February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

श्रीमतीको अभावमा पुरुषले भोग्नुपरेको पीडा, एक्लोपन र व्यथाको कथा हो ‘विधुर पुरुष’: आचार्य प्रभा

1.9K

साहित्यकार आचार्य प्रभा हाल अमेरिकामा रहँदै आएकी छन् । प्रवासबाट साहित्य सिर्जनामा कलम चलाइरहेकी प्रभाको यसअघि परदेशबाट (कवितासंग्रह–२०६२), असह्य चित्कार (गजलसंग्रह–२०६९), मायाको नाकाबन्दी (गीतसंग्रह–२०७६) प्रकाशित भएका थिए भने भर्खरै ‘विधुर पुरुष’ लघुकथासंग्रह प्रकाशित भएको छ । यहि सन्दर्भमा नेपाल मामिलाका लागि सीता तुम्खेवाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:

भर्खरै प्रकाशित लघुकथासंग्रह ‘विधुर पुरुष’बारे बताइदिनुहोस् न !
समाजमा महिलाहरूलाई मात्रै निरीह र पीडितको दृष्टिले हेरिन्छ । महिलालाई मात्रै दुःख छ भन्ने जुन किसिमको सोच छ, त्यसको ठीक विपरीत हामीलाई जस्तै पीडा पुरुषलाई पनि छ भन्ने दृष्टिकोणबाट लेखेको यो पुस्तक लेखेकी छु । एउटा पुरुषको श्रीमती बितिसकेपछिको विधुर पुरुषहरूको आफ्नै किसिमको पीडा हुन्छ । श्रीमतीको अभावमा उसले भोग्नुपरेको कतिपय पीडाहरू एक्लोपनको व्यथा, असहजतालाई यश पुस्तकमा देखाउने प्रयास गरेकी छु ।

तपाइँले उठाउनुभएको बिषय ‘रेयर केस’ होला । यसलाई संग्रहको नाम दिइरहँदा महिलामाथी अन्याय हुन्छ कि भन्ने पनि लाग्न सक्ला ?
मैले त्यो सोच राखेर लेखेको हैन । यो सत्य घटनामा आधारित कथा हो । यो एकजना लेखकले मलाई सुनाउनुभएको वहाँको आफ्नै कथा हो । वहाँको भोगाइलाई मैले कथाको रुप दिएकी हुँ । महिलाहरू विधुवा हुँदा बरु सहानुभूति पाउछन्, तर हामी पुरुष विधुर भएपछि अर्कै किसिमको संकट आउने रैछ । एकातिर श्रीमती गुमाउनुको पीडा अर्कोतिर श्रीमती नभएपछि गाउँसमाजमा महिलाहरूले उसको छेउमा जान हुँदैन भन्ने सोच बनाइदिने जस्ता वहाँको भोगाइ रहेछ । हामी सबै महिलाहरू कमजोर छैनौं । श्रीमान बितिसकेपछि पनि हामी कति महिलाहरू मजबुत ढंगले व्यावहार सम्हाल्न सकेका हुन्छौं तर पुरुषहरूको बाहिरी पुरुषत्व जेजे देखिएपनी घरभित्रको व्यावहारिक कुराहरूमा कमजोर नै हुन्छ जस्तो मलाई लाग्छ । त्यसैले यो कथा लेखेकी हुँ । हुन त यो ‘रेयर केस’ नै हो, तर कसै न कसै विधुरको वास्तविक कथा हो ।

Advertisement

यो त खाली एउटा अफ्ठ्यारो र असहजता हो, तर जसरी एउटी विधुवा महिलाले सामाजिक, चारित्रिक रुपमा अवहेलित, अपमानित र निरीह भएर बाँच्नुपर्छ त्यसरी त विधुर पुरुषले बाँच्नुपर्दैन नि ?
मेरो कथामा ती सबै कुरा बिर्सिएर मैले देखेको निरीह पुरुषलाई कथामा उतार्ने प्रयास गरें, जुन शाश्वत सत्य हो । हुन त पुरुषहरूलाई अलिक सहज होला, र कठोर पनि देखिएला ! तर कतिपय पुरुषहरू पीडित र कोमल हुन्छन्, कतिपय नारीहरू कठोर हुन सक्छौं ।

यो तपाइँको चौथो संग्रह हो, यहाँसम्म आइपुग्दा लेखनको गुणात्मकताको हिसाबले आफूलाई कस्तो पाउनुहुन्छ ?
आजभन्दा ३ बर्ष अघि तपाइले मलाई अन्तर्वार्ता लिनुहुँदा आफूलाई साहित्यकार भन्न धक लाग्थ्यो । अफ्ठ्यारो लाग्थ्यो । अब भने म निर्धक्क छु । काव्य विधामा मात्र पुस्तकहरू निकालेकी थिएँ, अब भने आख्यान पनि आएको छ । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रयास गरेकोले अहिले म साहित्यकार हुँ भन्ने कुरामा ढुक्क छु । पहिलाको तुलनामा आत्मविश्वास बढ्दै गएको छ ।

