मैले बराहक्षेत्रको साहित्य र स्वर्णिम साहित्य समाजको निम्ति वडाअध्यक्षको टिकटसम्म माया मारेँ : कवि प्रकाश दिप्साली राई
बराहक्षेत्रमा लामो समय कवितामै संघर्ष गरे, हिड्दा डुल्दा कवितै भेटे, अनि प्रत्येक चोक गल्लीमा कविताका तत्वहरू भेटे । अनि मनमा कुरा खेल्यो देशभरीकै कवि कलाकारहरूको जमघट कसरी पार्ने यस्तै यस्तै कुराहरूको सपना देख्दै निरन्तर अघि बढे । उबेला समकालिनहरूको हेय तथा क्षेयसम्म भोगे । तर पनि हिम्मत नहारी थोरै नै भए पनि कविता लेख्न छाडेनन् । थोरै लेखे तर प्रभावकारी कविता लेखे र नै प्राय कविता महोत्सवमा हार्न जानेन । र नै अन्ततः उनी राष्ट्रिय कविता महोत्सव –२०८० मा विजेता बने ।
यही उपलक्ष्यमा कवि प्रकाश दिप्साली राईलाई चतरा साहित्यिक मन्चले चतरामा भव्य कार्यक्रमको आयोजना गर्दै बधाई तथा सम्मानको कार्यक्रम गर्यो साथमा उनका एकल कविता वाचन गरायो ।
“तर
फोटो खिच्न हामी कहाँ जान्दो रैछौँ र ?
आजसम्म हामीले क्यामेरा चिनेकै रैन छौँ
फोटो त दिलको क्यामेराले खिच्नुपर्दो रहेछ
र मात्र जुनसुकै पोज पनि दिलमा बस्दो रैछ
उनले खिचेको कयौं फोटोहरूमा
उनलाई आजसम्म मभन्दा सुन्दर अरु कुनै चिज लाग्दैन
किनकी उनले मेरो फोटो दिलको क्यामेराले खिचेकी छे
र नै आजसम्म मेरो फोटो उनले डिलिट गरेकी छैन
र त सग्लो म यो धरातलमा उभिएको छु ।”
एकल कविताको मन्चमा जीवनमै पहिलो पटक उक्लेका उनले “क्यामेरा“ शीर्षकको प्रेम कवितामा प्रेम कविहरूले यो कवितामा खुब आनन्द लिए र तालीको परराहरू बजे । उनी जब मन्चमा उक्ले तब उनले कविताहरू मात्र भनेनन् । आफ्नो सिर्जनशील आरोह अवरोहसमेत प्रस्तुत गरे । दिप्सालीले आफू यहाँ कविता भन्न मात्र हैन आफ्नो साहित्यिक यात्राका दुख सुखहरूको रङहरू बाड्न आएको पनि बताए । सोही क्रममा उनले प्रायः ठाउमा पोखिरहने गुनासो बराहक्षेत्र नगरपालिकाले कविता वाचनमा आफुलाई निषेध गरेको घटना पुनः सम्झिएर भावविह्वल बने, तर पनि आफू बराहक्षेत्रको माटोकै निम्ति सिर्जनशील काम गरिरहेको बताए । यो बेला उनलाई आँट हौसला दिने भविन राउतलाई खुब सम्झिए अनि पानी पिएर आफुलाई सम्हाले । उनको साहित्यिक संघर्ष र उनले भोगेका दर्दनाक कहानीहरू सुन्दा घरी घरी मन्च सियो खस्दा आवाज निस्केला झैँ हुन्थ्यो । अनि पुनः अर्को कविता “उधोमुन्टिएको हसिया हतौडा” कविता पढे ।
“सायद
उसले यो बेला भोकबहादुर
र दुखीरामहरूको आधा पेट सम्झेको हुनुपर्छ
मदन भण्डारी निलेको त्रिसुली सम्झेको हुनुपर्छ
क्रान्तिमा बगेको रोल्पाली रगत सम्झेको हुनुपर्छ
र सताएको हुनुपर्छ आफ्नै वियोगान्त कथाले
एउटा कुरा चैँ
हेक्का राखे हुन्छ हसिया हतौडा समातेकाहरूले
केही कथिङ्गल लालझण्डाबाट
हसिया हतौडा भत्केर भुइँमा झर्यो भने
क–कसको हातखुट्टा काट्ने हो ?
क–कसको टाउको रगताम्यै हुने हो ?
सायद त्यसपछि हसिया र हतौडा
पुनः निसन्देह आकाशतर्फ फर्केर
मुस्कुराउने पो हो कि ?
या भुइँतिर झुकेर हिलोमा लतपतिने हो ?”
