December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

कुनै पाठक त यस्तो पनि भेटेको छु, कविता पढेर भावुक हुँदै फोन गर्नुभएको छ :सुमन घिमिरे

1.7K

२० नोभेम्वर १९८२ मा चितवनको रत्ननगरमा जन्मिएका सुमन घिमिरे साहित्यकारसँगै एक सफल पर्यटन व्यावसायी पनि हुन् । उनको ‘मेरो बैँसको क्यालेन्डर’ कवितासंग्रह (२०६८) ‘मौनता’ उपन्यास (२०७३) ‘सुनको टप’ र ‘साइक्लोन अफ फायर’ कवितासंग्रह (२०७८) प्रकाशित छन् । जसमध्ये ‘सुनको टप’ र ‘साइक्लोन अफ फायर’ केहि समयअघि मात्रै प्रकाशनमा आएको हो । यी दुई पुस्तक घिमिरेका तेस्रो कृति र दोस्रो कवितासंग्रहको रुपमा प्रकाशन भएका पुस्तक हुन् । ‘साइक्लोन अफ फायर’ ‘सुनको टप’ कवितासंग्रहको नेपाली अनुवाद हो । विभिन्न संघसस्थाहरूमा पनि आवद्ध घिमिरेको सौराहामा ‘जंगल सफारी लज’ संचालनमा छ । उनीसँग नेपाल मामिलाका लागि सीता तुम्खेवाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

दशवर्षको अन्तरमा दोस्रो कविता संग्रह ‘सुनको टप’ र ‘साइक्लोन अफ फायर’ पाठकमाझ ल्याउनुभयो, समय अभावको कारण हो कि अरु केहि ?
त्यस्तो होईन । कविता संग्रह निस्कन समय लाग्यो तर यो बिचमा उपन्यास “मौनता” ल्याएको थिएँ ।

कवितासंग्रह ‘सुनको टप’ र ‘साइक्लोन अफ फायर’ बारे केहि बताइदिनोस् न ?
सुनको टप ४१ वटा कविताहरुको संग्रह हो । २०६८ देखि २०७८ सम्म लेखिएका प्रतिनिधि कविताहरू यसमा छन् । भुकम्प, नाकाबन्दी, प्राकृति प्रकोप,कोरोना लगायत हाम्रो यो समाज र प्रेमका सुखद र दुःखद अनुभुतिमा रहेका कविताहरू यसमा छन् । ‘साईक्लोन अफ फायर’ यिनै कविताहरूको अनुवादित संग्रह हो ।

Advertisement

‘सुनको टप’ले केलाई इङ्गित गरेको छ ? यसको विम्बात्मक अर्थ के हो ?
नेपाल सरकारले केहि समयअघि जारी गरेको चुच्चे नक्सामा देखिने चुच्चो भागलाई आमाको कानको रुपमा लिएको छु । त्यही कानमा “सुनको टप “ लगाईदिने कुरा कवितामा गरेको छु । वास्तवमा आमाहरू कान बुच्चो कुनै सन्तानले देख्न सक्दैन । आमारुपी नेपाल आमाको कानमा अर्थात थपिएको भुभागमा एउटा सच्चा देशभक्त नागरिकले त्यसको उपयोग गरी त्यहाँ सिर्जना गरेको हेर्न मन भएको कुरा कवितामा गरिएको छ । यो कविताले अहिले थपिएको हाम्रो भुभाग नक्सामा मात्र सिमित नभएर वास्तवमै हाम्रो हुनुपर्दछ भनेर माग पनि गरेको छ ।

‘सुनको टप’ र ‘साइक्लोन अफ फायर’ पाठकले पढ्दैपर्ने पुस्तक हुन् ? किन ?
कुनै पनि सिर्जना पढ्दा पाठकले समय बर्बाद भयो भनेर भन्ने ठाउँ दिनुहुन्न । मेरा यि दुवै कृतिले त्यसो हुन दिदैन ।

‘सुनको टप’ संग्रहलाई आफैले नम्बर दिनुपर्दा १०० मा कति दिनुहुन्छ ? किन ?
गाह्रो प्रश्न सोध्नुभयो । आफूले आफैलाई कसरी स्वमुल्याङ्कन गर्ने ? म त ५० मात्र दिन्छु । । म त अझै पनि कविताको विद्यार्थी हुँ । राम्रो कविता लेख्न प्रयास गर्दैछु । अझैँ धेरै लेख्नु छ मैले ।

