काठमाडौँ । ‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तक लोकार्पण भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले ललितपुर, कुपण्डोलस्थित होटल हिमालयमा शनिबार आयोजित विशेष समारोहमा ‘विश्वका राष्ट्रिय गान’ पुस्तकको लोकार्पण गरेका हुन् ।
नेपाल वाङ्मय फाउन्डेसनद्धारा प्रकाशित उक्त पुस्तकमा विश्वका १९५ देशका राष्ट्रिय गानहरू नेपाली भाषामा अनुवाद गरी समेटिएका छन् ।
पुस्तक लोकार्पण समारोहमा बोल्दै परराष्ट्रमन्त्री साउदले नेपाली भाषामा अनुवाद गरेर पहिलोपटक आएको ‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तकले पाठकलाई विश्वका १९५ ओटा राष्ट्रका बारेमा समेत बुझ्न सहयोग पुर्याउने बताए । उनले राष्ट्र गानबाट सम्बन्धित राष्ट्रको निर्माण, इतिहास, संस्कृति र सभ्यताका बारेमा समेत जानकारी पाउन सकिने बताए ।
यस्तै, कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति बैरागी काइँलाले नेपाल वाङ्मय फाउन्डेनले नेपाली भाषामा अनुवाद गरेर १९५ ओटा राष्ट्रका राष्ट्रिय गानको पुस्तक प्रकाशन हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।
कार्यक्रममा परराष्ट्रविद् मधुरमण आचार्यले ‘विश्वका राष्ट्र गान’ पुस्तकका बारेमा समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए । उनले १९५ ओटा राष्ट्रका राष्ट्रिय गानलाई एउटै कृतिमा समेटेर ग्रन्थ निकाल्नु उल्लेखनीय कार्य भएको बताए । उनले राष्ट्रिय गानको शीर्षक पनि राखेको भए सुनमा सुगन्ध थपिने पनि बताए । उनले राष्ट्र भनेको भूगोल मात्रै नभएर नागरिक, सभ्यता र संस्कृति प्रमुख भएको उल्लेख गर्दै राष्ट्रिय गान सम्बन्धित राष्ट्रको विशिष्ट पहिचान भएको विचार व्यक्त गरे ।
कार्यक्रममा फाउन्डेसनका विशिष्ट सल्लाहकार, कवि, गीतकार तथा पूर्व अर्थमन्त्री एसपी कोइरालाले ‘विश्वका राष्ट्रिय गान’ पुस्तक शब्द, सङ्गीत र स्वरको त्रिवेणीका साथै देश, भूगोल, भाषा र भावनाको संगम भएको बताए ।
फाउन्डेसनका प्रमुख संरक्षक, शिक्षाविद् तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठले विश्वका १९५ ओटा राष्ट्रका राष्ट्रिय गानले ती राष्ट्रको गाथा झल्काउने धारणा राखेका थिए ।
यस्तै, फाउन्डसनका अध्यक्ष तथा पुस्तकका सम्पादक डा. विप्लव ढकालले पुस्तक प्रकाशनको औचित्यमाथि प्रकाश पार्दै पुस्तकमा संयुक्त राष्ट्र संघका १९५ सदस्य राष्ट्रहरू तथा दुई पर्यवेक्षक राष्ट्रका राष्ट्रिय गानहरू पुस्तकमा समेटिएको बताए । उनले पुस्तक संसारभरिका देशहरूको हृदय जोड्ने पुलको प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरे । उनले भने, “यो पुस्तक विश्वशान्ति, सद्भाव र भाइचाराको कामनासहित नेपाली पाठकहरूमा देशभक्ति र राष्ट्रियताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रकाशित गरिएको हो ।”
पुस्तकभित्र राष्ट्रपति रामचन्द्र पौडेल, नेपालस्थित संयुक्त राष्ट्र संघका महामहिम आवासीय संयोजक हाना सिंगर–हाम्दी तथा फाउन्डेसनका विशिष्ट सल्लाहकार शङ्करप्रसाद कोइरालाका मन्तव्य समेटिएका छन् ।
यस पुस्तकका प्रकाशन सौजन्यकर्ता उमेश श्रेष्ठ तथा तेन्जी शेर्पा रहेका छन् । पुस्तकको मूल अनुवादक प्रदीप निरौला र व्यवस्थापक डा. पद्मा अर्याल रहेका छन् । उक्त पुस्तकको प्रकाशन तथा लोकार्पणसँगै नेपाल वाङ्मय फाउन्डेसनको औपचारिक यात्रा आरम्भ भएको जानकारी गराइएको थियो । कार्यक्रममा नेपालका राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई फाउन्डेसनका तर्फबाट सम्मान अर्पण गरिएको थियो भने अनुवादक प्रदीप निरौला, प्रकाशन सौजन्यकर्ता उमेश श्रेष्ठ र तेन्जी शेर्पा कदरपत्र सम्मानपत्र अर्पण गरिएको थियो ।
कार्यक्रमको सहजीकरण कवि तथा गीतकार मुकुन्दराज शर्माले गरेका थिए ।