April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

आईजीपीमा पहिलो जनताको छोरा

10K

राजकुमार दिक्पाल
राजनीतिको खेलचुक्लीमा अनेक दाउपेच लगाउन सक्ने जंगबहादुर हनुमानढोकाको कोतमा रगतको खोलो बगाएर सत्तामा चढे । कमजोर प्रकृतिका तत्कालीन राजा राजेन्द्रविक्रम शाहकी महत्वाकांक्षी कान्छी महारानी राज्यलक्ष्मी आफ्ना अति विश्वासपात्र जनरल गगनसिंहको रहस्यमय हत्यापछि आक्रोशले आगो भएकी थिइन् । उनले गगनसिंहको हत्यारा पत्ता लगाउन विगुल बजाएर भारदारहरु भेला गर्ने उर्दी जारी गरिन् । दाउ छोपेर बसेका जंगबहादुरले ‘आज्ञा हुँदो हो त ददा जनरलको हत्यारा म पत्ता लगाउने थिएँ’ भनेर हत्यारा पत्ता लगाउने आदेश मागे । त्यही दिन अर्थात् वि.सं. १९०३ भदौ ३१ गते राती कोतपर्व मच्चियो । यसरी नरसंहार मच्चाएर जंगबहादुर सत्ताको सिँढी चढे । उनले त्यही समयबाट चलाएको जहानियाँ निरंकुश राणा शासन १०४ वर्षसम्म टिक्यो । त्यहीँ शासन ब्यवस्थाले मूलुक कता हो कता पछाडी धकेलियो । पछौटेपनको त्यहीँ पीडा आज पनि नेपालीजनले ब्यहोरिराख्नु परेको छ ।

लेखक

राणाहरुको अत्याचार सहिनसक्नु थियो । आफूविरुद्ध भएका सबैखाले विद्रोह र षडयन्त्रहरुलाई पन्छाउँदै जंगबहादुरले जहाँनिया निरंकुश राणा शासन सुरु गरेका थिए । जनता त के, उनीहरुले श्री ५ लाई समेत खोपाको देउता बनाएका थिए ।

समय बदलिंदै गयो । राजा त्रिभुवनको समेत संलग्नतामा प्रजा परिषद गठन भयो । यसले राणा शासनविरुद्धको चेतना विजारोपण गरेपछि वि.सं. १९९७ मा चार जना सपुतलाई मृत्यूदण्ड दिइयो । यसअघि खड्गमान सिंहले प्रचण्ड गोरखा खोलेर राणाहरुलाई हाँक दिइसकेका थिए । नेपाल राष्ट्रिय काँग्रेस (हालः नेपाली काँग्रेस) ले प्रवास भारतमा रहेर संगठन गर्दै राणाविरुद्ध सशस्त्र क्रान्तिको घोषणा गर्यो । पुष्पलालहरु पनि कम्युनिष्ट पार्टीको गठन गर्दै राणाहरुलाई ललकारिरहेका थिए । त्यो बेला निरंकुशताविरुद्ध हतियार उठाएर प्रजातन्त्रका लागि ज्यानको बाजी लगाएर लड्ने जनमुक्ति सेनाका एक कमाण्डर थिए, ज्ञानबहादुर याक्थुङ्बा, जसलाई जीबी याक्थुङ्बाको नामले पनि चिनिन्छ ।

‘मुक्ति सेना’ नाम राख्ने ब्यक्ति

भारतमा अँग्रेजविरुद्धको आन्दोलनमा हतियार उठाउने नेता थिए, सुवासचन्द्र बोस । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि सेना समायोजन गर्ने सन्दर्भमा भारतमा विवाद भएको थियो । सुवासचन्द्र बोसले गठन गरेको ‘आजाद हिन्द फौज’लाई मूल सेनामा समायोजन गर्न जवाहरलाल नेहरु सहमत भएनन् । त्यसैल तत्कालिन आजाद हिन्द फौजलाई अर्धसैनिक दस्ता सिमा सुरक्षा बलका रुपमा परिणत गरियो । तिनै आजाद हिन्द फौजका एक जना कमाण्डर थिए, जो सिमा सुरक्षा बलको अधिकारीका लाहोरमा खटिनु परेको थियो । मेजर पुरणसिंह ठाकुर नामका ती अधिकारीलाई त्यो जागिर खान मन परेन । त्यसैले उनी जागिर छाडेर फर्के । उनी सुवर्णशमशेरको सम्पर्कमा पुगे ।

