्त्री शाहीलाई सरकार जोगाउनका लागि २१ जना सांसदको आवश्यकता पर्दछ । तर, उनीसँग कांग्रेस र राप्रपाका १ गरी २० मात्रै हुन्छ ।