June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

सरकारले अनुमति दिए आफैं खोप खरिद गर्ने स्थानीय तहको तयारी

115

तनहुँ– सरकारले अनुमति दिए तनहुँका दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन्। म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको हो।

सरकारले खोप उपलब्ध गराउन समय लागेपछि आफैंले खरिद गर्ने भन्दै गाउँपालिकाले मन्त्रालयसँग अनुमति माग गरेको हो। गाउँपालिका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले मन्त्रालयलाई पत्र लेख्दै कोभिड भ्याक्सिन बाहिरबाट खरिद गर्नका लागि अनुमति दिन आग्रह गरेका हुन्। 

गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत तथा विकास बजेट कटौती गरेर भए पनि भ्याक्सिन खरिदमा लगानी गर्ने अध्यक्ष रानाले बताइन्।

गाउँपालिकाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिन चाहेको र त्यसका लागि सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार खोप खरिद गर्न मन्त्रालयसँग अनुमति माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। 

सरकारसँग खोप किन्ने स्रोतको कमी भएको सुन्नमा आएकाले गाउँपालिकाले नागरिकको जीवनरक्षाका लागि विकास बजेट कटौती गरेर खोप किन्न चाहेको उपाध्यक्ष घिमिरेको भनाइ छ। विकास निर्माणभन्दा खोपलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

सदरमुकामस्थित व्यास नगरपालिकाले पनि सरकारले अनुमति दिए आफैंले खोप खरिद गर्ने बताएको छ। नगरवासीलाई आवश्यक पर्ने खोप सरकारकै तर्फबाट उपलब्ध गराउन माग गर्ने र उपलब्ध हुन नसकेको खण्डमा नगरपालिकाले नै खरिद गरी लगाउने व्यवस्था मिलाउन सरकारसँग अनुमति माग गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए।