November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘राष्ट्रिय कविता महोत्सव–२०८०’ का लागि कविता पठाउन आह्वान, मातृभाषामा कविता पठाउन सकिने

4.6K

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘राष्ट्रिय कविता महोत्सव–२०८०’ का लागि कविता पठाउन आह्वान गरेको छ । शुक्रबार जारी सूचना अनुसार जेठ २० गतेसम्म कविता पठाइसक्नुपर्ने छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवका अवसरमा आयोजित यस प्रतियोगितामा मातृभाषामा पनि कविता पठाउन सकिने प्रतिष्ठानले जनाएको छ । ‘यसपटकदेखि कविता महोत्सव प्रतियोगितात्मक परम्पराको सट्टा समावेशी सहभागितामूलक बनाइएको छ । कविता नेपालका सबै भाषा मातृभाषामा लेखेर सहभागिता जनाउन सकिने छ । मातृभाषामा पठाइएका कविता अनिवार्य रूपमा नेपाली अनुवादसहित पठाउनुपर्ने छ ।’, जारी सूचनामा भनिएको छ ।

असार ९ गते हुने उक्त कविता प्रतियोगिताका लागि कविता प्रतिष्ठानमा उपस्थित भई बुझाउन सकिने अथवा इमेल गर्न सकिने बताइएको छ ।

Advertisement

प्रतिष्ठानका अनुसार प्राप्त कविताहरूमध्येबाट उत्कृष्ट १० कवितालाई वाचनका लागि छनोट गरिने र छनोट गरिएका प्रत्येकलाई १५ हजार राशिसहित कदर–पत्र प्रदान गरिने छ ।

राष्ट्रिय कविता प्रतियोगितामा मातृभाषाको कविता पनि पठाउन सकिने प्रज्ञा प्रतिष्ठानको निर्णयप्रति अहिले समर्थन तथा विरोध दुवै भइरहेको छ । मातृभाषी सर्जकहरुले यसलाई स्वागतयोग्य कदम ठानेका छन् भने खस भाषीहरुले बिरोध गरिहेका छन् ।

साहित्यकार उषा शेरचनले मातृभाषाका कवितालाई समावेश गर्ने निर्णय स्वागतयोग्य भए पनि यसरी मिसाउदा खिचडी भएको टिप्पणी गरिन् । ‘प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगितामा मातृभाषाका कवितालाई पनि समावेश गर्ने निर्णय एकदमै स्वागतयोग्य भए तापनि यसरी मातृभाषा र राष्ट्रभाषालाई मिसाएर खिचडी पकाउनु भन्दा राष्ट्रभाषा र बहुभाषिक कविता महोत्सव छुट्टाछुट्टै गर्दा सबैभन्दा उत्तम हुन्छ भन्ने लाग्छ ।’, उनले सामाजिक संजालमा लेखेकी छन् ।

साहित्यकार मधु केरुङले प्रज्ञा प्रतिष्ठिानको यस निर्णय स्वागतयोग्य रहेको बताएका छन् । उनले भनेका छन्, ‘नेपालमा बोलिने सबै भाषाहरु नेपाली भाषा हुन् । विभिन्न मातृभाषामा साहित्य सिर्जना गर्नेहरु सबै नेपाली साहित्यकार हुन् । प्रज्ञा प्रष्तिठानको यस निर्णय स्वागतयोग्य छ ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख प्राज्ञ राजन मुकारुङले नेपाली कविताका बारे महोत्सवमा विमर्शका कार्यक्रमहरू हुने बताए । मुकारुङले भने, ‘हामी आफैंले जुन “नेपाली भाषा”मा साहित्य सिक्दै, लेख्दै आयौँ, त्यही भाषाप्रति “दुराशय” राख्ने भन्ने किञ्चित् हुँदैन । समावेशी सिद्धान्तको हिसाबले अझ उन्नत बनाउन सकिन्छ कि भन्ने असल मनसाय हो । तौरतरिकाका बारे आएका प्रश्नहरूमा व्यापक छलफल गरौँ । नेपाली कविताका बारे महोत्सवमा विमर्शका कार्यक्रमहरू हुने नै छन् ।’

मुकारुङले सबै मातृभाषाहरुलाई समान स्थान र उर्जा दिन नसकिएको भन्दै यसबारे छलफल गर्नुपर्ने पनि बताए । उन िभन्छन्, ‘नेपालको संविधानअनुसार नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् । बरू, सबै मातृभाषाहरूलाई समान किसिमले स्थान र ऊर्जा दिन सकिएको छैन । यता छलफल गरौँ !’