January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

कथाः लत्याइएको भाग्य

810

अनिला राई

घरबाट निस्किएँ । आँगनको डिलको बगैंचामा फुलिरहेको फूलहरूमा नजर डुलाए, जुन बगैंचा म सानो छँदा ढुङ्गाहरू गाडेर बाबाले बनाइदिनुभएको थियो । दिन होस् या रात ती फूलहरूमा सधै नै एकै किसिमको भाव देख्थेँ । मुस्कुराइरहेको जस्तो । तर, मलार्ई घर छोडेर हिड्ने समय लाग्यो । उदास-उदास थिए ति पनि । फूलहरूतिर नियाले जसरी बाबा र आमाले भने मलार्ई नियाल्दै हुनुहुन्थ्यो । घर छाडेर कहिलै टाढा नगएको छोरी टाढिदा भावुक हुनु स्वाभाविक थियो । उहाँहरूको आँखामा अस्पष्ट भावहरू पनि थिए । सायद ति छोरीप्रतिको विश्वास र अविश्वास दुबैको सम्मिश्रण थिए होलान । म बुझ्थेँ, म नहुँदा घर शून्य हुँदै थियो, आँगन शून्य हुँदै थियो तर प्रेम गरेको कति कुरालाई छोडेर देखेको सपनालाई पछ्याउने अठोट लिएकी थिएँँ । मेरो सपनाले मलाई साहसी बनाएको थियो । त्यही साहससँगै निस्किनु थियो जीवनको बाँकी सफरमा ।


एसएलसीको नतिजा केहि दिन अघि त आएको थियो । दुर्गम गाउँको सरकारी स्कुल पढेर छोरीले राम्रो अङ्क ल्याएपछि बाबा आमाको अनुहार धपक्क भएको महसुस आफैले पनि गरेकी थिएँ । बाबा भन्दै हुनुहुन्थ्यो, अब डाक्टर हुनु । म खुसी थिएँ, सानैदेखि सेतो एप्रोन लगाउने र घाँटीमा स्टेथेस्कोप झुन्ड्याउने मेरो सपना थियो । त्यो समय मलार्ई थाहा थिएँन मैले देखेको सपनाको भार कति छ ? म जान्दिन थिएँ कति महगो सपना देख्दै थिएँ म ?

Advertisement

सपनाको रङ्ग सुन्दर हुन्छ तर यात्रा उति नै कठिन । सुरुका केहि वर्षको कठोर संघर्षपछि मेरो सपनाहरूले आकार लिएको थियो । म इन्टर्नको रुपमा एउटा हस्पिटलमा काम गदै थिएँ । मैले बाल्यकालदेखि कल्पना गरेको सेतो गाउँन, स्टेथेस्कोप घाँटीमा झुन्डाएर सिनियर डक्टरसँग वार्डमा राउन्ड लगाउँदै थिएँ । मैले वार्डको विरामीको बिपी चेक गर्नु थियो । कानमा स्टेथेस्कोप र स्फिग्मोम्याग्नोमिटर सेट गरेर ब्लड प्रेसर लिने क्रममा मेरो कानमा यति ठूलो आवाज आयो म तर्सिए र सिनियर डक्टरतिर हेर्न खोज्दै गर्दा ब्युँझिएँ । केहिबेर उदास भएँ । सपनाहरू सपना बनेरै दुखाइरहन्छ /झस्काइरहन्छन् । म सोच्छु, दुख्नु भनेको पनि त जीवित हुनुको प्रमाण हो ।

त्यो दिन कन्भोकेसनको दिन थियो । तसर्थ तयार भएर जानु थियो । अघिल्लो रात मनमा विभिन्न कुराहरू खेलिरहँदा सुत्न अबेर भएको थियो । मैले जीवनको एउटा अध्याय सकाएकी थिएँ । अरुको नजरमा त सफलताको सिँढी उक्लिएको थिएँ तर आफ्नो नजरमा ? जसकोे उत्तर मसँग थिएनँ । मेरो अन्तर्मन चुपचाप थियो । दिमाग बस सक्रिय थियो । जिन्दगी दिमाग र हृदयको बिना सन्तुलन पनि चल्दोरहेछ/चलाउनुपर्ने रहेछ ।
म तयार भएर ट्याक्सी बोलाए । साथिहरू बानेश्वरबाट चढ्ने भए । नयाँ कुराको अनुभव लिने उत्सुकतासँगै हामी पुल्चौक पुगेर कलेजभित्र छिर्यौ ।