सुवर्ण शमशेर आफू राणा भए पनि राणा शासनविरुद्ध तन, मन र धन अर्पण गरेर उनले नेपाली काँग्रेसलाई ठूलो भरथेग गर्दै भारतको कलकत्तामा बसिरहेका थिए । सुवर्णशमशेरले पुरणसिंहलाई भेटेर ‘हामीलाई तिमीजस्तै मानिस चाहिएको छ । नेपालमा पनि क्रान्ति सुरु गर्नुपर्ने भएको छ । आफ्ना सम्पर्कमा आएका मानिसहरुलाई मकहाँ ल्याउनू । यसमा सबै गोरखालीलाई तिमीले समेट्न पर्छ’ भन्ने आग्रह गरे ।
सुरुमा त पुरणसिंहले पत्याएनन् । उनले सुवर्णशमशेरलाई भने,‘क्रान्ति गर्न कहाँ सजिलो छ र ? हतियार चाहिन्छ, पैसा चाहिन्छ । त्यहीँ अनुसारको तालिम प्राप्त जनशक्ति चाहिन्छ ।’ सुवर्णशमशेरले भने जति पैसा र हातहतियार चाहिन्छ, त्यसका लागि चिन्ता नगर्न भन्ने विश्वास पुरणसिंहलाई दिलाएपछि उनले काठमाडौं लगायत विभिन्न ठाउँमा रेकी गर्न मानिसहरु परिचालन गरे ।

भर्खर दोस्रो विश्वविश्वयुद्ध सकिएर विश्वयुद्ध लड्ने कतिपय गोरखालीहरु घर फर्किदै थिए² कोही जागिर सकिएर, कोही चाहिँ छुट्टीमा । कतिपयलाई त बिना पेन्सन घर फर्काइएको थियो । चौथो बर्मा राइफल्सबाट सैन्य जीवन सुरु गरी बर्मा फ्रन्टबाट दोस्रो विश्वयुद्ध लडेर भर्खरै लेफ्टिनेन्ट दर्जाबाट सेवानिवृत्त ज्ञानबहादुर (जीवी) याक्थुङ्वाको सम्पर्क मेजर पुरणसिंहसँग भयो । उनी सैन्यजीवनबाट निवृत्त भएपछि भारतको पूर्वोत्तर रेल्वे सुरक्षा गुल्मको अधिकृत भएर काम गरिरहेका थिए । पुरणसिंहले जीवीलाई नेपालको क्रान्तिका लागि हतियार उठाउन सहमत गराए ।

कलकत्ताको फोर्टी चौरली भन्ने ठाउँमा सुवर्णशमशेरको घर थियो । त्यहीँ सशस्त्र सैन्य दलका लागि नेपालीहरुलाई जम्मा गर्न थालियो । त्यहीँ कार्यालय थियो । पूर्व गोरखा सैनिक, गैर सैनिक नेपाली मूलका युवाहरु जम्मा हुन थाले । कतिपय पढाई छाडेर आएका विद्यार्थीहरु पनि थिए । पुरणसिंह र जीवी याक्थुङ्वा नेपालीहरुलाई सशस्त्र क्रान्तिका लागि भेला गर्न सफल भइरहेका थिए । त्यसबेला पुरणसिंह फस्ट्म्यान र जीवी सेकेण्डम्यान थिए । पुरणसिंह र जीवी याक्थुङ्वामार्फत् भर्खरै विश्वयुद्धको अनुभव बटुलेका र हतियार चलाउन निपूर्ण गोरखालीहरुलाई राणाविरुद्धको सशस्त्र क्रान्तिमा सहभागी गराउन र सम्झाउन पनि सजिलो भएको थियो । सशस्त्र आन्दोलनमा सहभागी हुन महिलाहरु पनि आएका थिए । रेल यात्रामा उनीहरुको सरीर खानतलासी त्यति गम्भीरतापूर्वक नहुने हुनाले उनीहरुबाट हतियार ओसारपसार गर्न सजिलो हुन्थ्यो भने उनीहरुमार्फत त्यस्ता सामग्रीहरु चिसापानीगढी कटाएर काठमाडौं भित्र्याउन सजिलो पनि हुन्थ्यो ।

