November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विराट राजाको दरबार दर्शन र रेलस्टेशनमाथि मन्थन

देवेन्द्र सुर्केली
२०८० जेष्ठ १८

7.6K

प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूको सचिवालयमा रहेपछिमात्रै विराटनगरमा बास हुन थालेको हो । यसअघि एकपटक फूपू बिरामी हुँदा ४ दिन कोशी अस्पताल बसेको थिएँ । अन्य समयमा त विराटनगर एयरपोर्टको लागि मात्रै आउने जाने गरिन्थ्यो ।

फुर्सद हुनसाथ मेरो घुम्ने बानी छ, प्रायःजसो एक्लै । यो डेढ वर्षबीचमा विराटनगरको गल्लीगल्ली घुमेको छु । हिजो कहाँ हो कहाँ जस्तो लाग्ने विराटनगरलाई अहिले नजिकबाट चिन्ने कोशिषमा छु । केहीमात्रामा चिनीसकेको पनि छु ।

जोगबनी बजार, जोगबनीको रेल्वे स्टेशन फुर्सद हुँदा घुम्ने र कसैलाई घुमाउन लैजानुपरे गन्तव्यको रूपमा बनाएको छु । जोगबनीको रेल देखेपछि त्यसैलाई धरानसम्म लिक लगे राम्रो हुन्छ कि भन्ने लागेको थियो । नेपाली युवाहरू धेरै भारतीय फौजमा छन् । धेरै भारतमै रोजगाररत छन् । तसर्थ जोगबनीदेखि धरानसम्मको रेल्वे लगे उत्तम हुने लागेको थियो । यद्यपि यो मेरो निजि बिचार थिए । गर्नेहरू उनै हुन्, जसमा मेरो पहुँच पुग्दैन ।

Advertisement

जोगबनीको बाटो आउने जाने गर्दा रानीदेखि पूर्वपट्टि एउटा ठूलो सडक गएको देख्थेँ । कहाँ पुग्ने होला भनेर सोच्थेँ पनि । तर कसैलाई सोधेको चाही थिइनँ । फेरि उक्त सडकलाई मलाया रोड भनेर लेखेको देख्थेँ । मलेसिया देशको सवाह र सारावक राज्यबाहेकको स्थानलाई मलाया भनिन्छ । यता किन मलाया रोड बन्यो भन्ने चासो लाग्यो र यससम्बन्धि खोज्न थालेँ । पूर्व प्रशासक रामकृष्ण तिवारीले अन्नपूर्ण पोष्ट दैनिकमा ‘विराटनगरको सेरोफेरो (२०७३ फागुन २६)’ लेख लेख्नुभएको आर्काइभमा भेट्टाएँ । त्यस लेखले विराटनगरसम्बन्धि जान्ने धेरै जिज्ञासालाई मेटाइदियो ।

जोगबनीमा रेल आइपुग्यो । त्यसपछि मोरङको सदरमुकाम रहेको रंगेलीबाट सबै चिज विराटनगरमा बसाइँ स¥यो । मलायाको लाहुरेहरूलाई धरानदेखि विराटनगर–जोगबनीहुँदै मलेसिया पुर्याउन थालिएको उक्त रोडको नाम मलाया रोड नामाकरण भएछ । वि.सं. २०३१ सालसम्म कोशीवारीकाले काठमाडौँ जानुपर्दा विराटनगर–जोगबनीहुँदै विहारको बरौनी, समस्तीपुर, दरभंगाहुँदै रक्सौल–अमलेखगञ्ज रेलमार्ग माध्यमबाट पुग्नुपर्ने र त्यसपछि पैदल जानुपर्ने बाध्यता थियो । मेरो बाजे त्यसरी पुग्नुभएको कहानी सुनाउनुहन्थ्यो । त्यसो त २०१५ साल जेठ १४ गते विराटनगरमा एयरपोर्ट निर्माण भइसकेको थियो तर मेरो बाजेले हवाइजहाज चढ्ने कल्पनासम्म नगरी बित्नुभयो । पूर्वपश्चिम राजमार्गले सप्तकोशीमा पूल बनाउन अघि कोशीवारीकाले काठमाडौँमात्र नभएर भारत तथा अन्य देश पुग्ने नाका नै विराटनगर–जोगबनी बनेपछि रंगेलीदेखि सबै कुरो बसाइँ सरेको प्रष्ट बुझिन्छ ।

