-प्रकाश दिप्साली राई
नडाहा । आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ शाखा कोरियाको ३ बुँदे घोषणा–पत्र जारी गर्दै प्रथम अधिवेशन सम्पन्न भएको छ । सोमबार कोरियाको बुसानमा सम्पन्न सो अधिवेशनले खेम पुन मगरको अध्यक्षतामा १५ सदस्सीय समिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा शकुन आँसु, उपाध्यक्षहरूमा खोम गुरुङ र सेसेफुङ शेर्मा, महासचिवमा अमिर योञ्जन, सचिवहरूमा दिलीप बान्तावा र विष्णु सन्यास, कोषाध्यक्षमा उत्तम खजुम चयन छन् । सहकोषाध्यक्ष आउने पहिलो वैठकले चयन गर्ने छ । यस्तै सदस्यहरूमा दिपा मेवाहाङ, विनेस राई, डम्बर सुब्बा, मधु सिङ्जाली, रेजिना राई, एडिन छन्त्याल र एल.बी रुम्बा रहेका छन् ।
आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष विसन राईको प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष पराजित पोमुको अध्यक्षता रहेको कार्यक्रममा यालेसका महासचिव बलिन्द्र योङहाङ, साहित्यकार हाङ्सेम केरुङ, गजलकार दिपक खनाल ‘स्पन्दन’ साथै अन्य साहित्यिक तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
अधिवेशनले तीन बुँदे घोषणा–पत्र समेत जारी गरेको छ । जसअनुसार महासंघले आदिवासी जनजातिहरूको हकहितका निम्ति हुने सबै प्रकारको आन्दोलनमा नैतिक समर्थन दिने निर्णय गरेको छ । त्यस्तै, आदिवासी जनजातिहरूको भाषा, लिपि, धर्म र सँस्कृति संरक्षण तथा सम्बद्र्धनका लागि समर्पित रहने जनाएको छ । यस्तै, आदिवासी जनजातिहरूसँग सम्बन्धित मुद्दा र विषयलाई लेखनमार्फत उजागर गर्ने प्रयत्न गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
सोही अवसरमा महासङ्घले मातृभाषाको कविताहरूको संगालो ‘भुइँमान्छेका आवाज’ विमोचन गरेको छ । महासङघ दक्षिण कोरियाले प्रकाशन गरेको सङ्ग्रहमा १६ राष्ट्रभाषाका ५१ कविका कविताहरू छन् । यस्तै, सोही बेला कवि पराजित पोमुको दोस्रो कवितासङ्ग्रह ‘मद्वारा मेरो निर्माण’ कविता सङ्ग्रहसमेत विमोचन गरिएको थियो ।