April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपालमा कोरोना विरुद्धको खोप अभियान अवरुद्ध

3K

काठमाडौं । चीनबाट ल्याउने भनिएको खोप छिट्टै आइपुगे अन्य विभिन्न उमेर समूहकालाई खोप लगाउन सुरु गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चीनबाट आउने भनिएको खोप छिट्टै आउने सुनिश्चित भए केहीदिनमै खोप अभियान पुनः सुरु गरिने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले बताएका हुन ।

परराष्ट्र मन्त्रालयमार्फत खोप जतिसक्दो छिटो ल्याउनेबारे छलफल भइरहेको र बेइजिङमा रोकिएको खोप भने अबको २, ४ दिनमै आइपुग्ने उनले जानकारी दिए ।

Advertisement

चीनले अनुदानमा दिएको खोप बेइजिङमा रोकिएको छ । बेइजिङबाट नेपाल आफैले खोप ल्याउनु पर्ने भएकाले अहिले परराष्ट्र मन्त्रालयमार्फत समन्वयको काम भइरहेको उनले बताए ।

नेपालमा अहिले ७ लाख डोज खोप मौज्दात छ । अहिलेसम्म नेपालमा झण्डै ६ प्रतिशत व्यक्तिले कोरोना खोप लगाएका छन् । अबको खोप अभियानमा ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने कि ६० वर्षभन्दा माथिकालाई लगाउने भन्नेबारे छलफल भइरहेको उहाँको भनाइ छ ।

आउनुपर्ने खोप तत्काल नआउने अवस्थामा पनि दोस्रो डोज खोप लगाउनेहरुका लागि भने कुनै समस्या नरहने मन्त्रालयले दाबी गरेको छ । नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खोप खरिद गरे पनि १० लाख डोज मात्रै भित्रिएको थियो।

यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो । त्यस्तै, कोभ्याक्समार्फत नेपालले अनुदानमा तीन लाख डोज खोप पाएको थियो । कोभ्यासमार्फत आउनु पर्ने थप खोपमा ढिलाइ र भारतसँग खरिद गरिएको खोप समयमा नआउँदा खोप अभियान तत्काललाई रोकिएको छ ।