December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

‘किरात, युमा नै किन ? धर्मको नाम त लुङ, खाम जे राखे भयो, तर सर्वस्वीकार्य हुनुपर्‍यो’

२०७८ कार्तिक १४

1.2K

भगिराज इङ्नाम
इतिहासकार तथा पूर्व प्रमुख जिल्ला अधिकारी

साविक इवा –५, हालको आठराई गाउँपालिका ४ तेह्रथुममा आमा चित्रानी पालुङ्वा र बुबा काजिमान इङ्नामबाट भगिराज इङ्नामको जन्म भएको हो । एमपीए तथा एमए सम्म अध्ययन गरेका इङ्नामले २०३६ सालदेखि जागीर खान सुरु गरी २०७१ सालमा धनकुटाको प्रमुख जिल्ला अधिकारी बनेर अवकास लिएका छन् । तेह्रथुम जिल्लाको सुब्बाङ्गी प्रथा (२०७० सहलेखन), लिम्बू जातिको इतिहास (२०७५), लिम्बू जातिको संस्कृतिक झल्कने गीत तथा म्युजिक भिडियो ल्याइसकेका उनले यसै वर्ष लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह ल्याएका छन् । यसै पुस्तकबाट उनले यसवर्षको मदन पुरस्कार हात पारेका छन् । उनै इङ्नामसँग नेपालमामिला डटकमले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

सरकारी सेवामा आवद्ध व्यक्ति, कसरी इतिहास लेखनमा लाग्नुभयो ?
इतिहास लेखन गर्ने क्रममा सर्वप्रथम त सरकारी सेवामा प्रवेश गर्नुपर्दा असाध्यै अध्ययन गर्नुपर्छ । त्यतिबेला विभिन्न किसिमका इतिहासहरू अध्ययन गरियो । सुब्बा प्रेमबहादुर मावोहाङ र भूपेन्द्रनाथ ढुंगेलको ‘नेपाल सक्षिप्त इतिहास’ (२०११), पल्लो किरात लिम्बुवानसम्बन्धि धेरै दस्तावेज संकलन गरेका शंकर राजवंशीको सालमा पुरातत्व पत्र सङ्ग्रह भाग २ (२०१८) मा पल्लो किरातका विजयपुरदेखि लिएर माझकिरातका दस्तावेजहरू समावेश गरेको छ । २०२२ सालमा योगी नरहरिनाथले इतिहास प्रकाशमा सन्धीपत्र सङ्ग्रह भाग १ निकाल्नु भएको छ, त्यसमा पनि लिम्बुवानका धेरैदस्तावेजहरू छन् । २०२४ सालमा इतिहास शिरोमणी बाबुराम आचार्यले श्री ५ बडामहाराजधिराज पृथ्विनारायण शाहको संक्षिप्त जीवनी निकाल्नुभएको छ । त्यसमा पनि पल्लो किरात, माझकिरात र विजयपुरका इतिहासहरू पढ्नुपथ्र्यो । २०३१ सालमा इमानसिंह चेम्जोङले किरातकालिन वियजपुरको संक्षिप्त इतिहास प्रकाशन गर्नुभएको थियो त्यसमा पनि धेरै सुब्बा रायहरूलाई दिएका श्यामोहर छन् ती सबैको अध्ययन गर्नुपथ्यो । त्यसबाहेक मेरा चेप्जुहरू सुब्बा हुनुन्थ्यो । सुभाङ्गी प्रथा सर्दै सर्दै मेरो बुबाहरूले पनि अमाल बसेका, न्याय निसाफ गरेका मैले बाल्यकालेखि देख्दै र पढ्दै आएको थिएँ । सुभाङ्गी प्रथा के हो ? भन्ने कुरा मलाई बाल्यकालदेखि नै थाहा थियो । पढ्दाखेरी पनि सेन राजाहरूले धेरै लालमोहरहरू दिएको देखियो । त्यो देख्दा यस्ता ऐतिहासिक बस्तुहरू र विचार कुनैदिन प्रकाशित गर्नुपर्छ भन्ने मनमा गडेको थियो । जागीरको शिलशिलामा पूर्व माननिय शेरबहादुर इङ्नामसँगको सहलेखनमा ‘तेह्रथुम जिल्लमा सुभाङ्गी प्रथा’ भनेर २०७० सालमा प्रकाशित ग¥यौं । २०७५ सालमा ‘लिम्बु जातिको इतिहास’ मैले प्रकाशित गरियो । यी दुई पुस्तक प्रकाशन गर्ने क्रममा मैले धेरै नै ऐतिहासिक लालमोहोर, स्यामोहोरहरू अनेक प्रकारको दस्तावेज भेटेको हुँदा त्यो चाहीँ समुदाय र राज्यको सम्पत्तीहरू नजानेर या अनविज्ञताका कारण नष्ट भइरहेका छन्, यस्ता सम्पत्ती जोगाएर राख्नुपर्दछ, यसले राष्ट्र या लिम्बुवानको सत्य इतिहास लेख्न पद्दत पुग्छ भन्ने लागेर यो पुस्तक प्रकाशन गरेको हुँ ।

