काठमाडौं- सांसदहरूले प्रतिनिधि सभालाई कामविहीन बनाएको भन्दै सरकारको आलोचना गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले आफैंले विघटन गरेको प्रतिनिधि सभामा कुन नैतिकताले प्रधानमन्त्री उपस्थित हुने भनेर प्रश्न गरे। अनि संसदलाई विधेयक नदिएर सरकारले बदला लिइरहेको टिप्पणी पनि गरे।
बैठकमा हालसम्म सरकारका तर्फबाट एउटा पनि विधेयक पेश भएको छैन। प्रतिनिधि सभाको हरेक बैठक शोक प्रस्ताव पारित गर्नेमा सीमित भएपछि मंगलबार सांसदहरूले शून्य समयमा सरकारको रवैयाको आलोचना गरेका हुन्।
सांसदहरूले सरकारलाई समसामयिक विषय र जनताका मुद्दाहरूमा जवाफ दिन ध्यानाकर्षण गराउने गर्दछन्। प्रतिनिधि सभा पुनःस्थापनापछिको यो पहिलो शून्य समयको छलफल हो। छलफलमा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्सँग बदला लिइरहेको आरोप लगाए। उनी रहेसम्म संसद् बन्दी बनिरहने र यसको अपमान बढिरहने पनि उनको भनाइ थियो।
‘जति दिन यो सरकार रहन्छ, संसद्को तिरस्कार, अपमान र उपेक्षा गर्ने काम बढ्दै जान्छ’ थापाले भने, ‘किनकि, प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिनु छ।’ आफूले गरेको प्रतिनिधि सभा विघटन ठीक रहेको स्थापित गर्न उनले अनेक प्रपञ्च गरिरहेको थापाको भनाइ छ।
‘अहिले प्रतिनिधि सभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्न संसद्लाई कामविहीन बनाउने प्रपञ्च उहाँले गर्नुभएको छ’, थापाले भने।
आफू संसद्मा काम गर्न तयार रहेको तर, सरकारले काम नदिएको तथ्य उनले उजागर गरे। ‘एसिड आक्रमण गर्नेलाई सजाय दिन कानुन बनाउन दिइएन भनेर हल्ला गर्ने तर, संसद्लाई एउटा पनि विधेयक नदिने?’, थापाले प्रश्न गरे, ‘कानुन बनाउनका लागि चाहिने राष्ट्रिय सभाको बैठक पनि नबोलाउने?’
उनले कहिले प्रश्न छल्न हठात् बैठक स्थगित गर्ने गरेको र कहिले पार्टीभित्रको विरोधीलाई तह लगाउन प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए। ‘जनताले यसको हिसाबकिताब गर्नेछन्, यो संसद् र सांसदको अपमान यो लोगो लगाउने, केहीको अपमान तिरस्कार र उपेक्षा होइन’, थापाले भने, ‘यो ती जनताको अपमान हो, जसले संसद् बनाए, जसले सांसद बनाएको छ हामीलाई। यसको बदला जनताले लिनेछन्।’
एमाले सांसद झपट रावलले अब प्रतिनिधि सभाले अकालमै मृत्युवरण गर्न नहुने बताए। राजनीतिक आकाशमा कालो बादल मडारिइरहेको भन्दै उनले संविधानको रक्षा र प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न, पुनर्जीवित गर्न प्रेरणा र हौसला प्रदान गर्नुपर्ने बताए।
रावलले पुस ५ देखि फागुन ११ गतेसम्म सदनले शून्य समयको रुपमा बिताएको बताए। निर्वाचित प्रतिनिधि सभाले कुनै कामकारबाही गर्न नपाएको, सदनले पारित गर्नुपर्ने नागरिकता विधेयकलगायतका महत्त्वपूर्ण कानुनहरू पारित हुन नसकेको भन्दै उनले अब पारित गर्नुपर्ने धारणा राखे।
माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले ‘श्री ५ को सरकारले घाँटी निमोठेर’ प्रतिनिधि सभा हत्या गरेको टिप्पणी गरे। अनि, अहिले अल्पविकसितबाट विकसितको प्रमाण कसरी पायो भन्दै प्रश्न समेत उठाएका थिए ।