April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

कवितामा तीन पुस्ता

4.3K

जनक कार्की

कुनैपनि देशको चेतनाको स्तर मापन गर्नका लागि त्यहाँको कला र साहित्यलाई मूख्य आधार बनाउन सकिन्छ । जुन देशमा कला र साहित्यको विकास तिब्र गतिमा हुन्छ, त्यहाँको चेतनाको विकासले पनि रफ्तार लिन सक्छ । समाज जिउँदै छ है भनेर बताउने माध्यम पनि कला साहित्य नै हो । कला र साहित्यका विभिन्न रूप मध्ये काव्य विधा पनि प्रधान रहँदै आएको छ । पूर्विय साहित्यमा ५००० वर्षको ईतिहास काव्यको रहेको छ भने पश्चिमको साहित्यमा अरस्तु र प्लेटोको बेलादेखि कविताको विकास भएको पाइन्छ ।

कविता वाचनको परम्परा पनि कविताको जन्मसँगै भएको अनुमान लगाउन सकिन्छ । प्राचीन कालमा संस्कृत काव्यको उद्धेश्य आत्मा र परमात्मासँग जोड्ने, नैतिकता सिकाउने, धर्म बुझाउने, करुणा र प्रेमको महत्व दर्साउने आदि हुँदै पश्चिमको साहित्यले पनि जीवन दर्शन हुँदै सत्यको वकालत गरेको पाइन्छ । बिस्तारै राजामहाराजाको कोठीमा कविताले श्रृङ्गारिक रूप धारण गर्दै अहिले आएर बेथिती, अराजकता, कुसंस्कार, कुशासन आदि विरुद्ध आवाज उठाउँदै कविता रचिन थालेका छन् ।

Advertisement

नेपालमा विभिन्न साहित्यिक संस्थाहरूले धेरै स्वरुपमा कविता वाचन कार्यक्रम गरेको पाइन्छ । साहित्यको विकासको नाममा सञ्चालन भएको प्रज्ञा प्रतिष्ठानले भने रचना वाचन कार्यक्रमलाई खासै वास्ता गरिएको देखिन्न । जबकि ईतिहास खोतल्ने हो भने राजा महेन्द्रले २३ फागुन वि.सं २०२३ मा एक सय चालीस जनाभन्दा बढी कवि भेला पारेर डुंगामा साहित्य गोष्ठी गरेर साहित्यको विकासमा योगदान पुर्‍याएको देखिन्छ । एक सप्ताह देवघाटमा चलेको सो कविता गोष्ठीमा तीनवटा डुंगामा नदिको बीचमा बसेर कविता वाचन गरिएको थियो ।

अमेरिकाको राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा अझै पनि कविता वाचन गर्ने परम्परा कायम छ । रोबर्ट फ्रोस्ट, माया एन्जेलो जस्ता कविहरूले राष्ट्रपतिको सपथमा कविता वाचन गरेका छन् ।

पछिल्लो कार्यक्रममा नेपालमा सबैभन्दा सफल मानिएको कविता वाचन कार्यक्रम भनेको ‘हामी कवि र कविता’ हो । श्री लुनकरन दास–गंगादेवी चौधरी र सर्वनाम थिएटरको संयुक्त आयोजनामा ‘हामी कवि र कविता’ कार्यक्रम आयोजना भएको थियो । जसको नारा नै , ‘हरेक महिनाको सुरुवात केही राम्रा कविता सुनेर गरौँ ।’ भन्ने थियो । कोभिडको महामारीसँगै यो कार्यक्रम बन्द भएको छ ।

त्यसैगरि गजलमा ‘महफिल’ गजल वाचन कार्यक्रमले पनि गजल विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्यो । यो कार्यक्रम पनि बन्द भएर फेरि सुचारू हुँदै छ । आभा काव्य लहरले पनि केही शृङ्खला कविता वाचन कार्यक्रम आयोजना गरेर हाल स्थगित भएको छ ।