अँ, जोगबनी जाँदा रानीदेखि पूर्व जाने ठूलो सडकको जिज्ञासामै छु म ।

महेन्द्रचोकको एक क्याफेमा कफि पिउन आउनुस् भन्दा कुनै साथीहरूको समय मिलेन । त्यसपछि एकखालको वैरागिएर मोटरसाइकल स्टार्ट गरेँ र अन्धाधुन्द दक्षिणतर्फ लम्किएँ । रानीसम्म पुग्दा म कहाँसम्म पुग्ने भन्ने टुंगो थिएन । त्यो ठूलो सडकदेखेपछि भने म निश्चिन्त भएँ र तेर्सिएँ । बाटो धेरै फराकिलो थियो । तर सवारीसाधन भने पातलो । नेपाल भारतको सिमाना कतानेर पर्छ भन्ने पनि यकिन थिइनँ ।

केही अप्ठेरो पो पर्ला कि भनेर हामो सचिवालयमै रहेका कर्मचारी केशव पोखरेललाई कल गरेँ । र, भने –“यो बाटो कहाँ पुग्छ ?”

“बुधबारे पुग्छ । सर कतासम्म जानुहुन्छ ? विराट राजाको दरबार त्यतै हो ।” केशव भाईले यति भनेपछि त म झनै फुरुङ्ग भइहालेँ । किनभने विराटनगर बसेपछि विराटराजाको दरबार नहेर्नु त मिल्दै मिल्दैनथ्यो । त्यसपछि फेरि मोटरसाइकल स्टार्ट गरेर कुदिहालेँ ।

केहीपर पुगेपछि सडक बाङ्गियो । ठूलो गेट देखियो । कतै म सिमानामा त आइनँ ? भन्ने भयो । गेटमा लेखिएको थियो, ‘एकीकृत जाँच चौकी विराटनगरमा हार्दिक स्वागत छ ।’ गेट कट्यो । निकै ठूलो कस्टम अफिस पुगियो । त्यसपछि त्यहाँ रहेका नेपाली ट्राफिकलाई सोधेँ –विराट राजाको दरबार कहाँ छ ?

“रेल्वे पारी छ ।” ट्राफिकको उत्तरले खङ्ग्रङ्ग भएँ ।

“मोटरसाइकल लान मिल्छ ?” मैले फेरि सोधेँ ।

“किन नमिल्ने ? तपाई कहाँबाट आउनुभएको ?” ट्राफिकको प्रतिप्रश्न थियो ।

“म प्रदेश प्रमुखको सचिवालयमा छु ।” मैले भनेँ ।

“ए ! भनेपछि झन् जाँचबुझमा आएको भन्नुस् न ।” ट्राफिकको भनाईले म हाँसे ।

अगाडि बढेँ, रेल्वे जक्सन ठूलो थियो । तर रेल हिडेको पदचाप देखिन्न थियो । अलि अगाडि बढेपछि फेरि एक व्यक्तिलाई सोधेँ, उहाँ ठ्याक्क पुगिनेगरीको बाटो बताइदियो । भनाईमुताबिक म पुगेँ । त्यहाँ उत्खनन्का कामहरू भइरहेको थियो । उत्खनन् भएको स्थलको वोर्डमा लेखिएको थियो –योजनाको नामः वडा नं. १८ स्थीत विराटराजाको दरबार व्यवस्थापन कार्य ।

