काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरूको रणनीतिक छलफलमा जुटेका छन् । स्रोतका अनुसार नेता पौडेलको निवास बोहराटारमा १ बजेबाट बसेको बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल भएको छ ।
बैठकमा ओली सरकारको विकल्प र कांग्रेसको भूमिका र अन्य दलहरूसँग साझेदारीबारे छलफल हुनेछ । कांग्रेस अग्रसर नहुँदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको र ओली सरकारको स्वेच्छारिता बढ्दै गएको आरोप लागिरहेका बेला हुन लागेको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, डा. मिनेन्द्र रिजाललगायत नेताहरू सहभागी रहेको बताइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा नयाँ गठबन्धन निर्माणमा अग्रसर नदेखिएको भन्दै सक्रिय भूमिका निर्वाह गर्न पार्टीभित्रैबाट दबाब दिँदा पनि उनी मौन रहेकामा पौडेल पक्ष असन्तुष्ट छ ।