सन् १९४९ डिसेम्बरमा काँग्रेसले सशस्त्र सेना गठन भयो । सेनाको नाम के राख्ने भन्ने छलफल भयो । सेनाको नाम ‘मुक्ति सेना’ भनी न्वारान गर्ने ब्यक्ति चाहिँ जीवी याक्थुङ्वा नै थिए (अ.प्रा. प्रहरी उपरीक्षक श्यामकुमार तामाङ (हालः दिवंगत)को युट्यूव अन्तरवार्ता–२०७२ पुस १९) । २००७ साल कात्तिक २१ गते काँग्रेसले सशस्त्र क्रान्तिको घोषणा गर्यो । मुक्ति सेनाले विराटनगर, भैरहवा र वीरगञ्जमा एकै साथ आक्रमण गर्यो । विराटनगरमा गिरिजाप्रसाद कोइराला, केशवप्रसाद कोइराला र विश्ववन्धु थापाको नेतृत्वमा भएको थियो । भैरहवामा केआई सिंहको नेतृत्वमा आक्रमण भयो । यस्तै वीरगञ्जको आक्रमणमा थीरबम मल्लका साथ पुरणसिंह र जीवीले नेतृत्व गरेका थिए । २००७ साल कात्तिक २६ गते (भाईटिका) को दिन गरिएको आक्रमणमा मुक्ति सेनाले बीरगञ्ज कब्जा ग¥यो । थीरबम मल्लले सहादत प्राप्त गरे । विराटनगर र भैरहवामा भने मुक्ति सेनाले हार ब्यहोर्नु पर्यो । (रामबहादुर थापा, ‘रासस’–२०७७ फागुन ७)

शान्तिपूर्ण रुपमा धनकुटा कब्जा

पूर्वमा विराटनगर कब्जा गर्नु महत्वपूर्ण थियो, त्यो काम फत्ते भइसकेको थियो । यसैगरी धनकुटा कब्जा गर्नु पनि उत्तिकै महत्वपूर्ण थियो । जनमुक्ति सेना प्रवेश हुने डरले मूलघाटमा तमोर नदीमाथि लगाइएको पुल काटिएको थियो । जीबी याक्थुङ्बाले पूर्वी मोर्चाको कमाण्ड गरिरहँदा उनको कब्जामा परे, ललितबहादुर तुम्वाहाम्फे । उनी धनकुटाका राणा बडाहाकिमसँग निकट थिए । उनी क्याप्टेन बाबुका छोरा थिए । केन्द्रबाट धनकुटाका तत्कालिन बडाहाकिम खेमशमशेरलाई आवश्यक राजनीतिक सल्लाह ललितबहादुरसँग लिनु भन्ने वायरलेसमार्फत निर्देशन थियो । यो वायरलेस जीबीले क्याच गरे । जीबी विराटनगर कब्जा गरिसकेपछि धरानमा बसेर धनकुटा कब्जा गर्ने योजना बनाउँदै समय कुरिरहेको थिए । राजनीतिक सल्लाहका लागि काठमाडौं जाँदै गर्दा जासुस लगाई ललितबहादुरलाई जीबीले आफ्नो कब्जामा लिए । उनले ‘तपाईं कि मुक्ति सेनाको गोली खान तयार हुनुहोस कि त धनकुटा कब्जा गर्न सहयोग गर्नुहोस’ भन्ने प्रस्ताव राख्दा ललितबहादुर धनकुटा कब्जा गर्नका लागि आफू काँग्रेस हुन तयार भए । ललितबहादुरको नेतृत्वमा धनकुटा गौँडा शान्तिपूर्ण रुपमा मुक्ति सेनाले कब्जा गर्यो । (गुञ्जमान सुब्बा (हालः दिवंगत) ‘तान्छोप्पा’ वर्ष ८ अंक ६ः २०६० असार)