ट्राफिकले भनेमुताबिक जाँच गर्न आएको भनेर उत्खनन् गरेको ठाउँमा पुगिनँ । वरैबाट तस्बिर लिएँ । उत्खनन्थलो अगाडि एउटा ढिस्को थियो । उक्त ढिस्को महाभारतकालिन रहेको विश्वास गरिँदो रहेछ । हाल यस ठाउँलाई भेडियारी भनिन्छ । कौरवहरूले विराट राजाका गाई लुटेर लगेकोलाई पाण्डवहरूले फर्काइदिएको हुनाले यसलाई गोग्राहा पनि भनिन्थेछ । पाण्डवहरू यहाँ १ वर्ष गुप्तबास बसेको किंवदन्ती छ ।

वि.सं. २०२७ सालमा यहाँ उत्खनन् गर्दा ४० वटा पञ्चमार्क नामक धातुका मुद्रा फेला परेको थियो । साथै इशापूर्व २ सय वर्ष पुरानो विराट राजाको दरबार र अण्डाकार मन्दिर भेटिएको थियो । प्राचीन धातुहरू, माटाका भाँडा, हातहतियारहरूसमेत फेला परेको थियो । डाटा तानेर गुगल गर्दा पाएको जानकारी लिँदै केही तस्बिर र सेल्फीपश्चात म फर्केँ ।

केही समयअगाडि जनकपुरधाम पुग्दा त्यहाँको रेलस्टेशन देखेको थिएँ । केहीबेर पर्खेपछि रेलको दर्शन पनि गर्न पाइएको थियो । भारतको जयनगरहुँदै धनुषाको कुर्था भन्ने ठाउँसम्म रेल आउने रहेछ । रेल चढ्न मन छ भने कुर्थासम्म जाउँ भन्ने साथीहरूको आग्रह पनि नकारियो । किनभने रेलको अनुभव थियो, तर नेपाली भूमिमा दौडिएको चाही हेर्न मन थियो, हेरियो ।

विराट राजाको दरबार हेरेपछिमात्रै थाहा भयो मोरङको कटहरी गाउँपालिकासम्म रेलको लिक बिच्छ्याइसकेको रहेछ । फराकिलो स्टेशनसहित ‘नेपाल कस्टम यार्ड’ देखेपछि निकै पुलुकित भएँ । यतिका धेरै लिक तथा स्टेशन नै बनेपनि सञ्चालन नहुनुमा दुखी पनि बनेँ । फेरि डाटाको मोवाइल चलाएँ । ७५ सालमै अनलाइनखबरमा प्रकाशित ‘विराटनगरमा रेल नचल्दै लिक भत्कियो’ शिर्षकको आर्काइभ समाचार पढ्दा दिक्क भएँ ।

म केहीबेर रेलको बाटो छेउहुँदै पच्छ्याएँ । निकै लामो पच्छ्याएपछि विराटनगर चक्रपथको सडक भेटाएँ । त्यसपछि जतुवारोड हुँदै फेरि बजार छिरेँ ।

यस पंक्तिहरू लेखिरहँदा भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र समकक्षी प्रधानमन्त्री नरेन्द मोदीमा नयाँ दिल्लीमा कस्टम यार्डको संयुक्त रूपमा उद्घाटन गरेका छन् । जसबाट कार्गो रेल सञ्चालन भएको छ । कार्गो रेलले सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगका कच्चा पदार्थ र उत्पादित वस्तुको आयात निर्यात कार्गो रेलबाट हुनेछ । समकक्षी प्रधानमन्त्रीद्वयले उद्घाटनको दिन फलाम उद्योगको कच्चा पदार्थ कार्गो रेलबाट आयात हुँदैछ । यसअघि पनि फलाम उद्योगका कच्चा पदार्थ रेलबाट आयात वथनाहसम्म ल्याएर त्यहीं अनलोड गरेर ट्रक मार्फत भन्सार यार्ड ल्याउने गरिएको ढकालले बताए । अब भने कस्टम यार्डसम्मै कार्गो रेलबाट आयात हुनेछ । आगामी वर्षहरूमा कस्टम यार्डसम्म मात्र नभई कटहरीसम्मै, त्यसपछिका वर्षहरूमा झापासम्म रेल पुगेको लेख्न पाउँ भन्दै विराटराजाको भग्नावशेष र कस्टम यार्ड भ्रमणको सम्झना गरेको छु ।