November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कविता: मलाई जन्मदिनको भव्य शुभकामना

महेन्द्र थुलुङ राई
२०७९ माघ २२

10.9K

कसलाई थाहा थियो
यहि दिन म जन्मन्छु ?
केही अगाडि मात्र हो
मैले मेरो आमालाई थाहा दिएँ

आज यस्सो सोची पठाउँदा
अरुको बारीमा
हाम्रो पेट खोज्न दौडिएर कुद्ने आमा
आधा रातसम्म तान बुनेर पल्टिएको बेला
मैले कसरी भने होला ?
“आमा” अब मलाई हेर्न मन लाग्यो
गुन्द्रुके भाउमा नबिकिरहेको तपाईको श्रम
जुवाडे बाउको कौडा जस्तै चिरिएको मुटु
आफू जत्रै गाग्रो बोक्ने दिदीको भाग्य
साच्चैको चल्ला मारेर बिच्चैको खेल खेल्ने दाजुको भाँडाकुटी
अनि, यत्तिनै पाल्न नसक्नेले
फेरि बोकेछ दुःखको अर्को भारी भन्ने
समाजको निराकार आकार ?

अरुकै घरमा बासेको बिहान
मलाइ हेर्न पर्खिरहेको पूर्णेको जून
रातभरि भुकेर सुतिसकेको कुकुर
काली खोलाको सुसाई
झ्यालको चेपबाट चोर जस्तै पसिरहेको हुस्सु
यस्तै यस्तै वातावरणमा हुन पर्छ
म छुट्टिएको आमा सँग
अनि रोईदिएको पहिलो रुवाई
सायद
यस्तै बेला हुनपर्छ
हरेक आमाले सोच्ने
सानो कदम
जसमा हरेक आमाको ठूलो भरोसा

Advertisement

पहिल्यैबाट लिएको सास
म जन्मेको पल महसुस गरेको जून
बिहानै तापी पठाएको घाम
ऊ त्यो पारिको सखुवा डाँडा
जस्ताको तस्तै
जत्राको तत्रै
“त बढिस्” भन्ने को हो ?
आकाशको छेत्रफल कति हो ?
धर्तीको वजन कति हो ?
बढ्ने र घट्ने त खोला मात्र देखेँ

के म खोला हो ?

हो रैछ
भूपि पासाको लेते खोला

क–कसले मलाई बोके ?
क–कसले मलाई चिमोटे ?
क–कसले हाउगुजी देखाए ?
क–कसले मामा घर देखाए ?
क–कसले म लड्दा उठाए ?
क–कसले म रुँदा फकाए ?
क–कसले मेरो हाँसोमा हाँसो थपिदिए ?

सप्पैलाई नसम्झन सक्छु
तर, महसुस गरिरहेको छु
र, त बगिरहेको छु
लेते खोला जस्तै
पहाड सँग ठोक्किदै
मै हँु भन्ने ढुङ्गालाई बालुवा बनाउँदै

पृथ्वीको यो भूगोलमा
मैले कुनै बटुवालाई जानाजान बगाएको छैन
कुनै अबोध बच्चालाई लडाएको छैन
तिर्खा मेट्नेहरुले मेटेर गए
कत्तिले धानबारी तिरै हुले
कुलो बनाएर
दुवाली छेकेर बाटो मोडाइदिन खोजे
अ..ह…
मेरो बाटो म आफै बनाइरहेछु
लेते खोला जस्तै
जो पुग्दैछ जीवनको शान्त महासागरमा
किनकी
मान्छे र खोला
बारम्बार जन्मनु र मर्नु पर्छ

सायद,
यहि रात जन्मनु संयोग थिएन
मलाई जन्मदिनको भव्य शुभकामना ।