जनताको छोरो पहिलो प्रहरी प्रमुख

लामो समय जहानियाँ राणाहरुले देश खाए । सेनामा उनीहरुको अधिपत्य छँदै थियो, प्रहरीमा पनि उनीहरुले छाडेनन् । पहिले नेपाल मिलिटरी पुलिस थियो, जसले प्रहरीको काम गर्थ्यो । यसको अस्तित्व २००७ सालसम्म रह्यो । २००७को राजनीतिक परिवर्तनपछि तत्कालीन राजनीतिक परिवेशअनुकुल हुने गरी २००७ साल चैत २८ गते सेनाका सहायक रथी तोरणशमशेर जबरालाई प्रहरी महानिरीक्षक बनाइयो । जनमुक्ति सेनामा रहेर ज्यानको बाजी थापेर लडेका मुक्ति सेनामध्ये कतिपयलाई घरखर्च मात्र दिएर पठाइयो । कतिपयले स्वेच्छाले छाडे । र बाँकी रहेकाहरुलाई रक्षा दल बनाएर सङ्गठित गरियो । रक्षा दलमा जीबी याक्थुङ्वा मेजर थिए ।

प्रहरीमा तोरणशमशेर जबरा (कार्यकालः २००६ चैत–२००७ चैत)पछि नरशमशेर जबरा (कार्यकालः २००७ चैत–२०१० मंसिर) प्रहरी महानिरीक्षक बने । उनको कार्यकालपछि जीबी याक्थुङ्वा पहिलोपटक जनमुक्ति सेनाको पृष्ठभूमी र सर्वसाधारण जनताको छोराको रुपमा पहिलो प्रहरी महानिरीक्षक भए । नरशमशेरको कार्यकाल सकिएपछि दुई महिना कायममुकायम भएर आईजीपी चलाए । आईजीपीमा उनको नियुक्ति भने २०१० साल माघ २८ गते भएको थियो । उनको नियुक्तिको ब्यहोरा यस्तो छः

का.मु इन्स्पेक्टर जेनेरल अफ पुलीस भै कार्य गरी रहनु भएको श्री ज्ञानबहादुर याक्थुम्बालाई इन्स्पेक्टर जेनेरल अफ पुलीस दर्जामा नियुक्त गरिएको छ अर्को बन्दोबस्त नभइन्जेल भ्रष्टाचार निवारण ऐन वमोजिम कार्यवाही पनि निज मार्फत नै हुने छ ।

आज्ञाले

मेघनरसिंह प्रधान
सेक्रेटरी–गृह मन्त्रालय

(यो नियुक्तिपत्रको नक्कल मेघनरसिंह प्रधानका भतिजा भागवतनरसिंह प्रधानको सौजन्यबाट यो लेखकले प्राप्त गरेको हो ।)

जीबी याक्थुङ्वाको कार्यकाल २०१२ भदौसम्म रह्यो । उनलाई २०२२ सालमा बर्मा (म्यान्मार)का लागि राजदूत नियुक्त गरियो । राजदूतको कार्यभार सम्हालिरहेकै बेला २०२६ साल फागुन १८ गते अल्पायुमै उनको देहान्त भयो । सन् १९२० मार्च १६ (तद्अनुसार १९७६ साल चैत ४)मा जन्मिएका जीवी याक्थुङ्वा उमेरका हिसावले ५० वर्ष पनि पुरा बाँच्न पाएनन् । तर उनले आफ्नो जीवन सफलतापूर्ण मात्र होइन सार्थकतापूर्ण रुपमा पनि बाँचे । नेपालबाहिर सिलांगेबस्तीमा जन्मेर सैन्यजीवन प्रारम्भ गरी दोस्रो विश्वयुद्ध लडेर आएका उनी आफ्नो पुर्ख्यौली देश नेपाललाई राणाहरुको निरंकुश पञ्जाबाट मुक्त गर्न हतियार लिएर क्रान्तिमा होमिए । ज्यानको बाजी लगाएर लडे । आईजीपीजस्तो नेपाल प्रहरीको उपल्लो पदमा पुग्ने सर्वसाधारण जनताको छोरा भन्ने इतिहासको पनि रचना गरे । एउटा कुटनीतिज्ञका रुपमा बर्माको राजदूतका रुपमा सेवा गर्दागर्दै उनको देहान्त भयो । उनको नाम नेपाली इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । उनै जीबी याक्थुङ्वाजस्ता वीर सपुतहरुको रगत र पसिनासँग साटिएको २००७ साल फागुन ७ गतेको विहानी हामीले देख्न र भोग्न पायौँ ।