January 23, 2022, Sunday
२०७८ माघ ९
1:37:26 pm

कविता: इच्छा

605

अजित उत्सव

तिम्रो कान्छी औंला समाएर
म हिँड्न सकूँ, जूनको घेरैघेरो
तैरिन सकूँ, बैसालु समुद्रका छालहरूमा
निल्न सकूँ, सूर्यको आगो
फन्को मारूँ, पृथ्वीलाई दिनहुँ

Advertisement

मलाई थाहा छ
तिम्रो सामीप्यको ऊर्जाले
म बन्न सक्छु दुनियाँको सर्वशक्तिमान पुरुष ।

तिम्रो छातीमा मैले टाउको अड्याउँदा
लाजले
बन्द गर्दछ जूनले आँखा
मानिसहरू त्यसलाई चन्द्रग्रहण भन्दछन् ।

तिमी अधीर भएर जब फैलिन्छ्यौ ममाथि
म रापिलो बन्छु, तेजिलो बन्छु
लजाएर सूर्य अस्ताउँछ दिनमै
मान्छेहरू त्यसलाई सूर्यग्रहण भन्दछन् ।

तिम्रो आँखाको नानी जत्रै
एउटा अणुबम बनाउन मन छ मलाई
जसमा
प्रेमका लाखौं कणको टकराव होस्
प्रत्येक टकरावमा
प्रेमको विशाल आकाशगङ्गा निर्माण होस्
त्यसलाई म खसाल्न सकूँ
घृणा गर्नेहरूको सहरमा
फैलाउन सकूँ प्रेमका विकिरण
मान्छेका कैयौँ पुस्तासम्म भर्न सकूँ
मानवताको नविकरणीय ऊर्जा ।

तिम्रो कान्छी औंला समाएर हिँड्न सकूँ
खुकुरीको धारमा
मरूभूमिको बालुवामा
सङ्गीतको सातै सुर
राख्न सकूँ, इन्द्रेणीमा पाइला ।

मेरो रहर छ–
सबैको दिलमा प्रेम भर्न सकूँ
हतियार र लडाइँको प्रतिस्पर्धा त्यागेर
जात, वर्ग र भेदभाव छोडेर
मानिसहरू एक अर्काको अँगालोमा बेरिएको
देख्न सकूँ

प्रभु यत्ति भए, मेरो जन्म सार्थक हुनेछ ।

कवि अजित उत्सवको कविता सङ्ग्रह ‘आकाशगङ्गाको किनार’ भर्खरै विमोचन भएको छ । उनै विमोचित सङ्ग्रहभित्रका कविताहरुमध्ये एक कविता हो ‘इच्छा’ ।