Advertisement

विशेषगरी यहाँको तेह्रथुम जिल्लामा सुभाङ्गी प्रथादेखि लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहसम्म पुस्तकहरू आए, लिम्बू जातिसँग सम्बन्धित भएर खोजअनुसन्धानमा लाग्नुभएको देखिन्छ, लिम्बूजातिकै खोजअनुसन्धानमा यहाँको मोह कसरी जाग्यो ?
सर्वप्रथम त लिम्बु जाती मात्रै हैन, कुनै पनि जातिले सर्वप्रथम त म को हुँ भन्ने आफ्नै इतिहास खोज्नुपर्ने हुन्छ । त्यसपछि मात्रै देश र समुदायको इतिहास खोज्न सकिन्छ । नेपालमा १२५ जातजाती छन् । त्यसमध्ये पल्लो किरात लिम्बुवान जातिको कागजातहरू प्रकाशन भएको छैन । । कारण के हो त ? भन्ने दृष्टिकोणबाट मैले अध्ययन गरेको हुँ । मुख्य त आफ्नो समुदायको कुरालाई उठान गर्ने अनि क्षेत्रीय र राष्ट्रिय इतिहास लेख्न सकिन्छ भन्ने लागेर आफ्नै समुदायबाट सुरु गरेको हुँ ।

इतिहास लेखनमा वास्तविक इतिहासलाई बङ्ग्याइएको कुरा पनि अहिले बहसमा आएका छन्, यसलाई यहाँले आंकलन गर्नुभयो कि भएन ?
समग्र नेपालको इतिहास लेख्दाखेरी शाह राजामहाराजाहरूको मात्रै इतिहास लेखिएको छ । क्षेत्रीय इतिहास पटक्कै लेखिएको छैन । २००९ सालमा इतिहास संशोधन मण्डल भन्ने गठन भयो, त्यसले पनि क्षत्रीय इतिहास लेखेको देखिएन । खाली काठमाडौ वरीपरी राजामहाराजहरूको, सरदारहरूको इतिहास मात्रै लेखेको देखियो । हाम्रो इतिहासमा सबैभन्दा धेरै दस्तावेज पाउने भनेको हाम्रो राष्ट्रिय अभिलेखालय र तत्कालीलन जैशीकोट (हालको परराष्ट्र मन्त्रालय) हो । त्यहाँ कागजातहरू धेरै छन् । त्यो कागजको पहुँज सबैलाई थिएन । भोजपुरका इतिहासकार ज्ञानमणी नेपाल हुनुहुन्छ । उहाँलाई म भेट्न गएको थिएँ । उहाँसँग मैले जैशीकोटको बारे बुझ्ने प्रयत्न गरो । ज्ञानमणी नेपालले भन्नुभयो –“मेरो इतिहास खोजले दरबारको खुशी भएन या सविच खुशी भएन के हो ? एक वर्ष त्यहाँ जान प्रतिवन्ध लगाए ।”

