June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

छिमेकीप्रति [कविता]

200

प्रा.डा. हेमनाथ पौडेल

ओ ! मेरो निकटका छिमेकी,
तिमी मौका छोपेर
मेरो कोठेबारीमा पस्ने नगर !
तिमी पटक पटक
मेरो आँगनसम्मै आयौ
र कहिले बाज बनेर परेबा टिप्यौ
त कहिले स्याल बनेर बाख्रा घिसार्यौ ।

मेरो छिमेकी !
तिमी अहङ्कारी र दम्भी छौ,
तिमी आफूलाई बलवान्
र अरूलाई कमजोर ठान्छौ
अनि विनाअनुमति अरूका बारीमा
निर्लज्ज बाली लगाउँछौ
र सबै मेरो हो भन्छौ,
तिमी पालना गर्दैनौ पञ्चशीलको
र मर्यादामा बस्तैनौ छिमेकीको ।

तिमी अजिँगर हौ, अजिँगर,
पूर्वमा टिस्टा र
पश्चिममा किल्लाकाँगडा मात्र
कहाँ हो र ?
कहिले नालापानी त कहिले कालापानी,
कहिले सुस्ता त कहिले महेशपुर,
कहिले मानेभन्ज्याङ त कहिले टनकपुर,
कहिले मेची त कहिले महाकाली
अनि कहिले लक्ष्मणपुर त कहिले लिपुलेक,
तिमीले नलुछेको ठाउँ नै छैन,
तिमीले नलुटेको पानी नै छैन,
अझै बनाउँदैछौ लुम्बिनी
र भन्छौ बुद्ध पनि मेरै हो ।

ओ ! महाशय,
तिमी किन भुल्छौ
मेरा पुर्खाको विगत र पुरुषार्थ,
अदम्य शौर्य र बलिदानको कथा,
स्वाभिमान र वीरताका गाथा
एवं अगणित बलिदानद्वारा अर्जेको
यो स्वतन्त्रता
अनि पसिना र रगतद्वारा सिञ्चित
यो भूमिको इतिहास ।

तिमीले नभुल्नू !
जसरी पानीमा शीतलता हुन्छ,
अग्निमा ज्वलनशीलता रहन्छ
र सूर्यमा प्रकाश हुन्छ
त्यसरी नै ममा पनि
पुर्खाको रगत र पसिनाले सिञ्चित
अजेय वीरता छ ।

जबसम्म आकाशमा
चन्द्रसूर्य उदाइरहन्छन्,
जबसम्म कोसी, गण्डकी र कर्णालीमा
पानी बगिरहन्छ,
जबसम्म मेची र महाकाली सुक्दैनन्,
जबसम्म सगरमाथा, अपी, सैपाल,
कुम्भकर्ण र कञ्चनजङ्घा
उच्च हिमालहरू उभिरहन्छन्,
तबसम्म मेरो सिर
तिम्रासामु कहिल्यै झुक्दैन ।

म महाकालीको सिरमा
नित्य स्नान गरी
सगरमाथाको ताज पहिरिएर
उच्च हिमशैलहरू
सिरमा राखी
तराईको पटुकी कस्दै
पहाडमा टेकेर
अन्तुको सूर्योदयसँगै
तमोरको पानी पिएर
मेचीमा विश्राम गर्न आइपुग्छु
र उषाकालीन मङ्गल धुनसँगै
दैनिक कर्मपथमा लम्किन्छु ।

तिमी मेरो पाटाबारीमा पस्ने
जतिसुकै निरर्थक प्रयत्न गर,
तिम्रा पालित, पोषित शकुनिले
जतिसुकै षड्यन्त्रका पासा फ्याँकुन्
र तिनका इसारामा दुस्सासनले
मेरी आमाको चीर हरण गर्न खोज्दा
मेरा भीष्मपितामह र स्वयं युधिष्ठिर
जतिसुकै लाचार र अकर्मण्य बनेका किन नहुन्
अनि सत्ताधारी धृतराष्ट्रले
हिजो जतिसुकै स्वाभिमानका
आँखा चिम्लेका किन नहुन्,
म कालापानीको सिर र लिपुलेकमा
स्वतन्त्र नेपालको झन्डा झुक्न दिने छैन ।

ओ, आततायी दुष्ट छिमेकी !
तिम्रा हिंस्रक र लुब्ध आँखा
मेरा अङ्ग प्रत्यङ्गमा नगाढ !
मेरा लुछिएका, चिमोटिएका र काटिएका
अङ्गहरू फिर्ता गर,
कायरले झैँ पछाडिबाट कोपरेर
मेरो अङ्ग नलुछ,
मलाई मेरो देशको
स्वतन्त्रता र स्वाधीनता,
मेरो देशको
सार्वभौमिकता र अखण्डता
प्राणभन्दा प्यारो छ ।

सधैँ सत्ता क्रीडाका खेलमा
तिम्रो कठपुतली
यहाँ गाई मारी गधा पोस्न खोज्छ,
भाइलाई लाक्षागृहमा जलाई
पराइलाई घर मालिक बनाउन
तयार हुन्छ
तर
म तिम्रो चालबाजीदेखि
सधैँ सावधान छु,
तिम्रो कुटिल र निकृष्ट स्वार्थसँग
म सँधै परिचित छु,
म स्वतन्त्रताको समरवेदीमा
होमिन तयार छु,
आफ्नो अस्मिता र स्वाधीनताको
रक्षाका लागि ।

ओ, अज्ञानी अविवेकी छिमेकी !
म तिमीलाई खबरदारी गर्छु,
अब तिमी मेरो कोठेबारीबाट फर्क,
म गाण्डीव उठाउन बाध्य छु,
मेरो धर्ती, मेरो माटो र मेरो भूमि
मेरो स्वाभिमान हो
म कहिल्यै झुक्न दिने छैन ।