काठमाडौं । कवि दिलकुमारी डङ्गोलको कवितासंग्रह ‘फोक्सोमा देश’ लोकार्पण भएको छ । बुधबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न एक समारोहबीच संग्रहको लोकार्पण गरिएको हो ।
बुधबार ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरिएको उक्त समारोहबीच कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राडा जगत् उपाध्याय ‘प्रेक्षित’ रहका थिए । प्रमुख अथिथि उपाध्याय, अतिथिहरु प्रतिसरा सायमी, कवि तथा उप–प्राध्यापकद्वय डा. गीता त्रिपाठी र डा. हरिप्रसाद सिलवाल, कवि नरेश शाक्य, प्रकाशक एवं कवि वैरागी जेठा र कृतिकार दिलकुमारी डङ्गोलले संयुक्त रुपमा संग्रहको विमोचन गरेका हुन् ।
विमोचित कवितासंग्रह ‘फोक्सोमा देश’ बारे बोल्दै प्रमुख अतिथि प्राडा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले समसामयिक विषयका अत्यन्त मिठा र सुरुचिपूर्ण कविताहरूको संग्रह रहेको प्रतिक्रिया दिए । यस संग्रहबार समाजलाई आनन्दित तवरले जगाउने प्रेरणा मिल्ले पनि उनले बताए ।
यस्तै, संग्रहबारे कवि, समीक्षक एवं उप–प्राध्यापक गीता त्रिपाठीले समीक्षात्मक टिप्पणी गरेकी थिइन् भने अन्य अतिथिहरुले पनि आ–आफ्ना धारणाहरू प्रस्तुत गरेका थिए ।
आफ्नो संग्रहबारे बोल्दै कवि डङ्गोलले विद्यालय जीवन देखिनै कविता लेख्न सुरु गरेको र उक्त सिर्जनालाई पुस्तकको आकार दिएको बताइन् । उनले आफ्नो जीवन संघर्ष तथा लेखन यात्राबारे जानकारी दिँदै आफ्ना विचार राखेकी थिइन् ।
कवि डङ्गोलको यो पहिलो कवितासंग्रह हो । ‘यो पहिलो कवितासंग्रह भएको हुँदा संग्रह निकाल्दाको अनुभव पनि पहिलो नै हो । यतिबेला मलाई थोरै नर्भस र धेरै खुशी लागेको छ ।’, उनले नेपाल मामिलासँग भनिन् ।
संग्रहमा समसामयिक विषयमाथि लेखिएका ३६ वटा कविता संग्रहित छन् । संग्रहमा ‘मेडिकल फिल्ड’का बिम्बमा लेखिएका केहि कविताहरु पनि रहेका छन् । आफ्नो कार्यक्षेत्र नै त्यहि भएको हुँदा यस विषयलाई कविताको बिम्ब बनाएको उनको भनाइ छ । ‘फोक्सोमा देश’ ले विशेष गरी काठमाडौंको धुलो, प्रदुषित वातावरण र राजनीतिक व्यङ्ग्य समेटेको कवि डङ्गोल बताउछिन् ।
समारोहमा समा श्रीले कृतिभित्रैबाट ‘फोक्सोको देश’ शीर्षकको कविता वाचन गरेकी थिइन भने अर्का कवि वसन्तले ‘आमा’ शीर्षक कविता वाचन गरेका थिए । कार्यक्रममा सभापतिको हातबाट प्रमुख अतिथि, भूमिका लेखक, समालोचक, सम्पादक, आवरण चित्रकार, प्रकाशक, कार्यक्रम सञ्चालकलाई सम्झनाको चिनो अर्पण गरिएका थियो ।
आकृति प्रकृति प्रकाशनका सञ्चालक वैरागी जेठाको सभापतित्वमा सम्पन्न उक्त समारोहको संचालन कवि रामगोपाल आशुतोषले गरेका थिए ।