ललितपुर । साहित्यकार पुष्पहाङ लोवाको लिम्बू भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ (मानिसका पाइलाहरू) सार्वजनिक भएको छ ।
शनिबार किरात याक्थुङ चुम्लुङ, ललितपुरमा आयोजित कार्यक्रम याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लच्छामीकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले उक्त कथा सङ्ग्रह सार्वजनिक गरेका हुन् ।
साहित्यकार स्वप्निल स्मृतिले सार्वजनिक पुस्तकको सन्दर्भमा बोल्दै २०१८ सालदेखि लिम्बू भाषामा आधुनिक कथालेखन सुरु भएको बताएका थिए । सार्वजनिक गरिएको ‘मना लाङ्योःक्खा’ कथासंग्रह लिम्बू मानकभाषामा स्तरीय लेखन रहेको उल्लेख गरे ।
समीक्षक भिमा खजुम मुसुमले संग्रहित कथाले लिम्बू जाति, संस्कृति, परम्परा, परिवर्तनशील समय, जनविश्वास र आधुनिक पुस्ताप्रति सचेतनाका विषय उजागर भएको बताइन् ।
समालोचक मलिसा याक्थुम्बाले कथाले लिम्बुवान भूमिको माटो बोकेको उल्लेख गरे । ‘कथामा लिम्बुवानको माटोको सुगन्ध छ,’ उनले भने, ‘मुन्धुम संस्कार संस्कृतिमात्र होइन पहिचानलाई जीवन्त तुल्याएको छ ।’ यसैगरी साहित्यकार निशेष आङदेम्बे, विष्णु सिंगक, आशा नेम्वाङलगायतले लिम्बू भाषा साहित्यबारे बोलेका थिए ।
किरात याक्थुङ चुम्लुङ जापानले प्रकाशित गरेको कृतिलाई द मार्जिन मिडियाको आयोजनामा सार्वजनिक गरिएको हो । सिरिजङ्गा लिपिका माध्यमबाट लिम्बू भाषामा लिखित संग्रहमा १२ वटा कथा छन् । पाँचथरमा रहेर मातृभाषा साहित्य सिर्जना अभियानमा संलग्न साहित्यकार लोवाको यसअघि ‘तङअम्भुङ’ र ‘याग्राङसिङ’ कवितासंग्रह प्रकाशित छन् ।