April 25, 2024, Thursday
२०८१ बैशाख १४
1:37:26 pm

अन्तर्वार्ता: सकेसम्म निर्वाचन अघि, नभए पछि नेपालमा समाजवादी केन्द्र निर्माण हुनेछ- गंगा श्रेष्ठ

9.5K

लामो समयसम्मको विवाद पश्चात अन्ततः जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ । यसअघि पटकपटक विभाजनको संघारमा पुग्दै थामिदै आएको जसपा अहिले भने पूर्ण रुपमा विभाजित भएको हो । असार २९ र ३० गते उपेन्द्र यादव पक्षले पर्साको वीरगञ्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको बेला बाबुराम पक्षले काठमाडौंमा विस्तारित बैठक बोलाएपछि संघीय परिषदका अध्यक्ष बाबुरामसहित ९ जना नेताहरुलाई पार्टीले कारबाही गरेको थियो । उक्त कारबाहीलाई आधिकारिक नभएको बताउदै आएका बाबुराम पक्ष समूह अहिले पार्टी गठनको तयारीमा छन् । यहि प्रसंगमा बाबुराम समूहका नेता गंगा नारायण श्रेष्ठसँग नेपाल मामिलाले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

जसपाले कारबाही गरेको हप्तादिन बढी भइसक्यो, तपाइँहरुको राजनीतिक सुई कतातिर घुमिरहेको छ ?
हामी अहिले केन्द्रीय समितिदेखि स्थानीय तहका समितिसम्म तहगत रूपमा सबै समितिहरू पुनर्गठन गरिरहेका छौँ । एकदुई दिनभित्रमा पुनर्गठित समितिलाई पार्टीको नयाँ रुप दिन्छौँ ।

खासमा जसपाले कारवाहीको गर्नुको कारण के हो ? सैद्धान्तिक या व्यावहारिक दुवैपाटो स्पष्ट पारिदिनोस् न ?
जसपा, नेपाल तीन वटा महान सपना साकार पार्न स्थापना गरिएको पार्टी थियो । जस्तैः
१) पार्टीलाई विचारको हिसाबले तेस्रो ध्रुव र शक्तिको हिसाबले पहिलो शक्ति बनाउने ।
२) यस देशमा बसोबास गर्ने १२५ जातजाति र १२३ भाषाभाषीलाई राज्यको हरेक तहमा समान अधिकार, समान अवसर र समान पहुँच कायम गर्न पार्टी र राज्य दुबै ठाउँमा जस्तो समाज त्यस्तै राज्य र पार्टी अर्थात् समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रको जगमा राष्ट्रिय चरित्रको पार्टी बनाउने ।
३) देशलाई बढीमा ३ दशकभित्र अल्पविकसित अवस्थाबाट विकसित र समृद्ध बनाउने ।
तर विडम्बना ! मुख्य नेतृत्वको अदुरदर्शिता, संकीर्णता, क्षेत्रीयतावादी सोंच र स्वैच्छाचारी कार्यशैलीका कारण पार्टी स्थापना भएको ३ वर्ष नपुग्दै पार्टी विखण्डन हुन पुगेको छ । मुख्य नेतृत्वलाई पार्टी निर्माण गर्दाको क्षणबाट क्षेत्रीयतावादी सोंच त्यागेर राष्ट्रिय चरित्रको पार्टी निर्माण गर्ने सोंचसहित पार्टीलाई नेतृत्व प्रदान गर्नोस् भन्यौं । तर उहाँ मधेसभन्दा माथि उठन सक्नुभएन । निश्चय नै उपेन्द्रजी, मधेस जनबिद्रोहले जन्माएका नेता हुनुहुन्छ तर बाबुराम भट्टराईलगायत हामीले उहाँलाई देशकै नेता बनाउन चाहान्थ्यौँ । हाम्रो सदासयता र सहयोगलाई उहाँले सधैं शंकाको नजरले हेर्नुभयो । हाम्रो त्यागलाई उहाँले आफ्नो भाग खोस्न आएजसरी सोच्नुभयो । वास्तवमा यो उहाँको वैचारिक चिन्तनको समस्या हो ।
सारमा भन्नुपर्दा हामी राष्ट्रिय पार्टी मात्रै नभएर राष्ट्रिय चरित्रको पार्टी निर्माण गर्न चाहान्थ्यौँ तर उहाँ आफ्नो विगतको विराशतभन्दा माथि उठन सक्नुभएन । उहाँसँगको पहिलो अन्तर त्यहीँ रह्यो ।

