April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

केपी ओली गुटको अर्को नाम मात्र हो, कसैले कारबाही गर्ने हैसियत राख्न सक्दैन: माधव नेपाल

205

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू विसर्जनवादीसँग नझुक्ने बताएका छन् । युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता नेपालले ओलीलाई विसर्जनवादीको सज्ञा दिँदै आफु ओलीसँग नडराउने बताएका हुन् ।

उनले मुलधारको एमाले आफुहरु भएको बताए । ‘एमाले पार्टी हामीले बनाएका हौं, अहिले केही मानिस मन्त्री र पद खान आएकाले यो विरासत निर्माण गरेको होइन, त्यसैले एमालेको मूलधार भनेका हामी हौं,’ उनले भने, ‘कसैले कारबाही गर्ने हैसियत राख्न सक्दैन । हामी विसर्जनवादीहरुसँग डराउँदैनौं । कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न पार्न दिने छैनौँ ।’

उनले केपी ओली एण्ड कम्पनीले आफूलाई गरेको कारबाहीको अर्थ नभएको बताए । नेता नेपालले भने, ‘केपी ओली त केही पनि होइनन् । न आन्दोलन न संगठन । केपी ओली भनेको गुटको अर्को नाम मात्र हो । माधव नेपाल समाधान हो ।’ उनले केपी ओलीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने भन्दै आफूहरुले फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलालाई उचित नमानेपनि मान्न बाध्य भएको बताए ।

०७५ जेठा भन्दा पहिलेको बिन्दुमा ओली आएमा र फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिएमात्रै ओलीसँग सहकार्यको सानो त्यान्द्रो बाँकी रहेको उनले बताए । ‘उहाँ सुध्रिनु्हन्छ भन्ने लाग्दैन । तर आशाको सानो त्यान्द्रो भने बाँकी छ ।’ उनले भने ।