November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मनिषा गौचनको कथासंग्रह ‘प्रतिवहन’ माथि विमर्श

2.9K

काठमाडौं । आख्यानकार मनिषा गौचनको कथासंग्रह ‘प्रतिवहन’ माथि विमर्श भएको छ । शनिबार काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा संग्रहमाथि बिमर्श कार्यक्रम सम्पन्न भएको हो ।

धेरैजसो अपांगता भएका व्यक्तिहरुको कथा समेटिएको ‘प्रतिवहन’ माथि समीक्षक राजकुमार बानियाँ, बौद्धिक तथा बहुअपांग अभिभावक संघकी अध्यक्ष तथा सोही क्षेत्रमा डेढ दशकदेखि संलग्न लक्ष्मी काफ्ले र लेखक गौचनसँग पत्रकार, निबन्धकार दीपक सापकोटाले कथा विमर्श गरेका हुन्।

समीक्षक बानियाँले गौचनका कथामा नयाँ र अहिलेसम्म नलेखिएका विषय समेटिएको बताए । हरेक पात्रको पीडामाथि अनुभूतिको तहसम्म पुगेर कथा लेखिएको र कथाले पाठकलाई संवेदित बनाउँने उनले बताइन् ।

Advertisement

यस्तै, काफ्लेले प्रतिवहन कथासंग्रहले आफूहरुलाई न्याय गरेको बताइन्। उनले भनिन्, ‘लेखक, पत्रकारहरुले यस्ता विषयमा अझ गहन भएर लेखिदिए राज्यलाई घचघच्याउन सहयोग पुग्थ्यो।’

लेखक गौचनले आफूले अपांगताकै क्षेत्रमा काम गरेकाले र अपांगता भएका व्यक्तिहरुसँगको सामीप्यले यस विषयमाथि सूक्ष्म अध्ययन गरेर लेख्न सहज भएको बताइन् । ‘पात्रहरुको मनोविज्ञान नजिकबाट छाम्न खोजौं । जुनसुकै बेला जो कोही पनि अपांग हुनसक्ने सम्भावना भएकाले अपांगता भएका व्यक्तिलाई दयाभावले नभई उनीहरुको चाहना र क्षमता बुझेर व्यवहार गर्नुपर्छ,’ गौचनले बताइन् ।

यस्तै, समालोचक रत्नध्वज जोशीले बीसको दशकमा नेपाली साहित्यमा लेख्न छुटेका विषयको सूची निकालेको प्रसंग झिक्दै पत्रकार दीपक सापकोटाले अरु पनि छुटेका विषय छन् कि भनी सोधेको प्रश्नमा बानियाँले गौचनका प्रत्येक कथाले छुटेकै विषय उठाएको र ती सबै विषय नयाँ मेन्यूमा अटाउन सकिने बताए ।

यसअघि गौचनका ‘वल्लीको डायरी’ र ‘हृवाइटकेन’ उपन्यास प्रकाशित छन् । २१ वटा कथा रहेको प्रतिवहन इन्डिगो इन्कले प्रकाशन गरेको हो ।