June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

विवाद बढेपछि अक्सिजन प्लान्ट स्थापनाको ठेक्का रद्द

165

कञ्चनपुर : महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका खोलिएको बोलपत्र (ठेक्का) रद्द गरिएको छ। दोस्रो चरणको कोरोना भाइरस महामारी फैलिएपछि अस्पतालले दुई साताअघि चार करोड रुपैयाँमा अक्सिजन प्लान्ट स्थापनाका लागि आह्वान गरेको बोलपत्र मूल्यांकन प्रक्रियालाई लिएर विवाद देखिएपछि रद्द गरिएको हो।

अस्पतालले सबैभन्दा कम रकम कबोल गर्ने सप्लायर्सलाई ठेक्का नदिई अन्यलाई दिएको आशंका गरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठ र अस्पताल व्यवस्थापन समितिलाई विवादमा तानिएको थियो। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रेस विज्ञप्ति निकालेर विरोध गरेको थियो। नागरिक स्तरको अस्पताल सुधार समितिका केही सदस्यले पनि सामाजिक सञ्जालमा लेखिएका धारणालाई लिएर विरोध गरेका थिए।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्टडेन्ट डा श्रेष्ठले मूल्यांकन प्रक्रिया पूरा नभएर अघि बढेको अवस्थामा विवाद गरिएपछि ठेक्का प्रक्रिया रद्द गरिएको बताए। ‘ठेक्का खोलिएअनुसार परेका बोलपत्रलाई मूल्यांकन प्रक्रियामा लगेर काम हुँदै थियो। कोलाई दिने नदिने भन्ने केही थिएन’,अस्पतालमा गरिएको पत्रकार सम्मेलनमा उनले भने,‘मूल्यांकन प्रक्रियामै विवाद झिकेपछि ठेक्का नै रद्द गरिएको छ।’

ठेक्का प्रक्रियालाई लिएर बाहिर विरोध भएपछि मूल्यांकन समितिले पेस गरेको प्रतिवेदनका आधारमा प्लान्ट खरिदका लागि खोलिएको बोलपत्र बदर गरिएको हो। मूल्यांकन समितिले प्लान्ट स्थापनाका लागि बोलपत्र पेस गरेका तीन सप्लायर्सका आवश्यक कागजात नपुगेको प्रतिवेदन बनाएको छ।

मूल्यांकन समितिको प्रतिवेदनमा तीनै ओटा फर्मको सार्वजनिक सूचनाअनुसार व्यवसाय दर्ता प्रमाण पत्र, स्वघोषणा पत्र, टेक्निकल कम्प्लायन्स सिट अपूर्ण, उत्पादक कम्पनीको आधिकारिक पत्र, अनुभव पत्र, ३० दिनभित्र कार्य सम्पन्न प्रतिबद्धता पत्र नभएको उल्लेख गरिएको छ।

बोलपत्रको मूल्यांकन प्रक्रियामा हुँदा सबैभन्दा कम रकम कबोल गर्नेले आफ्नो रकम सार्वजनिक गरी ठेक्कालाई विवाद पारेको अस्पतालको बुझाइ छ। ‘बोलपत्र प्रक्रियामै थियो। त्यहीं बेला सप्लायर्सले मैले यति अंक हालेको छु भनेर बाहिर ल्याएपछि त्यसैलाई आधारमा बनाएर अस्पताललाई विवादमा तान्न प्रयास गरियो’, अस्पतालका एक कर्मचारीले भने, ‘त्यसैका आधारमा विवाद हुनुभन्दा रोक्न राम्रो हुने भनेर ठेक्का नै रद्द गरिएको हो।’

अक्सिजन प्लान्ट स्थापनाका लागि बिआर इन्टरनेसनल, स्नेहा सोप एण्ड केमिकल र टेक्निकल एसोसिएटस सर्भिसले प्लान्ट स्थापनाका लागि बोलपत्र पेस गरेका थिए। सबैभन्दा कम स्नेहाले एक करोड ७९ लाख रकम कबोल गरेको थियो। त्यसपछि बिआरले तीन करोड २६ लाख र टेक्निकलले तीन करोड ६३ लाख रकम कबोल गरेको थियो। सबैभन्दा कम रकम कबोल गर्ने स्नेहाको बोलपत्रमा ६ डकुमेन्ट अपुग देखिएका छन्।

अस्पतालको प्लान्ट खरिदको मूल्यांकन प्रक्रिया विवादमा परेका बेला युएनओपिएसले अस्पतालमा निःशुल्क रुपमा प्लान्ट बनाउने प्रक्रिया अघि बढेको छ। अस्पतालमा प्लान्ट बन्ने भएपछि ठेक्का रद्द गर्न अस्पताललाई सहज हुन पुगेको हो।