August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

नेपालभाषाका प्रगतिवादी महाकवि जिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्वमाथि चर्चा

420

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपालभाषाका प्रगतिवादी महाकवि गिरिजाप्रसाद जोशीको ८४ औँ जन्मजयन्तीका सन्दर्भमा ‘महाकवि गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्व’ विषयक विचार–गोष्ठी तथा रचनावाचन कार्यक्रमको आयोजना गरियो । गोष्ठीमा महाकवि जोशीको व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गरिएको थियो ।

प्रज्ञा भवनको लेखनाथ प्रवचनकक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले समाजको रूपान्तरणका लागि महाकवि जोशीले साहित्य सृजना गरेर समाज र राष्ट्रलाई विशिष्ट योगदान दिएको बताए । सो क्रममा उनले मुलुकका मातृभाषाका साहित्यको विकासका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानले उल्लेखनीय कामहरू गर्दै आएको बताए ।

कुलपति गङ्गाप्रसाद उप्रेती

कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति डा. जगमान गुरुङले आफ्नो भाषा, साहित्य तथा संस्कृति बचाउन सम्बन्धित जाति तथा समुदायआफैँ अग्रसर हुनुपर्नेमा जोड दिए ।

Advertisement

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपाल प्रज्ञा–प्रतिष्ठानले सबै मातृभाषाका साहित्य र स्रष्टाहरूलाई विशेष महत्व दिएर विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको बताए । उनले कीर्तिशेष अमर साधकहरूको स्मृतिमा उनिहरुको योगदानमा आधारित रहेर विचार विमर्श कार्यक्रम आयोजना गर्ने गरिएको उल्लेख गर्दै कार्यक्रम यसैको सिलसिला भएको बताए ।

कार्यक्रमका सभाध्यक्ष साहित्य (मातृभाषा) विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीले नेपालभाषा साहित्यको विशेष गरी कविता विधामा सो भाषाका प्रगतिवादी कवि गिरिजाप्रसाद जोशीको विशिष्ट योगदान रहेको विचार व्यक्त गरिन् । उनले प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागबाट नेपालभाषाको साहित्यतर्फ उल्लेखनीय कार्यहरू भएको बताइन् ।

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले महाकवि जोशीले नेपालको प्रगतिवादी साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिएको बताए ।

कार्यक्रममा नारद बज्राचार्यले महाकवि गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्व विषयमा प्रवचन दिएका थिए । उनले प्रवचनका क्रममा छोटो समयमै महाकवि जोशीले नेपालभाषा साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिएको बताए । नेपाल संवत् १०५८ जन्मिएका जोशी नेपाल संवत ११०७ कीर्तिशेष भएका थिए । उनका विभिन्न विधाका करिब चार दर्शन कृति प्रकाशित छन् ।

कार्यक्रममा महाकवि जोशीद्वारा नेपालभाषामा लिखित तथा नेपालभाषाबाट नेपाली भाषामा अनूदित र नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘विपात्र’ उपन्यास कुलपति उप्रेती र उपकुलपति डा. गुरुङले लोकार्पण गरेका थिए ।

सो कार्यक्रममा राजदास श्रेष्ठले नादर बज्राचार्यको प्रवचनमाथि परिपूरक विचार व्यक्त गरेका थिए । कार्यक्रममा कविहरू सुरेश किरण, ईश्वरीमैयाँ श्रेष्ठ र शरद कसाःले महाकवि जोशीका कविचा वाचन गरेका थिए भने गायिका रीता महर्जन, चन्द्रबहादुर श्रेष्ठ र नकुल श्रेष्ठले महाकविद्वारा रचित गीत गाएर सुनाएका थिए ।

कार्यक्रमको सहजीकरण शशीकला मानन्धरले गरेका थिए ।