जैशीकोटमा सबैभन्दा नजिकको पहुँच भएको भनेको इतिहास शिरोमणी बाबुराम आचार्य हो । वहाँले जैशीकोटको धेरै कागजातहरू रिफर गर्नुभएको छ, लिम्बुवान, माझ किरातको इतिहासहरू लेख्नुभएको छ । तर मैले इतिहास अध्ययन गर्ने क्रममा कहाँनेर बाङ्गिएको देखियो भने बाबुराम आचार्यका अनुसार जब १८३१ मा पृथ्विनारायण शाहले माझकिरातमा दख्खल पार्दै गए, १८३१ मा लिम्बुवान गए । माझकिरातमा विशाल युद्ध भएको छ । बाह्र तेह्र सय मान्छे मरे । बच्चादेखि बृद्धासम्म, आइमाई केटाकेटी ओखलमा किचेका छन्, ओलनमा हाम फालेका छन् भन्ने इतिहासमा पढ्न पाइन्छ । पल्लो किरात लिम्बुवानमा चाहिँ लिम्बुहरू आएर आत्मसमर्पण गरे भनेर लेख्नुभएको छ । त्यही कितामा ८५ लिम्बूसहित खेद भए भनेका छन् । खेद भए भनेको काटिए भनेको हो । आत्मसमर्पण गर्ने मान्छेलाई गोर्खा सैनिकले त्यति सजिलै बोकाजस्तै काट्यो होला त ? युद्धको नियममा त आत्मसर्मपण गरेपछि काट्ने हैन । त्यो वहाँको किताबमा गलत देखिन्छ । यो पुस्तकमा हाम्रो लिम्बुवानमा पृथ्विनारायाण शाहले आक्रमण गर्नुपूर्व दश हाङ लिम्बुहरू थिए । ५ जना पृथ्विनारायण शाहसँग मिले, ५ जना चाहिँ सिकिमको सहयोगमा विद्रोह गरि नै रहे कुरा इतिहासमा पढेका थियौैं तर प्रमाण थिएन । अहिलेसम्मको इतिहासमा लिम्बुवानको युद्ध १८५२ सम्म भयो भनेर लेखिएको छ । तर यो किताबमा यस्तो कागज छ कि १८८३ सम्म लिम्बुवान र गोर्खाली सेनाविच द्वन्द्व, छापामार युद्ध भएको देखिन्छ । त्यहाँबाट केन्द्रसँग आदान प्रदान गरिएको पत्रमा गोर्खाली सैनिकले लिम्बु लाप्चालाई पक्रिदै काट्यो । उम्केका जति जङ्गल पस्यो भनेको छ । त्यही पत्रमा तल भारदारहरूलाई लिम्बु लाप्चाले काट्यो भनेको छ । यसको मलतब विशाल द्धन्द्ध भएछ । लिम्बुवान सेनाले भेटे लिम्बुवानले सक्ने गोर्खालीले भेटे गोर्खालीले सक्ने । दोस्रो कुरा परराष्ट्रमा भएको १८६३ को एउटा कागज छ त्यसमा गोर्खाली सेनालाई आक्रमण गरी टिष्टामा खाँडो पखालियो भनेको छ । लिम्बु र लाप्चा भनेर जातै तोकिएको छ । त्यहि पत्रमा फेरि अरुण कटायो बैरीले भनेको छ । भनेपछि पहिलोपटक गोर्खाली सेनाले स्वाभिमानी लिम्बु लाप्चालाई खेद्दै लगेर टिस्टा कटायो फेरि टिस्टाबाट लिम्बू लाप्चा सेनाले गोर्खा सेनालाई खेद्दै ल्याएर अरुण कटायो । बाबुराम आचायको कितामान फेरि थप सैनिक पठाएको भनेर लेखेको छ । सैनिक थपेर सिद्धिपुर युद्धमा ३०० बैरी काटिए भनेको छ । बैरी को हो त ? लेम्चा र लिम्बु बैरी भनेर सिधै तोकिएको छ । तेस्रो कुरा १८८३ सम्म महायुद्ध भएको देखिन्छ । अर्थात १८६३ सिद्धिपुरमा ३०० बैरी काटिएको छ भनेपछि यसरी प्रमाणित हुन्छ । यसरी लिम्बुवान इतिहास लेखन र पुनर लेखन गर्न मद्धत गर्छ यस पुस्तकले । उनिहरूले जे इतिहास लेखे त्यहि नै पढ्दै आइयो । त्यसरी लुकाएर राखेको इतिहास खोज्न सक्ने कुरा पनि भएन ।