मोफसलमा कविता वाचनको कार्यक्रमलाई भव्य तरिकाले उत्सव मनाइरेको कार्यक्रम हो आरोहण गुरुकुलको काव्यारोहण । काव्यारोहण वि.सं २०७६ मंसिर ७ गतेबाट सुरु भएर १२ शृङ्खलाको अन्त्यसँगै पहिलो सिजन सकिएको छ । दोस्रो सिजन फेरि लिएर आउने कुरा आरोहण गुरुकुलको सूचनामा बताइएको छ । देशभरका साहित्यिक संस्थाहरूबाट विभिन्न कविका जन्मोत्सव पारेर कविता वाचन कार्यक्रम आयोजना गरिदै आएका छन् । कविता वाचन कार्यक्रमले कविताको विकाससँगै साहित्यको माहोललाई बनाउन काम गर्छ ।

अब हामी लागौं कविता वाचनको राष्ट्रिय स्तरको कार्यक्रम सुस्ताउन लागिरहेकै बेलामा एउटा नयाँ स्वरूप र रूपरेखामा आयोजना हुन गइरहेको कार्यक्रम ‘कवितामा तीन पुस्ता’ को चर्चा गर्न ।

केहि दिन अगाडि कवि दीप दर्पणको फेसबुकको वालमा एउटा पोस्टरमा मेरा आँखा गएँ । निलो पृष्ठभूमिको उक्त पोस्टमा ‘हामी आउँदै छौँ…. कवितामा ३ पुस्ता ।’ यो पोस्टर देखिसकेपछि कवितालाई माया गर्ने भएकोले मेरो मनमा केही उत्सुकता जाग्नु स्वभाविक थियो । त्यसपछि मैले कवि दीप दर्पणसँग सम्पर्क गरेर कार्यक्रमबारे थप जानकारी लिएँ । प्रस्तुत छ कवि दीप दर्पणसँको कुराकानीमा आधारित संपादित अंश ।

तीन पुस्तालाई एउटै मञ्चमा उभ्याउने उद्धेश्यसहित सुरु गर्न लागिएको ‘कवितामा ३ पुस्ता’ कार्यक्रममा तीनजना सर्जक एउटै मञ्चमा उभ्याइने छ । अभिभावक पुस्ता, अग्रज पुस्ता, अनुज पुस्ताले एउटै मञ्चमा उभिएर ५/५ वटा कविता सुनाउनुपर्ने कार्यक्रमको फर्म्याट हुनेछ । कोभिडपछि साहित्यिक गतिविधि गतिशील बनिसकेको अवस्था छ । तीन पुस्तालाई एउटै मञ्चमा जोडेर एकाअर्काको अनुभव, शिल्प, शैलीसँग साक्षात्कार गराउने उद्धेश्यका साथ कार्यक्रमको परिकल्पना गरिएको छ । यसभन्दा अगाडिका कार्यक्रमलाई लागेको आरोप, खेमा, ग्रुप, जात, लिङ्ग आदिलाई निरुत्साहित गर्ने हिसाबले हरेक कार्यक्रममा एउटा नारी श्रष्टालाई समावेश गरेर कार्यक्रमलाई समावेशी बनाउने आयोजकको योजना छ । हरेक दुई महिनामा आयोजना गर्ने लक्ष्य राखिएको कार्यक्रममा कविलाई सम्मानजनक पारिश्रमिक पनि दिइने छ । जरुवा नेपाल सुचना तथा प्रविधिको क्षेत्रमा काम गर्ने संस्था आयोजकको रूपमा रहने छ भने अन्य केही संस्थाहरू प्रायोजकका रूपमा रहने र विभिन्न मिडियाको सहकार्यमा कार्यक्रम गरिने छ । यहि श्रावण २१ गते कवितामा तीन पुस्ता कार्यक्रम सुरू हुने भएको छ ।

पहिलो शृङ्खलामा कवि दिनेश अधिकारी, श्रवण मुकारुङ र रञ्जना निरौलाको ५–५ वटा गरे पन्ध्रवटा कविता सुन्न सकिने छ । कार्यक्रम सर्वनाम थियटरमा दिउँसो २ बजेदेखि हुनेछ । कार्यक्रममा सहभागी हुनको प्रवेश शुल्क रू १०० लाग्ने व्यवाथा गरिएको छ ।