‘विधुर पुरुष’ पुस्तक कभर

सबै विधामा हात लगाउँदा लेखनको गुणस्तरमा चाहिँ कतिको ध्यान दिनुहुन्छ ?
मैले विसं २०३४ सालबाट लेखन क्षेत्रमा प्रवेश गरेको हुँ, जतिबेला १३/१४ बर्षकी मात्र थिएँ । आजभन्दा २०/२५ बर्ष अघिदेखि नै गीत, कविता, नाटक, लघुकथा लेख्ने गर्थें । तर, त्यो समयमा अहिलेजस्तो सामाजिक संजाल थिएन । प्रतिक्रिया लिएर सच्चिन सकिने अवस्था थिएन । म खाममा लगाएर रचना पठाउँथे, ती प्रकाशित हुन्थे । मधुपर्क लगायत राष्ट्रिय स्तरको पत्रीकाहरूमा छापिने गर्थे । त्यो समयमा कसैले प्रतिक्रिया दिने, कमीकमजोरी औल्याउने किसिमको परिपाटी थिएन । अहिले त सच्चिने र सहि सल्लाह सुझाव पाइने माध्यम प्रसस्त मात्रामा भएकोले अहिले म निर्धक्कसँग लेख्छु । त्यो समयमा धेरै कमजोरी थिए होलान् ।

प्रायः साहित्य तथा संगीतकर्मीहरूले आलोचनात्मक सुझाव नसुन्ने गरेको पाइन्छ, तपाइँ कस्तो किसिमको सुझावलाई लिनुहुन्छ ?
सही सुझावलाई स्वीकार गर्छु । प्रसंसाको झुटो धापभन्दा गालीसहितको सुझाव रुचाउछु । र, यस्तै सुझावको अपेक्षा राख्छु ।

आख्यान लेख्न सजिलो लाग्यो कि काव्य ?
साहित्यिक क्षमता सायद जन्मसिद्ध हुन्छ । कर गरेर हुन्न । साहित्यमा एकैपटक आख्यान विधामा हात हाल्न सकिन्न । सुरुवात त मुक्तक, छोटा कविताहरूबाटै गरिन्छ । त्यतिबेला गहन भावको कविता लेख्न सकिन्नथ्यो । तर, जति लेख्दै गयो त्यति अभ्यस्त भइन्छ, र गहन भाव, बिम्ब र प्रतिकसहितको कविता लेखन सुरुवात गर्छौं । आख्यानमा समय लाग्छ । काव्यमा जति आख्यान लेखन सजिलो हुन्न । अभ्यास हुनुपर्छ भन्ने लाग्छ ।

लामो साहित्यिक यात्रा तय गरिसक्नुभएको छ, पछिल्लो पुस्ताका साहित्यकारहरूको साहित्य सिर्जना कतिको पढ्नुहुन्छ ?
अहिलेका लेखकहरूलाई सहज छ । पढ्ने र सिक्ने माध्यमहरू धेरै छन् । हाम्रो समयमा सिमित मात्रामा पत्रपत्रिका र पुस्तक पाइन्थ्यो । त्यसैले होला अहिलेका पुस्ताका लेखकहरूको लेखन, अब्बल र गहन हुने गर्छन् । कतिपय रहरेहरू पनि भेटिन्छन् तर हामीभन्दा अब्बल लेख्ने पाइन्छ र पैसाले लेखक बन्ने परिपाटी पनि छ ।

पछिल्लो समय पूर्ण रुपमा अरु कसैलाई सम्पादन गराएर आफ्नो कृति प्रकाशनमा ल्याउने चलन छ, तपाइले पनि कसैलाई दिनुभएको छ ?
हिज्जे सम्पादन गर्न दिनु छुट्टै कुरा हो तर आफ्नो भावना मारेर म कसैलाई पनि आफ्नो सिर्जनालाई सम्पादन गर्न दिन्न । अहिलेसम्म गरेको पनि छैन । मबाट स्वीकार पनि हुँदैन ।

अन्त्यमा विधुर पुरुष किन पढ्ने ?
यो शिर्षक मात्रै ‘विधुर पुरुष’ हो । यसभित्र सयवटा फरकफरक विषयवस्तुका कथाहरू संग्रहित छन् । समाजमा घटेका घटना, विकृति विसंगतिहरू, महिला हत्या हिंसा, महिलाले महिलालाई दमन गरेको घटना सबै अटाएका छन् । ती कथाहरूबाट पाठकले कुनै न कुनै पाठ सिक्नुहुन्छ ।