पुल्चौक इन्जिनियरिङ्ग कलेजको प्राङ्गणमा हजारौ संख्यामा दीक्षितहरू उभिएका थिए । गाउँन अनि स्कार्फमा । यसो हेर्दा कतै-कतै प्राचीन कथाहरूको फिक्सनल क्यारेक्टर जस्तो लाग्ने । उहीँ भेषमा थियौ हामी पनी । मिसियौ उहीँ हुलमा । सबैजना फोटो खिच्नमा, आफ्नो पहिरन मिलाउनमा नै ब्यस्त देखिन्थे । एउटा लक्ष्य पुरा भएको खुसिमा अनुहारहरू चम्किरहेका थिए, राष्ट्रलाई प्रतिनिधित्व गर्ने ति अनुहारहरू । तर मेरो दिमागमा भने प्रश्नवाचक चिन्ह खडा भइ नै रहेको थियो, के हाम्रो देशमा ती दिक्षितहरूले सपना फक्राउने अवसर पाउलान् त ?

उता स्टेजमा कार्यक्रम भैरहेको थियो तर अक्सर सबैजना नै खुसी साट्न, फोटो खिच्न मै मग्न थिए । त्रिभुवन विश्वविद्यालय अङ्कित मायाको चिनो पाएपछी हामी त्यहाबाट निस्कियौं । बाहिर निस्कने क्रममा मेरो आँखा गेटनेर छरपस्ट परेको एउटा फूलको बुकेमा पर्यो । केहिपर धुलोमा उच्छ्वास लिइरहेको एउटा सुन्दर डेजी देखिइयो । अवश्य यो कसैको लागि गुडलकको सिम्वोल बनेर आइपुगेको हुनुपर्छ, कहिँ दुरबाट । कसैले प्रेमपूर्वक पठाएको सुभेच्छा हुनसक्छ । यसरी लत्याइनु हुदैन थियो । लत्याइएछ, किन ? मसँग प्रश्न थियो, उत्तर थिएन । भुइँबाट उठाएँ र, कानैमा सिउरिदिएँ । सोचेँ, के अब त्यो भाग्य मेरो भागमा पर्न आउँछ ? जे सुकै होस् मैले त्यसलाई बेवारिसे छोड्न सकिनँ । घरसम्म ल्याए कानैमा सिउरिएर ।

कोठामा आएपछि घर छोडेपछिको यात्रा झलझली याद आयो । असारको महिना पानी दर्किरहेको थियो । लाग्थ्यो आकाश रित्तिन चाहन्छ । मलाई घरबाट सब कुरा पोको पारेर लिएर जाउ जस्तो लागेको थियो । सम्भव हुने जति लगेजमा कोच्याएकी थिएँ । छोड्नु मन थिएन आमाको अगाँलो तर साथमा भार थियो आफ्नै सपनाको, बाबाको आखाको सपनाहरूको । त्यहि सपनालार्ई पछ्याउदै म निस्किएकी थिएँ घरबाट ।

लामिडाँडा जाने ओरालो जङ्गलभित्रको बाटैभरी उखर्माउलो गर्मीमा आफ्नै सुगन्ध फैलाईरहने बनफूलहरू त्यो समय झरीले निथ्रुक्क भिजेको थिए । अफ्ठ्यारा बाटाहरू हुदैँ बल्ल तल्ल लामिडाँडा पुगेका थियौं । त्यो साल लामिडाडा एयरपोर्ट छेउछाउको लिचिको बोटहरूमा निक्कै लिची फलेका थिए । लिचिको बोट भार थाम्न नसकेर नुहिरहेका थिए । झुप्पाझुप्पा भएर लत्रिएको लिचिको दानाहरूबाट पानीको थोपाहरू तप्किदै थिए । झरी परिरहेको समयमा नै हामी लिचि खान बोटैमा गएका थियौं । ताजा लिचिको स्वाद बेग्लै, बोटमा गएर आफैले टिपेर खानुको अनुभूति अझ फरक ।