सौरभहरूले त ‘नभएको किरातकाल’ सम्म लेखिसके । यहाँले पनि त्यस्ता भएका या नभएका कालबारे केही पाउनुभयो कि ?
त्यहि कुरा ठ्याक्कै नपाएपनि यस दस्तावेजहरूमा पल्लो किरात, माझ किरात भन्ने प्रस्ट छ । यदि किरातकाल थिएन भने त्यो कसरी लेखियो ? त्यतिका धेरै पुस्तकहरूमा किन लेखिए छ ? देश तथा विदेशका लेखकहरूले लेखका छन् । किरात शासक वंशावलीमा पनि कतिले २२ कतिले २७ कतिले २८ पुस्ता राज्य ग¥यो भनेकै छ नि ! वहाँले कसरी हेर्नुूभयो थाहा भएन तर किरात थियो या थिएन भन्ने कुरा चाहिँ इतिहासकार धनबज्र बज्राचार्यको लिच्छविकालका अभिलेख (२०३०) हेरे हुन्छ । हनुमानढोकाको तेगुतले मन्दिरमा पाटी छ । त्यहाँ एउटा सानो टेबलजत्रो ढुङ्गामा लेखिएको प्लेट छन् । त्यसमा किरात वर्षधारा…. थियो भनेर लेखेको छ । भनेपछि किरातकाल थियो । वहाँले पछि के प्रुफ दिनुभो वहाँले यो किताब एकपटक हेर्नुपर्छ । थानकोटको भिमार्जुन र विष्णु गुप्ताको अभिलेख छ । यसमा संवत छैन तर लिपिको आधारमा अंशुवर्माको भनेको छ । अंशुवर्मा भन्ने वित्तिकै ६३३ बाट उसको साल सुरु हुन्छ । कसैले २९ भन्छन् तर उस्ताउस्तै हुन आउने रहेछ । एउटा थेसिस गर्नेले नै प्रुफ गरेको छ । त्यस थानकोटको अभिलेखमा सिङ् भन्ने शब्द छ । राई, लिम्बु, गुरुङ, तामाङ आदिले अझैपनि दाउरालाई सिङ् भन्छन् । यी लिम्बु, राई, मगरलाई इतिहासले किरात भनेकै छ । भनेपनि तथ्यमा अझैं देखिएको छ । साथै धनबज्र वज्राचार्यले प्रकाशित गरेको लिच्छवीकालिन शिलालेखमा २५६ वटा शब्द किरानी हुन् भनी प्रा.डा. जगदीशचन्द्र रेग्मीले ‘प्राचीन नेपालको संक्षिप्त किरात इतिहास’मा लेख्नुभएको छ । त्यो शिला अझैं छदैछ । भनेपछि किरात भन्ने कुरामा सौरभजीले मनगणन्ते, तथ्यहिन, आधार नभएको लेखेको हो ।

केहि बोल्यो कि लिम्बुहरूले मनपरी भन्छन् । मनपरी लेख्छन् । त्यहि भएर म चुप लागेर बस्छु । हेरिमात्रै राख्छु । अब तपाइले सोधिहाल्नुभयो मलाई यसैमा गाली आउन पनि सक्छ । तपाइले किरात र युमाबारे सोध्नुभएको हो कि जस्तो लाग्यो । किरात धर्म र जातिबारे मेरो दुईवटा धारणा छन् । एकथरी लिम्बुको किरात धर्म र जाती एउटै हो भन्ने बुझाई छ भने अर्कोथरी लिम्बुको किरात नै हैनौं भन्ने बुझाइ छ ।

