काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काइँलाले साहित्यकारहरुका कृतिमाथि ठूलाले बोलिदिएमात्रै पत्याउने नत्र वास्ता नगर्ने प्रवृति रहेको बताएका छन् । इतर अभियन्ता कवि पराजित पोमुको कवितासंग्रह ‘मद्धारा मेरो निर्माण’ विमोचन गर्दै वरिष्ठ साहित्यकार काइँलाले यस्तो बताएका हुन् ।
काइँलाले नेपाली साहित्य भनेको आफूलाई खोज्नु रहेको र यस कविता सङ्ग्रहले कविलाई परिचय दिलाएको बताएका थिए । “नेपाल र नेपाली त सबैले जान्दछन्, तर नेपालभित्र रहेका विविधिता र पहिचानलाई जान्दैनन् र जान्न चाहँदैनन् । तसर्थ यस्ता कृतिले विविधता र पहिचानलाई चिनाउने प्रयत्न गरेको छ ।” काइँलाको थप भनाई थियो ।
सोमबार काठमाडौंको मण्डला नाट्यघरमा एक समारोहको आयोजना गरी संग्रहको विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका अन्य वक्ताहरु वरिष्ठ कवि श्रवण मुकारुङ, डा. विन्दु शर्मा र गुरुङ शुसान्त रहेका थिए । कविता वाचनमा कवि स्वप्निल स्मृतिले सहयोग गरेको थिए ।