भोलिपल्ट हामी उड्न तयार भयौँ । बाल्यकालमा म आकाशमा उडिरहेको प्लेन हेर्दै जमीनमा पछिपछी कुदिरहेकी हुन्थेँ । शायद त्यतिबेला म भविष्यमा पाइलट बन्ने सपना पनि देखिरहेकी हुन्थे होला । ति बाल्यकालिन अनुभूति थिए, कल्पना र सपनाको कुरा थिए, र त सुन्दर थिए । सपनाको दुनियामा उडे जसरि नै यथार्थमा पनि बादलमाथी उड्नु रमाइलो थियो । कहि दुर जादैछु भन्ने अनुभूति निक्कै अनौठो थियो । र, मेरो जिन्दगीलाई नेपाल एयरलाईन्सले केहि समयमै सपनाको सहरमा ल्यान्ड गर्यो । अब वास्तविक जिन्दगी र सपनालार्ई तालमेल गराउनु मेरो मुख्य कार्य थियो ।

सहर कति अनौठो ! कुनै दन्त्यकथामा पढेजस्तै कोलाहलमय, फोहोरको ढङ्गुरले भरिएको । जीवनमा पहिलोचोटी नमीठो गन्ध लाग्यो सहरको गन्ध। म रन्थनिएँ । सम्हालिए । यो क्रम चलिरह्यो ।

सहर जस्तो भएपनि मेरो लागि महत्वपूर्ण थियो कारण मेरो जीवनको महत्वपुर्ण यात्रा त्यहिबाट सुरु हुदै थियो । तर यो सहरको लागि मेरो अस्तित्व नै नगन्य थियो । सपनाहरू त परैका कुरा थिए । म सपना बोकेर भित्रिनु अधि नै सहर कयौं मानिसको सपनाको चिहान बनिसकेको थियो र अन्त्यमा मेरो सपनाहरू पनि यथार्थ बनी फक्रन पाएनन् ।

डेजीको फूललाई मैले आफूलाई मनपर्ने सेरामिक्सको कपमा राखिदिएँ । ओइलाउने डरले फेरि माथिबाट थोरै पानी खन्याएँ र हेरिरहे । कुनै मालीले प्रेमपूर्वक फुलाएको यो फूल, शुभकामना स्वरुप कहि दुरबाट कसैको लागि सजिएर आएको फूलले यसरी लत्याइमाग्नु फूलको लागि सह्य अवस्य थिएन । तर कसरी लत्याइयो ? जसले लत्याएर हिड्यो, उ मानसिक रुपमा कुन हालतमा थियो होला । कसैले लत्याएको फूललाई एउटा बनफूलले सजाउनु बनफूलको भाग्य होला वा बगैंचामा फुलाईएको फूलको दुर्भाग्य ? सोचिरहे ।

बिस्तारै फूल ओइलाउदै गयो । म जान्दछु फुलेपछी ओइलाउनैपर्छ । तर यो तितोसत्य मेरो हृदयलार्ई किन–किन अस्विकार्य छ । सत्य त यहि नै हो बगैंचामा प्रेमपूर्वक फुलाईएको फूल होस या कहि दुर फूलेको बनफूल, दुबैले ओइलाउनैपर्छ । सुकेर झर्नै पर्छ । माटोमा बिलाएर जानैपर्छ । झर्नुपूर्व बगैंचामा फुल्नेहरू केके गर्लान ? के आफ्नो जीवनको अर्थ खोज्लान् ? स्वतन्त्रताको आवस्यकता ठान्लान ? या त अरुकै लागि फूल्लान ? अरुकै लागि सजिएलान र एकदिन उनीहरूबाट चुडिएलान, लत्याइ माग्लान ? यो कुराले मेरो दिमागमा ठाउँ ओगटि नै रह्यो ।

