February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

मैले नेपालमा पढेको शिक्षा बेलयतमा काम लागेन: लिला सेलिङ माबो

4.8K

नेपालको पाँचथरको ओयाम हाल याङ्वरक–३ मा जन्मिएर पछिल्लो समय बेलायतबाट नेपाली साहित्य सिर्जना गरिरहेकी साहित्यकार हुन् लिला सेलिङ माबो । प्राय बेलायतमा हुने रंगभेद र अल्पसंख्यक विभेदलाई उनले साहित्यमा लेख्ने गर्छिन् । यसअघि ‘लाहुरेनी पीडा’ कवितासंग्रह प्रकाशन गरेकी सेलिङको भर्खरै संस्मरणसंग्रह ‘मेमोअर्ज अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ पाठकमाझ आएको छ । अथर हाउस बेलायतको प्रकाशन रहेको यस पुस्तकलाई गोर्खा महिलाहरुको पहिलो आवाजको रुपमा लिइएको छ । सेलिङ अंग्रेजी, याक्थुङ् भाषामा कविता लेख्ने गर्छिन् भने लेखहरु अंग्रेजीमा लेख्ने गर्छिन् । उनीसँग नेपाल मामिलाका लागि सीता तुम्खेवाले गरेको कुराकानी यहाँ प्रस्तुछ छ ।

भर्खरै पाठकमाझ आएको तपाइँको संस्मरणसंग्रह ‘मेमोअज अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ बारे केही बताइदिनोस् न !
यो अंग्रेजी विधामा लेखिएको पुस्तक हो । यस संस्मरणसंग्रहमा लक लकडाउनमा मैले भोगेका कुरालाई कैद गरिएको छ । यश पुस्तकलाई अंग्रेजी कम्पनी ‘ओथर हाउस डटकम’ ले गत फेब्रुअरी २२ मा विमोचन गरेका थियो । नेपालमा पनि अन्तरक्रिया तथा छलफल कार्यक्रम राख्यौं ।

अंग्रेजीमै लेख्नुको कारण ?
अंग्रेजीमा लेख्दा ‘वल्र्डवाइड’ हुन्छ, सबैले पढ्छन् र बुझ्छन् भन्ने लागेर हो । अहिलेका हाम्रा नेपाली बच्चाहरू प्रायः नेपाली पढ्दैनन् त्यसैले उनीहरुले पनि पढ्लान् कि भनेर कोसिस गरेको हुँ । अर्को कुरा सिक्ने रहर पनि हो ।

Advertisement

पाठक प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
यो पुस्तक अनलाइन, एमाजोन तथा गुगलमा भएको हुँदा सबै पाठकसम्म सहजै पुगेको छैन । पढ्नुहुने पाठकहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । अंग्रेजीमा यो मेरो पहिलो अभ्यास हो, त्यति धेरै आशावादी पनि छुइनँ ।

कतिपय पुस्तकहरू शब्दका भारी मात्रै हुन्छन्, छनौट गरेर मात्रै पुस्तक पढ्नुपर्छ भन्ने पाठकहरूको भनाइ सुनिन्छ, आफ्नो पुस्तकबारे तपाइको धारणा के छ ?
छनौट गरेर पढ्नुपर्ने ‘क्याटगरी’ मा मेरो पुस्तक पर्दैन । यो मेरो पहिलो अभ्यास हो । मैले तथ्यपरक बिषयहरू समेटेको छु । तथ्यपरक विषय छनौटमा नपर्न सक्छन् । लकडाउनको परिस्थिति, विभेदको विषय र विभेदमा परेका गोर्खाहरूको मुद्दाहरूलाई मैले लेखेको हुँ । यो छनौट गरेर पढ्ने पुस्तक नहोला तर प्रयोगमा भने अवश्य आउनेछ ।

पुस्तकमा ती मुद्दाहरूबारे समस्या मात्रै देखाइएको छ कि, समाधानको विकल्प पनि छन् ?
समाधानका पाटाहरू पनि छन् ।

मेमोअज अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ पुस्तक कभर

लेखन कहिलेबाट सुरु गर्नुभयो?
फुटकर लेखहरू त विद्यार्थी उमेरमा पनि लेख्थें, पुस्तक नै लेख्छु भन्ने योजना भने थिएन । त्यसका लागि समय लाग्यो ।

पुस्तक अन्तरक्रिया कार्यक्रममा यहाँले भन्नुभयो– मैले बच्चाहरू हुर्काएपछी पढ्न सुरु गरेँ, र जिरोबाट सुरु गर्नुप¥यो । यसलाई प्रस्टाइदिनोस् न ?
म नेपालमा शिक्षासेवा पास गरेर जागीर खाइरहेको थिएँ । म बेलायत जानेबेला ‘हेड टिचर’ थिएँ । तर मैले नेपालमा पढेको शिक्षा बेलयतमा काम लागेन । म अंग्रेजी शिक्षक तर मैले बोलेको भाषा त्यहाँ बुझेनन् । त्यहाँ अंग्रेजीको लेवल हुन्छ । सबैभन्दा तल्लो लेवलबाट मैले अंग्रेजी भाषा पढ्न सुरु गरेकी हुँ । बेलायतमा ‘सर्टेन लेवल’को अंग्रेजी पास गरेर मात्रै एकेडेमिक कोर्स गर्न पाइने हुँदा मैले पढ्नैपर्ने बाध्यता थियो ।

पढाइ कहाँ पुर्‍याउनुभयो त ?
भर्खरै छोरीसँगै मास्टर्स सकाएँ ।

युरोपमा हुने विभेदहरू बारे बताइदिनोस् न ?
विभेद सबै ठाउँमा हुन्छ । नेपालमा जातीय विभेद भएजस्तै युरोपमा रंगभेद हुन्छ । त्यससँगै अल्पसंख्यकहरू पनि विभेदमा परेका हुन्छन् । त्यस्ता विभेदको चपेटामा गोर्खाहरू पनि परेका छन् ।

व्यक्तिगत प्रश्न सोध्न चाहेँ, शिक्षक सेवा पास गरेर हेडमास्टरको जिम्मेवारी निभाइरहनुभएको थियो, कसरी बेलायत पुग्नुभो ?
ब्याचलर प्रथम बर्ष पढ्दै गर्दा युके आर्मीसँग मेरो विवाह भयो । त्यतिबेला शिक्षक सेवा आयोगको परीक्षा दिइसकेको थिएँ । विवाह पछि नतिजा आयो । म पास भएँ र नियुक्त भएँ । जागीर खाइरहेको थिएँ । अध्ययन पनि गरिरहेको थिएँ । ७ बर्षपछि भने श्रीमानसँगै बेलायत जानुपर्ने भयो र गएँ ।

अन्त्यमा ?
अन्त्यमा पाठकहरुप्रति आभार प्रकट गर्दै अन्य पाठकहरुलाई पढिदिन आग्रह छ । यस संस्मरण गुगल, अमाजोन र मोबाइल लागि किन्डल एप्समा उपलब्ध छ । युकेमा भने नेशनल लाइब्रेरीहरुमा उपलब्ध छ । यो पुस्तक गोर्खा महिलाहरु सम्बन्धि अध्ययन गर्ने उपयुक्त सन्दर्भ सामग्री पनि हो, कतिले प्रयोग गर्नु भएको छ ।