पाठक प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ? पहिलो कविता संग्रह र दोस्रो संग्रहबीचको पाठक प्रतिक्रियामा केहि फरक पाउनुभयो ?
मिश्रित प्रतिक्रियाहरू आईरहेका छन् । पहिलो कविता संग्रह र दोस्रो कविता संग्रह दुवै पढ्ने पाठकहरूको प्रतिक्रिया भने एकदमै राम्रो पाएँ । वहाँहरू मलाई मेरो बैंसको क्यालेन्डर भन्दा ‘सुनको टप’ कविता संग्रहमा अझ बढी परिस्कृत पाउनुभएको छ । कुनै पाठक त यस्तो पनि भेटेको छु, एक–एक कविताहरू पढेर भावुक हुँदै मलाई फोन गर्नुभएको छ । त्यस्तो प्रतिक्रिया आउँदा लाग्छ मैले मान्छेको मन छुने कविता लेखेछु ।

तपाइँ सफल व्यावसायी पनि हुनुहुन्छ, व्यावसाय गर्दै साहित्य लेख्दाको अफ्ठ्याराहरू केहि छन् कि ?
खासै अप्ठ्याराहरू छैनन् तर मुख्य कुरा समय व्यवस्थापन निकै गाह्रो छ । मन लागेको समयमा लेख्न सकिदैन । तैपनि व्यवसायलाई निरन्तरता दिँदै लेख्ने कार्यलाई पनि अगाडि बढाउन पाउँदा खुशी लाग्छ ।

साहित्य काठमाडौ केन्द्रित छ भन्छन् नि ? त्यसको असर महसुस गर्नुभएको छ ?
केन्द्र र मोफसलबीचको खाडल जे जती पहिला थियो त्यो अहिले छैन जस्तो लाग्छ । किन कि अहिले विश्वनै ग्लोबल भिलेज बनिसकेको छ । केन्द्रमा हुँदा लेखकहरू अलि बढि चिनिने र पाईने माया पनि अलि बढि हुन सक्छ । मैले वास्तवमै त्यो भोगाई भोगेको छैन ।

राजधानीमा बस्ने वित्तिकै आफूलाई वरिष्ठ साहित्यकारको सूचीमा राख्नेहरूलाई तपाई के भन्नुहुन्छ ?
हा हा हा… त्यस्तो सोच्ने साहित्यकार पनि हुनुहुन्छ र ? यदी कोही हुनुहुन्छ भने मेरो भन्नु त केहि पनि छैन । पछिल्लो समय धनगढी बसेरै रामलाल जोशी ज्युले मदन पुरस्कार पाउनुभयो त !

प्रसंग बदालौं: तपाइँ पर्यटन व्यावसायी हुनुहुन्छ, अहिले व्यावसाय कस्तो चलिरहेको छ ?
कोभिड–१९ पछिको पर्यटन निकै धरासय बनेको छ । व्यवसाय लगभग शुन्यमा छ । विदेशी र स्वदेशी पर्यटकले खचाखच हुने स्थान मरुभूमितुल्य भएको छ । तर, आन्तरिक पर्यटनले हामीलाई व्यवसाय निरन्तरता दिन ढाडस दिएको छ ।

कोभिडले अस्तव्यस्त पारेको व्यावसायिक क्षेत्रका लागि सरकारबाट केहि सहयोग भयो कि भएन ?
जति हुन पर्ने हो त्यो भएन । केहि मात्रामा बैंकका ब्याजको सहुलियत र पुनर्कर्जाको सुविधाले अलि–अलि राहत दिएको छ । तर सबैले यो सुविधा पाउन भने सकेका छैनन् ।

अन्त्यमा तपाइँलाई लागेका केहि कुरा ?
नेपाली साहित्य अन्तराष्ट्रियकरण हुन जरुरी छ । हाम्रा कृतिहरू युरोप, अमेरिका, अष्ट्रेलिया लगायत देशका पाठकहरूले पनि पढ्न पाउनुपर्छ । मूलरुपमा अंग्रेजीमा नलेखिएको भए अब हामी हाम्रो कृतिहरूलाई अनुवाद गराउनेतिर लाग्नुपर्दछ । यसो गर्दा धेरै भन्दा धेरै पाठकबीच पुग्न सकिन्छ ।

सुनको टप’ र ‘साइक्लोन अफ फायर’ कवितासंग्रह विमोचन कार्यक्रम
सुमन घिमिरेको सौराहास्थित जंगल सफारी लज

तस्वीर स्रोतः सुमन घिमिरेको फेसबुक वाल