July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

कविता ‘जीवनको गीत’

575

जीवनको गीत

महेश पौड्याल

निष्प्राण यी रातहरूलाई
मैले धेरैपल्ट भनें
सत्यवान र सावित्रीको
कथा सत्य हो ।
उनीहरू सबै
सत्यवानहरूमा
सबै सावित्रीहरूमा
घाम देख्छन्
उज्यालो देख्छन्
र डराउँछन् ।
कैयौंपल्ट भनें मैले
आकाश पृथ्वी हो
पृथ्वी आकाश हो
यी दुईको दूरी एक भ्रम हो,
कारण, आकाश शून्य हो
र शून्य जहाँ मिसाए पनि

यसै गरी मैले यी चिसा
रातहरूलाई भनें
जीवन र मृत्युमा केही
भेद हुँदैन—हुन्छ ।
अलिकति उज्यालोको
अभाव हो मृत्यु
अलिकति प्रकाशको
उज्यालो हो जीवन
तर अहँ उनीहरू मान्दैनन् ।
तर जब म मध्यरातमा बत्ती बाल्छु,
उनीहरू कारागारबाट भागेका कैदीजस्तै भाग्छन्
र नारदगङ्गामा हाम्फालेर आत्महत्या गर्छन् ।
ती रातहरू गएपछि
अँध्यारो र उज्यालोको बीचको पर्दा च्यातिएपछि
जीवन र मृत्युको साँध लडेपछि
म मृत भनिएकी छोरीलाई पुनः काखमा राखेर
जीवनको गीत सुनाउन थाल्छु—
“बढ–बढ नानी, पढ–पढ चाँडो
चौधै विद्या कण्ठ गरौला ।”