April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

‘प्रधानमन्त्रीसँग छलफल गरेरै राजीनामा दिएँ, अब राजनीतिमै फर्कन्छु’

1.8K

काठमाडौं : महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।  आफ्नै कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको बताएका हुन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफल गरेरै राजीनामा दिएको हुँ, उनले भने, ‘उहाँसँग मेरो सम्बन्ध राम्रो छ।’

प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली उनीसँग असन्तुष्ट रहेको चर्चा भएको थियो। उनले यसअघि भएका त्यस्ता चर्चामा कुनै सत्यता नरहेको बताए।

उनले एमालेकै राजनीतिमा फर्कने बताएका छन्। ‘विगतमा जताबाट आएको थिएँ त्यतैतिर फर्कने इच्छा र आशयका साथ राजीनामा दिएको हुँ।’ उनले भने। 

Advertisement

महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । वरिष्ठ अधिवक्ता खरेल दुवै संविधानसभामा नेकपा एमालेका तर्फबाट सदस्य थिए। मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले खरेललाई २०७४ फागुन ८ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्। 

पत्रकार सम्मेलनमा बोल्दै खरेलले आफू राजनीतिक पृष्ठभूमिको मान्छे भएपनि महान्यायाधिवक्ता कार्यालयलाई व्यवसायिक बनाउनुपर्ने बताए। तीन वर्षको कार्यकालमा संस्थागत सुधारमा जोड दिएको भन्दै उनले देशभर महान्यायाधिवक्ता कार्यालयको ३८ भवन आफूले उद्घाटन गरेको र ११ वटा शिलान्यास गरेको बताए। 

दरबन्दी बढाइए पनि अहिले सरकारी वकिलको जनशक्ति कम रहेको उनले जानकारी दिए । अपराध गर्ने प्रवृत्ति बढ्दो रहेको र देशभरका कारागारको अवस्था अनुगमन गर्दा दयनीय पाइएको उनले बताए । ‘कारागारमा मान्छे थुप्रिएर, चुलिएर पोखिने अवस्थामा छन् । उनले भने, कारागारको सुधारलाई प्राथमिकता दिनुपर्छ।’