म यस्तै छु हरेक कुरा बढी सोच्ने र एकदम संवेदनशिल पनि । डार्विनको सिद्दान्तले भन्छ “हरेक प्राणीले बाच्नको लागि संघर्ष गर्छ ।” यो सिद्धान्त हरेक प्राणीको जीवनमा लागु हुन्छ तर कसलार्ई थाहा, संवेदनशिल मान्छेहरू बाच्नको लागि कुन हदसम्मको संघर्ष गर्छन् ? उनिहरूलाई अरुलाई नदुख्ने कुराले नि दुखाउछ, दुख्ने कुराले टुटाउछ । एउटा जिन्दगी केहिदिनमै आँखै अगाडि बिलाउदै थियो जसको बारेमा मैले नसोच्ने कुरै भएन । यो समय मैले जिन्दगीको तितो यथार्थलार्ई मनन गरे । लाग्यो, जिन्दगी त सकिन्छ सपनाहरू त के नै हुन र ? एउटा सपनाको अन्त्यसँगै मुर्झाउनु, फेरि सपना देख्न डराउनु अथवा सपनाको अन्त्यले ल्याउने परिणामको कल्पना गर्नु र भयग्रस्त हुनु विवेकपूर्ण हुँदै होइन । तर जीवनको हरेक स्टेजमा विवेकशिल भनिएको मानवले पनि विवकपूर्ण ढङ्गले काम गर्न सक्दैन । मानव विवेकशील प्राणी हो जसकोे विपरित बन्न पनि ऊ सहजै सक्छ । र त अविवेकी बनिदिन्छ । तर हरेक मानवले जिन्दगीमा जब सपना हुदैन, जिन्दगी जिन्दगी रहँदैन भन्ने यथार्थलाई भोगेका/महसुस गरेका हुन्छन । त्यहि यथार्थलाई स्विकारेर फेरि सपनाहरू जन्माउछ्न्, त्यस्लाई पछ्याउन बाध्य हुन्छन् ।

कसैको लागि गुडलकको सिम्बोल बनेर मेरोसामु टुंगिन आइपुगेको सुकिसकेको फूल हेरेर लाग्यो ती भन्दा म भाग्यमानी छु । कम्तिमा आफ्नो जिन्दगी माथिको अधिकार धेरै हदसम्म त छ मलाई । तर टुटिसकेको सपनाको लागि प्रेम गरेको अन्य हरेक चिजलाई नजरअन्दाज गरेर तित्ततापूर्ण जिन्दगी बाच्नु जिन्दगीलाई लत्याउनु सरह थियो कि ? प्रश्न आफैतिर सोझिदै थियो जसकोे उत्तरको खोजिसँगै आफूभित्र कहिकतै जिन्दगी प्रति प्रेम जाग्दै थियो । जिन्दगीलाई सजाउने चाहना पलाउदै थियो ।

धेरैपछी झ्यालको पर्दा उठाएर बाहिरतिर चिहाएँ । बाहिरबाट छिरेको किरणपुञ्जले आँखा तिर्मिरायो । सम्हालिएर हेरेँ । प्रकृतिले शरद ऋतु जन्माइ सकेछिन् । बेलाबखत काम पर्दा बाहिर निस्किए पनि आफ्नै परिवेशको पनि धेर कुरा याद नगरेकी रहेछु । धानको बालाहरू झुल्न थालेछन्, जसमा तप्केको शितको थोपाहरूमा परेको सूर्यको किरणको दृश्य ननियालेको बषौं बितेको थियो जुन दृश्यलाई म खुब प्रेम गर्थेँ । निलो आकाशमा कहिकतै फाट्टफुट्ट बादलहरू थिएँ, सोचे शरद ऋतुमा त बादलहरू पनि वजनबिहिन भएर उड्लान । तसर्थ उनिहरूले बर्षात बनी खस्न नि नपर्ला ? मलाई बादलमाथी नभएर बादल बनी उड्न मन लाग्यो, गहिराइ र उचाइ दुबैलाई नाप्ने चाहना पलायो । यो उडानमा म हलुका भएर उड्दै थिएँ, कारण मसँग सपनाहरू थिएँनन् । न त थियो उडानको कुनै सिमारेखा ! तर थियो उडानको क्रममा भेटिन सक्ने संभावित सपनाहरूलार्ई अङ्गाल्ने साहस ।