September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

देउवाको प्रश्नः सूर्य एउटै चिह्न छ, दुई पार्टीलाई कसरी दिने ?

1.2K

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चिर्वाचन चिह्नबारे विवाद समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले सूर्य चिह्न केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनालाई दिन आग्रह गरेका छन् ।

‘नेकपाभित्र चुनाव चिन्हमा झगडा छ । निर्वाचन आयोगले किन चुनाव चिन्ह दिइरहेको छैन ? ओलीले पाउने भए ओलीलाई नभए प्रचण्डलाई सूर्य चिन्ह दिए भइहाल्यो,’ उनले भने, ‘कसलाई सूर्य चिन्ह दिने भन्ने निर्णय अहिलेसम्म गर्न नसक्ने ? सबैभन्दा बेस त चुनाव चिन्ह अरू नै दिए भइहाल्यो । सूर्य एउटै छ, दुइटा पार्टीलाई एउटा चिन्ह कसरी दिने ?’

सभापति देउवाले सर्वोच्च अदालतले स्वविवेकले फैसला गर्ने भएकाले दबाब दिन नमिल्ने बताएका छन् । उने अदालतले संसद् फिर्ता गर्छ भने पनि आफुहरुलाई ठीक रहेको चुनाव गर भन्छ भने पनि ठीक रहेको बताए ।

उनले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्ने बताएका छन् । उनले निर्वाचन आयोगलाई मतलब नै नभएको बताएका छन् ।

‘ओलीले वैशाखसम्म चुनाव गराउँछु भनेको छ । निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ,’ उनले भने, ‘निर्वाचन आयोगले जनतालाई भन्नुप¥यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु ।’

त्यस्तै उनले निर्वाचन आयोगलाई चुनावको कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।

‘किन कार्यकालिका किन प्रकाशित गर्दैन ? चुनाव चिन्हको झगडा छ, किन चुनाव चिन्ह दिँदैन निर्वाचन आयोगले ?’, उनले भने ।