काठमाडौँ । साँस्कृतिक रुपान्तरण, एकीकरण र हस्तक्षेपको मूल प्रवाह भनेर बनाइएको कार्यक्रम “समय प्रवाह”को तेश्रो श्रृङ्खला त्रिचन्द्र कलेजमा सम्पन्न भएको छ ।
यस श्रृङ्खलामा अग्रज, समकालीन र नयाँ पुस्ताका युवा कविहरुले आफ्नो सिर्जना मार्फत समयको प्रवाहमा आफ्नो आवाज बोलेका थिए । कविहरु कुशल बोगटी, किरात नाकारा, सोनाम किराती, धनराज घिसिङ, मन्जुल मिथोच, राज एकान्त, नमन अनु, संगीता पनेरू, खेम आचार्य, केशव सिलवाल, अभय श्रेष्ठ, गिलु रातोसले कविता वाचन गरेका थिए ।
जगत मुक्तानको बाँसुरीको धुनबाट सुरु भएको कार्यक्रम अबधिभर वाचित कविताहरुमा बाँसुरी मधुर धुन बजेको थियो ।
वाचित कविताहरुमाथि यो समयको बलशाली कवि बिमला तुम्खेवाले प्रशिक्षणात्मक समालोचना सहित युवा पुस्ताका नवप्रतिभा कविहरुलाई महत्त्वपूर्ण सुझाव एवम् सिर्जनात्मक प्रशिक्षण दिएकी थिइन् । उनले सिर्जनामा विचार र कलाको संयोजनसहित पुरानो यथास्थितिवादी संस्कृति र पुरातन विचारमाथि हस्तक्षेप अनिवार्य रहेको कुरा राखेकी थिइन् ।
तुम्खेवाले कविहरुले कविता मार्फत सधैं प्रतिपक्षीय कित्तामा उभिनुपर्ने कुरामा जोड दिएकी थिइन् । समय प्रवाहले गरेको सुरुवातलाई धन्यवाद दिँदै निरन्तरताको कामना पनि गरेका थिए । मन्तव्यसँगै कविता पनि वाचन गरेकी थिइन् ।
समग्र साँस्कृतिक रुपान्तरण र संस्कृतिकर्मीहरुको वृहत एकीकरणको बलमा पुराना हिन्दु–ब्राह्मणवादी रुढि विचार, दलाल पुँजिवादी छाडा संस्कृति र यथास्थितिवादी पुरातन साहित्य र सत्तामाथि प्रगतिशील, अग्रगामी हस्तक्षेप गर्ने मूल उद्देश्यका साथ सम्पुर्ण अग्रगामी, रुपान्तरणकारी संस्कृतिकर्मीहरुको साझा मञ्चको रूपमा “समय प्रवाह” सुरु भएको मुक्तान थेबाले जानकारी दिएका छन् । “हामी सम्पुर्ण कवि, लेखक, संस्कृतिकर्मीहरुमा वृहत्तर एकताको लागी हार्दिक अनुरोध गर्दछौँ ।” थेबाले फेसबुकमार्फत आफ्ना भनाई शेयर गरेका छन् ।
“समय प्रवाह” हामी हरेक महिनाको तेस्रो शनिबार निरन्तर हुने पनि थेबाले जनाएका छन् ।