अहिले लिम्बू जातिभित्र शब्द, आस्थाका विवाद पनि प्रशस्त बहस भइरहेका छन्, यहाँको अध्ययनबाट केही निचोडका कुरा छन् ?
केहि बोल्यो कि लिम्बुहरूले मनपरी भन्छन् । मनपरी लेख्छन् । त्यहि भएर म चुप लागेर बस्छु । हेरिमात्रै राख्छु । अब तपाइले सोधिहाल्नुभयो मलाई यसैमा गाली आउन पनि सक्छ । तपाइले किरात र युमाबारे सोध्नुभएको हो कि जस्तो लाग्यो । किरात धर्म र जातिबारे मेरो दुईवटा धारणा छन् । एकथरी लिम्बुको किरात धर्म र जाती एउटै हो भन्ने बुझाई छ भने अर्कोथरी लिम्बुको किरात नै हैनौं भन्ने बुझाइ छ । मलाई के लाग्छ भने हाम्रो इङ्नामको वंशावली ५२ पुस्ता भएको छ । त्यो विचमा १ देखि २० सम्म मेरो वंश हो विचदेखि हैन है भनेको जस्तो मात्रै लाग्छ । त्यस्तै किरातबेगर त हाम्रो जरै भेटिदैन । टुप्पाबाट पलाएको भन्नुपर्ने हुन्छ । किरात धर्मको हकमा मेरो विचार अलिक फरक छ । धर्म भनेको समुदायले मान्ने हो, जे नाम दिए पनि हुन्छ । किरात धर्मका संस्थाहरूले एकपटक सामुहिक निर्णय गरे, किरात धर्म लेखियो । युमा साम्यो या जे राख्दा पनि हुन्छ तर त्यो समुदायले मानिदिनुप¥यो । लुङ धर्म, खाम धर्म जे भने पनि हुन्छ । किरातै या युमा नै हुनेपर्छ भन्ने छैन । जात चाहिँ हुनुपर्छ । अहिले किरात र युमालाई डालोमा राखिएको छ नि ? त्यो मेरो विचारमा हैन । किरात जाति फेद हो । अब फेदै किरात भएपछि किरात लेखियो होला त्यो माने मैले । अब अहिले युमा साम्योको कुरा आएको छ । यी दुईविच द्वन्द्व छ । किरात त एकपटक मानेको हो नि २०४७ सालदेखि किरात मानेर त आयौं । अहिले साम्यो भन्नु हुनेले यतिन्जेल के हेर्नुभयो ? के देख्नुभो ? हुन त मैले वहाँहरूलाई दोष लगाउन खोजेको हैन । अथवा किरात धर्म भन्नेहरूले पनि युमा साम्योको कुरा सुनिदिएको भए हुन्थ्यो । अब शब्दको कुरामा हामी किरात, लिम्बु हैन याक्थुङ भन्र्छौं । अहिले जनगणना हुँदैछ । हाम्रो लिम्बुको जनसंख्या २०६८ को जनगणनामा ३ लाख ८६ हजार ३०० छ । अब यो जनसङ्ख्या घट्ने प¥यो । त्यो फारममा याक्थुङ भन्ने महल नै छैन । अब जजसले याक्थुङ लेख्छ त्यो अन्यमा जान्छ । यसो भन्दा मैले हामी याक्थुङ हैन भनेकै हैन । हामी याक्थुङ नै हो । हामीले भनेकै हो । लिम्बुलाई दिइएको जात पनि हो तर हामीले स्वीकार गरेर आएको हो । किरात पनि लिम्बुलाई दिएको हैन । धर्मशास्त्रले दियो । आर्यले दिएको हो । त्यो पनि स्वीकार भयो एक समय । राई भन्यो त्यो पनि स्वीकार ग¥यौं । त्यसैले हामी याक्थुङ् हैनौं भनेको हैन । हामीले के चाहिँ गर्नुपर्छ भने राष्ट्रिय जनजाति प्रतिष्ठान ऐन २०५८ मा ५९ जना सुचीकृत भएका छन् । अब याक्थुङ् भनेर लेख्दा त्यो सूचीलाई के गर्ने ? सुनवारमा हाल्ने कि ? राईमा ? याख्खामा ? देवानमा ? त्यो पहिचान त दिनुप¥यो नि ! त्यो पहिचान कसलाई सोध्छ भने आएर किरात याक्थुङ चुम्लुङलाई । अब किरात याक्थुङ चुम्लुङमा त लिम्बु भनेर छदैछ । गर्नुपर्छ भने के भने मुन्धुम अनुसार पनि हामी याक्थुङ हौं तर सरकारी स्तरमा चाहिँ लिम्बु र याक्थुङ्बा एउटै हो भनेर सुचिकृत गराउन सक्नुपर्छ । त्यो गर्दा लिम्बु÷याक्थुङ भन्न सकिन्छ । तर सुचीकृत गर्नुपर्छ । सुचीकृत गर्नका लागि सरकारले मान्यता दिनका लािग राजपत्रमा प्रकाशित गर्नुपर्छ । राजपत्रमा प्रकाशन गरिए पछाडी आदिवासी जनजाती उत्थान ऐनले पनि सदर गर्छ । करिब वि.सं. १९०० तिर होला हड्सन पाण्डुलीपिमा याक्थुङ भन्ने रैछ । त्यसमा अरुले हामीलाई लिम्बु भन्छन् । लाप्चाले चोङ भन्छन्, लिम्बु आफैले चाहिँ याक्थुङ भन्छन् भनेर त्यसमा लेखिएको छ । त्यो चाहीँ जोभानसिंह फागोद्धारा लिखित हड्शन पाण्डुलिपिमा छ । त्यसैले अब हामीले यसरी विवाद गर्नुभन्दा पनि वहस गर्नुपर्छ ।