यो कवितालाई त दर्शक र श्रोताहरूले उठेर सम्मान गरे र वान्समोर भन्दै फेरि त्यो कविता वाचन गर्न लगाए दिप्सालीलाई । दिप्सालीले आफुले बराहक्षेत्रको साहित्य सिर्जना र स्वर्णिम साहित्य समाजलाई व्यवस्थित गर्न र साहित्य सिर्जनालाई थप उचाइमा पुराउन वडाअध्यक्षको टिकटसम्म माया मारेको खुलासा गरे । उनले यसो भन्दै गर्दा उनीप्रति सबैले गडगडाहट तालीले सम्मान प्रकट गरे र भिड भन्दैथिए यो भन्दा साहित्यकै निम्ति अर्को पागलपन के हुन सक्ला ? उनले कविता वाचनको क्रममा “चोमोलोङ्मा र अस्तित्व” , “संविधानमा गुमाने दर्जीका कुरा”, “मेरी कविता सुत्केरी खान माइत जाँदिन” , “झण्डा र झोला” लगायतका कविता वाचन गरे । उनले कविता वाचनलाई राष्ट्रिय कविता महोत्सव विजेता कविता “नौरानको नाम” नाम कविताले बिट मारे ।
“’नामले खान दिदैन, लाउन दिदैन’
यो भुत्ते आदर्श मन्त्रोच्चारण गर्ने हो भने
यो देशलाई अरु नै भनौं
राजामहाराजाको राजगद्दीमा
’गोर्ना मुसहर’लाई गद्दीआरोहण गराऔं
मन्दिरमा देवी देवताको ठाउँमा
पारुहाङ र सुम्निमाको आराध्य गरौं
स्वीकार छ ……?“
उनले नयाँ सर्जकहरूलाई बारम्बार उत्प्रेरित बनाउदै साहित्य सिर्जनामा मिहिनेत , निरन्तरता र धैर्यता हुनुपर्ने बताए । उनलाई कविता वाचनमा “स्कुलमा कविता“ विजेता आर्यन निरौला (तिमी हिड्ने बाटाहरू), स्थानीय कवि बिमला श्रेष्ठ (हाम्रा कविताहरू) र पोइट आइडलमा उत्कृष्ट १२ कि छबिना लुङ्गेली मगर (खुवालुङ) ले साथ दिएका थिए । कवितावाचन पश्चात् वक्ताहरूले दिप्साली र दिप्सालीका कवितामाथि बोले । बराहक्षेत्रका अग्रज कवि प्रल्हाद पहरेदारले बराहक्षेत्रको साहित्यमा दिप्साली अनुकरणीय व्यक्ती रहेको बताए । दिप्सालीको समय भनेको बराहक्षेत्रको स्वर्णिम युग रहने बताए । यस्तै अर्का चर्चित कवि राज माङ्लाकले दिप्साली हरेक विषयमा कविता लेख्न पोख्त रहेको बताए । उनले भने हामी कवि लेखकले समयको माग लेख्नुपर्छ ती नै लेखन ईतिहास भविष्यमा इतिहास हुने बताए । कवि अहिलेको समय लेखिरहेका छन् । अहिलेको समय सह अस्तित्व र पहिचान लेखनको समय रहेको र दिप्सालीले ती चिजहरूलाई जोडले उठाइरहेको बताए ।
त्यस अघि उनलाई उनकै फोटो अङ्कित टिसर्ट, मालासहित कविता वाचनका निम्ति मन्चमा आमन्त्रण गरिएको थियो । सोही समयमा बराहक्षेत्र नगरपालिका वार्ड नम्बर –२ ले दोसल्ला ओढाएर सम्मान गरेको थियो । सप्तकोसी बहुमुखी क्याम्पस स्वबियुले सम्मान गरेको थियो । दिप्सालीलाई आयोजकले सम्मानपत्र , नगद रु १० हजार १ सय १ र बुकी फुलको गुच्छा सहित भव्य सम्मान गरेको थियो । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह , भारतका उपाध्यक्ष कवि भीम विरहीले किराँती सस्कार अनुसार फेटा गुथाएर शिर उठाउदै सम्मान पत्रले सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र –२ का वडाअध्यक्ष होमप्रसाद गौतमले कवि प्रकाश दिप्साली राईको संघर्षबाट आफू प्रेरित भएको बताउँदै दिप्सालीको प्रेरणाले नै यो पल्टबाट कला साहित्यको निम्ति बजेट बिनियोजन गर्न थालेको बताए ।
गजलकार लक्ष्मण कटुवालले सहजीकरण गरेको सो कार्यक्रमलाई मैजारो गर्दै मन्चका अध्यक्ष दीपा मग्रातीले आफुलाई सिर्जनशील जन्माई, हुर्काई बढाई र पढाइ गराएका गुरु प्रकाश दिप्साली राईलाई सम्मान गर्न पाउँदा भावुक भएको बताइन् , उनले १२ वर्षे उमेरदेखिको दिप्सालीसङ्गको सम्बन्धलाई सम्झिदै बारम्बार भावविह्वल भइन् त्यहाँबाट उनी बोल्न सकिनन् र कार्यक्रमको बिट मारिन् ।
(आयोजकसङ्गको कुराकानी र कवि दिप्साली र त्यहाँ सहभागीहरूको आधारमा तयार पारिएको सामग्री)