Advertisement

अनि दोस्रो अन्तर ?
उहाँसँगको दोस्रो अन्तर नेतृत्व प्रणालीमा रह्यो । हामी समावेशी सामूहिक नेतृत्व प्रणाली पार्टीमा स्थापित गर्न चाहान्थ्यौँ । कम्तिमा फरकफरक राष्ट्रिय समूदाय वा लिङ्गका ३ जना कार्यकारी अध्यक्ष केन्द्रमा बनाउन चाहान्थ्यौँ । तर उहाँ एकल नेतृत्वको पक्षमा चट्टानी रूपमा उभिनुभयो । समावेशी सामूहिक नेतृत्वले पार्टीमा बहुकेन्द्र जन्माउने र पार्टीलाई गुटहरूको चौतारी बनाउने तर्क गरिरहनु भयो । र, उहाँले समावेशी सामूहिक नेतृत्व नेपालका प्रायः सबै ठुलासाना पार्टीहरूले प्रयोगमा ल्याएको र सबै असफल भएको जिकिर गरिरहनु भयो । आजसम्म नेपालका जतिपनि राजनीतिक पार्टीहरूले बहुअध्यक्षात्मक प्रणाली लागू गरे वास्तवमा त्यो समावेशी सामूहिक प्रणाली नभएर केवल व्यक्तिको व्यवस्थापन मात्रै थियो । त्यसलाई कुनै प्रणाली भन्नै मिल्दैन । यथार्थमा आजसम्म नेपालका कुनै पनि राजनीतिक पार्टीले समावेशी सामूहिक नेतृत्व प्रणाली लागू गरेकै छैनन् । जुन प्रणाली प्रयोग नै भएको छैन त्यसलाई कसरी असफल भयो भन्न मिल्छ ? त्यो उहाँको हास्यास्पद कुतर्क मात्रै हो । आफूलाई सङ्घीयताको मसिहा भन्न रुचाउने उपेन्द्रजीमा एकल नेतृत्वको भोक जागिरहनु निकै दुःखद् कुरा हो ।
उहाँसँगको तेस्रो अन्तर भनेको उहाँमा रहेको अपारदर्शी, संकीर्ण र स्वैच्छाचारी कार्यशैली हो । उहाँले पार्टीलाई सामूहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्तिको रूपमा कहिल्यै स्वीकार गर्नुभएन । त्यसैले पार्टीमा आन्तरिक लोकतन्त्र सधैं देखाउने दाँतजस्तो मात्रै भयो । पार्टीमा आलोचनात्मक चेत भएको सिर्जनशील नेताकार्यकर्ता भन्दा नेताको भजन गाउने भजन मण्डली तयार पार्ने काममा बढी समय खर्चिनु भयो । जहाँ लोकतन्त्र कमजोर हुन्छ, त्यहाँ मालिक र दास जन्मन्छन् । उहाँको अपारदर्शी र स्वैच्छाचारी निर्णयहरूको शृङ्खला हेर्दा उहाँ पार्टीलाई आफ्नो मौजा बनाउन चाहनुहुन्थ्यो भन्ने प्रष्ट हुन्छ ।
मुख्यतः यी तीन कुरामा उपेन्द्रजीसँग अन्तरविरोध रहँदै आयो । पार्टीको नीति, सिद्धान्त र विचारलाई रद्दीको टोकरीमा मिल्काएर पार्टीलाई एकताबद्ध बनाउन पहल नगरी स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा कारबाहीको घोषणा गरेको छ । हामीले त्यो कारबाहीको निर्णय खारेज गर्दै पार्टी पुनर्गठनका लागि प्रक्रियासमेत अघि बढाइसकेका छौँ ।

नयाँ पार्टीको अध्यक्ष बाबुराम भट्टराई बन्न तयार नरहेको समाचारहरु आइरहेका छन्, यो सत्य हो ?
बाबुराम भट्टराईले लामो समयदेखि युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने आफ्नो विचार सार्वजनिक रूपमा राख्दै आउनुभएको छ । नेतृत्व निर्माण र हस्तान्तरण सम्बन्धि नयाँ प्रणाली विकास गर्नुपर्नेमा उहाँको जोड छ । समावेशी सामूहिक नेतृत्व प्रणाली त्यसका लागि उपयुक्त विधि हुनसक्छ ।

