काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब अर्को लडाईँ लड्नुपर्ने स्थिति आएको बताएका छन् । प्राप्त उपलव्धीहरु खतरामा परेको भन्दै उनले उपलव्धी रक्षाका लागि अर्को लडाई लड्नुपर्ने स्थिति आएको बताए ।
दलित मुक्ति मोर्चाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले केपी ओलीले अर्को लडाई लड्नुपर्ने परिस्थितिमा पुर्याएको भन्दै उनले ओलीलाई धन्यवाद दिए । दलित, आदिवासी जनजाति, महिला, मधेसी, मुस्लिमले अधिकार प्राप्त गर्दा सबैभन्दा दुःखी हुने मान्छे प्रधानमन्त्री बनेको भन्दै प्रचण्डले ती सबै अधिकार खोस्ने दाउमा ओली रहेको बताए ।
ओलीले संविधान नै धरापमा पार्ने स्थिति बनाएकाले रक्षाका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा उनको जोड थियो । दलित, आदिवासी जनजाति, महिला, मधेसी, अल्पसंख्यक जाति, समुदाय क्षेत्रको पहिचान स्थापित गर्न आफूले कहिल्यै कसर नराखेको भन्दै प्रचण्डले पहिचानको आन्दोलन नछाडेको बताए ।
प्राप्त उपलव्धीको रक्षा गर्दै थप उपलव्धीका लागि अघि बढेको भन्दै प्रचण्डले भने, ‘प्रचण्डले पहिचानको आन्दोलनको छाड्यो कि भनेर शंका नगर्नुस ।’