राईहरूले सुम्निमा पारुहाङ नमान्ने कोही छ ? अनि उनिहरूले पारुहाङ धर्म भनेर हुन्छ ? सुम्निमा धर्म भनेर हुन्छ ? त्यस्तै युमा विनाको लिम्बु हुन्छ त ? त्यसैले अब यसमा छलफल र वहस गरेर एउटा निचोडमा पुग्नुपर्छ । बरु मुन्धुम धर्म भन्यो भने त्यसमा राई, याखा सबै जोडिन सक्छन् । अर्को हामी प्रकृतिपूजक भएको हुँदा प्रकृति धर्म नभए छलफलबाट अन्य धर्मको नाम दिएर निचोड निकाल्नुपर्छ र विवाद समाधानतिर जानुपर्छ भन्ने लाग्छ । भाइ फुटे गवाँर लुटे भनेजस्तो हुन्छ । त्यसैले फुट्नु हुँदैन ।

७ वर्षसम्मको अध्ययनअनुसन्धान त्यसपछि दुई वर्ष प्रिप्रेसका काम र १३ लाख खर्च भएको कुरा यहाँले विभिन्न सञ्चारमाध्यमलाई दिनुभएको छ, काम गरिरहँदा यसको प्रतिफल हुन्छ नै भन्ने थियो ?
प्रतिफल भनेको के ? पैसाकै हो भने चाहिँ आशा थिएन । पुरस्कारको पनि आशा थिएन । यो हाम्रो समुदाय, क्षेत्र र राष्ट्रको इतिहास हो । अन्तराष्ट्रको पनि हुन सक्छ । यसमा ऐतिहासिक बस्तु छ । हाम्रो राष्ट्रिय अभिलेखालयले २५ वर्षभन्दा पुरानो अभिलेखन गर्ने उसको नियम रहेछ । यो त ३०२ वर्ष भयो । जति पुरानो भयो त्यति दुर्लभ हुने भयो । यो इतिहास जोगाएर राख्नुपर्छ । इतिहास भए देश र समुदाय रहन्छ । आफू को भनेर चिनिन्छ । यस्तो हराइरहेको राष्ट्र र समुदायको सम्पत्तीको संकलन गर्नुपर्नेछ । यो त राज्यले गर्नुपर्ने थियो । जस्तै हाम्रा किरात याक्थुङ चुम्लुङजस्ता संस्थाले गर्नुपर्ने थियो । यहाँ अझैं पनि कति छुटेका छन् । कतिले दिएनन् मलाई । अझैं कोकोसँग छ भन्ने मलाई थाहा छ । मसँग छ भन्छन् दिदैनन् । कसैले भेटेपनि दिएनन् । यो त भावी पुस्तालाई जोगाएर राख्ने नै हो भन्ने सोचेको थिएँ । पुरस्कारको त आसै थिएन । हाम्रो राजकुमार दिक्पाल भाईले पेश गर्नोस् है भन्नुभो अनि पेश गरेँ । पुरस्कार पाउछु जस्तो लागेको थिएन ।

मदन पुरस्कारलाई यहाँले कसरी बुझ्नुभएको थियो ?
मदन पुरस्कारबारे जानकार थिएँ । त्यस पुरस्कारबाट पुरस्कृत अधिकांश पुस्तक पढेको पनि छु । कति किताब कैयौं पटक पढें तर मदन पुरस्कार पाएका भन्ने थाहा नपाएको रैछु । पहिला लोकसेवा पढ्दा कसले, कुन पुस्तकबाट सबै पढेर कण्ठै पार्नुपथ्र्यो । त्यतिबेला मपनि कुनै दिन मदन पुरस्कार पाउछु भन्ने त कल्पना पनि गरेको थिइनँ ।

अवकास जीवनपश्चात त परिवारले ‘रिटायर्ड लाइफ’को फरक योजनाको पनि आशा गरेका हुन्छन् नि ?
मैले परिवारको लागि समय दिएकै छु । परिवारसँग देशविदेश सबै घुमेको छु । नेपाल र भारतका विभिन्न तीर्थ धामहरूमा गएको छु । र, मेरो परिवारले पनि मेरो काममा साथ दिएका छन् । त्यसैले हाम्रो तालमेल मिलेको छ ।

प्रस्तुती :सीता तुम्खेवा