गंगा नारायाण् श्रेष्ठ

कुरा प्रष्ट भएन । बाबुराम अध्यक्ष नबने तपाईं अध्यक्ष बन्ने हो ? बजार हल्ला त तपाईं पनि दाबेदार रहेको भन्ने सुनिन्छ नि ?
प्रणाली वैज्ञानिक बनाउने हो, पात्रको कुरा नगरौं । प्रणाली वैज्ञानिक बन्यो भने त्यस प्रणालीले योग्य पात्र खोजेर ल्याउँछ । अहिले हामी प्रणाली वैज्ञानिक बनाउने कुरामा लागिरहेका छौँ ।

ठूला दल भनिनेहरुले दुई दलीय प्रणालीको निम्ति बहस गरिरहेका छन् । यस्तो अवस्थामा अर्को एकथान पार्टी किन थप्न खोज्नुभएको ?
लोकतन्त्रमा दुई दलको मात्रै सिन्डिकेट चल्दैन । पार्टी ऐतिहासिक आवश्यकताले बन्छ र विघटन हुन्छ । कसैले रहर गर्दैमा पार्टी बनिहाल्ने र विघटन हुने हुँदैन । अहिलेका ठूला दलहरूले देश र जनताका आवश्यकता कति परिपूर्ति गर्नसकेको छ, त्यो सबैका सामु छर्लङ्ग छ । वास्तवमा नेपाल लगायत धेरै देशहरूले भोगिरहेका समस्याहरू शासकहरूको अयोग्यताले गर्दा मात्रै होईन । मुख्य कुरा वैचारिक समस्या नै हो । पुँजिवादी र साम्यवादी विचारबाट अघि बढेको विचारले मात्रै देश दुनियाँको समस्या समाधान गर्नसक्छ । त्यो विचार भनेको समुन्नत समाजवाद हुनसक्छ । यी वैचारिक समस्याको निरुपण नभैकन अहिले नै देश द्वीदलीय प्रणालीमा जान्छ भन्नू वाहियात तर्क मात्रै हो ।

आगामी निर्वाचनमा तपाईंहरूको दलले थ्रेसहोल्ड कटाएन भने ?
थ्रेसहोल्डको डरले पार्टी खोल्न बन्द हुँदैन । अहिले ३ प्रतिशत थ्रेसहोल्ड छ, यसलाई बढाएर ५० प्रतिशत पु¥याए पनि पार्टीहरू खुलिरहन्छन । कुरा विचारको हो थ्रेसहोल्डको होइन ।

निर्वाचन एक्लै लड्नु हुन्छ कि गठबन्धन गर्नुहुन्छ ?
त्यसबारे छलफल भैरहेको छ । मेरो विचारमा गठबन्धन नै हुन्छ होला ।

तपाईहरूको पार्टी यही अहिलेको ५ दलीय गठबन्धनमा रहेर चुनाव लड्छ कि एमालेसँग गठबन्धन गर्छ ?
योबारेमा हामी पछि निर्णय गर्छौं । अहिले म यति भन्न सक्छु, गठबन्धन आवश्यकता अनुसार जोसँग पनि गर्न सकिन्छ । अहिलेको ५ दलीय र एमाले गठबन्धनभन्दा तेस्रो गठबन्धन पनि बन्नसक्छ ।

समाजवादी केन्द्रको बहस चलिरहेको छ । यसले राजनैतिक पार्टीको आकार लिन्छ कि राजनैतिक बहस गर्ने थलो मात्रै बन्छ ?
मैले अघि पनि भनिसकेँ, हामीलाई पुँजिवाद र साम्यवादभन्दा अघि बढेको विचार चाहिएको छ । त्यो विचार समुन्नत समाजवाद हुनसक्छ । समुन्नत समाजवादको वैचारिक धरातलमा समाजवादी केन्द्र निर्माण गरिनुपर्ने प्रस्ताव बाबुराम भट्टराईले लामो समयदेखि गर्दै आउनुभएको छ । मलाई लाग्छ, सकेसम्म निर्वाचन अघि, नभए निर्वाचन पछि नेपालमा समाजवादी केन्द्र निर्माण हुनेछ ।