September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

दिलिप बान्तावाको ‘ताल्चा’ माथि परिचर्चा

1.8K

काठमाडौं । साहित्यकार दिलिप बान्तावाको कथासंग्रह ‘ताल्चा’ माथि ‘ताल्चा–परिचर्चा’ कार्यक्रम सम्पन्न भएको छ । शनिबार बागबजारस्थित सिटिम्याक्स सिनेमामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्भव समूहद्धारा आयोजित उक्त कार्यक्रमका वक्ताहरु साहित्यकारत्रय बिना थीङ, स्वप्निल स्मृति र प्रगति राई रहेका थिए भने कार्यक्रमको सहजीकरण सुरज रानाले गरेका थिए ।

कार्यक्रममा बोल्दै वक्ता बिना थिङले पठन संस्कृति र विश्व साहित्यमा पहुँच नहुनुको कारण नेपाली साहित्य अन्तराष्ट्रिय पाठकसम्म पुग्न नसकेको बताइन् । पठन संस्कृति र रुची जगाउन बाल साहित्यमा जोड दिनुपर्ने उनले बताइन् । यस्तै आत्मआलोचना गर्न बाँकी रहेको पनि उनले बताइन् । ‘आफैले आत्मआलोचना गर्न बाँकी छ । राम्रो कन्टेन दिन सकिएको छैन ।’, उनको धारणा थियो ।

Advertisement

सोही प्रसंगमा कवि स्वप्निल स्मृतिले उनीहरूले हाम्रो साहित्य किन पढ्ने ? भन्ने जवाफभित्र भेट्न सकिने बताए । यस्तै, उनले पहिचान साहित्य पहिचानको उजागरको लागि भएको बताए । ‘हामीले पढ्न थालेको धेरै भएको छैन । ७ सालको प्रजातन्त्रपछि मात्रै स्कुल जान सुरु भयो, तर स्कुलभित्र के पढियो भन्ने कुरा जगजाहेरै छ । यो हामीले हाम्रै सचेतनाको लागि आफ्नै सौन्दर्यतिर फर्केर काम गरिरहेका छौं सायद ।’, उनले भने ।

यसैगरी लेखेर बाँच्न सकिन्छ सकिन्न ? प्रश्नमा वक्ता प्रगति राईले कमाउनको लागि नलेखिने बताए । उनले भनिन्, ‘लेखेर कति कमायो भन्नु सोध्न नमिल्ने प्रश्न हो । कमाउनकै लागि त जे गरे पनि भयो । एउटा व्यापारीलाई सोध्नुस्, कतिवटा गीत लेख्नुभो ? यो मूर्ख प्रश्न हो । एउटा लेखकले कमाएको उसको इज्जत हो ।’

‘याम्बुनेर’ बाट हेर्दा दिलिप बान्तावाको ‘ताल्चा’ कस्तो देखियो भन्ने प्रश्नमा बिना थीङले उस्तै व्यथा देखिएको बताइन् । उनले भनिन्, ‘हामी सत्ताबाट हुत्याइएका समुदायहरू जुन भूगोलमा बसेपनि उस्तै उँदोरहेछ । दिलिपको कथामा विभेदमा पारिएकाहरूका यथार्थ छ । वहाँले जे महसुस गर्नुहुन्छ, म पनि त्यही महसुस गर्छु, भने हामीमा समभाव हुने रहेछ । हामी दलनमा परेका समुदायबाट प्रतिनिधित्व गछौं, त्यसैले हाम्रो लेखाइमा फरक पाइनँ ।

यस्तै, साहित्यकार दिलिप बान्तावाले आफ्नै थात्थलोका भोगाइहरुलाई कथाको प्लट बनाएको बताए । ‘आफ्नो थात्थालोको भोगाई सामान्य लाग्थ्यो, तर जब परदेश गएँ, त्यहाँबाट हेर्दा ती भोगाइहरू सामान्य लागेनन् । मैले भोगेका देखेका कुराहरू अरुलाई सुनाउनु आवश्यक रहेछ भन्ने अनुभव भएपछि कथाको प्लट बनाउन सुरु गरें । मेरो समाजको कुरा आउनुपर्ने रैछ भन्ने लागेपछि लिपिबद्द गरेको हुँ ।’

बान्तावा पछिल्लो समय दक्षिण कोरियामा रहेर साहित्य सिर्जना गरिरहेका छन् । उनको कथासंग्रह ‘ताल्चा’ प्रकाशनमा आएको छ भने थुप्रै फुटकर कविताहरु प्रकाशन भएका छन् ।

कार्यक्रममा प्राज्ञ सदस्य चन्द्र रानाहाँछा, कवि राबत, केसब सिलवाल, राजु स्याङ्तान, मुक्तान थेबा, अन्जना इछमफुल, मन्जुल मितेरी लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो।