December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

‘सहरमा मेरो पहुँच छैन, त्यो नै निष्पक्षतामाथि विश्वस्त हुने प्रमुख कुरा भयो’ – कविता राई

2.8K

वि.सं. २०७५ सालमा कविता राईको एकल कविता वाचन तथा २०७६ सालमा ‘आमा र जुन’ कविता सङ्ग्रह ल्याएकी कविता राई नेपाली साहित्यिक जगतमा छोटो समयमै स्थापित बनेकी छिन् । उनी २०७८ सालको राष्ट्रिय कविता महोत्सवमा विजेता बनेर साहित्यिक आइडल नै बनेकी छिन् । ‘गुरु’ उपन्यास प्रकाशोन्मुख रहेको छ । टेम्केमैयु–९, पान्धारे, भोजपुरकी कवि कविता राई भोजपुरमै शिक्षण पेशामा आवद्ध छिन् । सानैदेखि साहित्यप्रति रुचि राख्नु हुने कविता राई कक्षा ८ मा पढ्दै गर्दा २०५२ सालको वीरेन्द्र शिल्ड गीति रचना प्रतियोगितामा प्रथम पुरस्कार पाएकी थिइन् । उनी ‘दैवज्ञराज न्यौपाने स्मृति पुरस्कार–२०७६’ बाट सम्मानित भइसकेकी छिन् । प्रस्तुत छ, उनै कविता राईसँग नेपाल मामिलाले राष्ट्रिय कविता महोत्सव र नेपाली कविताबारे गरिएको कुराकानी ।

यसवर्षको कविता आइडल बन्नुभएपछि बधाई कार्यक्रममा व्यस्त देखिनुहुन्थ्यो, अहिले के छ ?
धन्यवाद यहाँलाई । नयाँ उपाधि दिनुभयो कविता आइडल भनेर । मेरा लागि यो गर्वको विषय हो । निश्चय पनि महोत्सव जित्नु चानचुने कुरा होइन भन्ने मेरो बुझाई थियो । नेपाल प्रज्ञा प्रतिष्ठान नेपाली साहित्यको सर्वोच्च सरकारी निकाय हो । तसर्थ यो मानक संस्था पनि हो । यसमा गरिने कविता महोत्सवमा कविताका विज्ञ निर्णायकहरू रहेर मूल्याङकन गरिने भएकोले पनि यसको गरिमा बढी नै छ । म गाउँमा बसेर लेख्ने र राजधानीमा त्यत्रो पहँुच र चिनजान नभएकोले गर्दा पनि मेरा लागि यो अझै ठूलो उपलब्धि बन्यो । तपाईँले भनेजस्तै म राष्ट्रिय कविता महोत्सव २०७८ को विजेता बनेपछि सोचेभन्दा धेरै वधाई कार्यक्रमहरू भए, जसले मेरो जिन्दगी नै रङ्गीन बनाएको छ । भावी जीवनमा केही गर्ने प्रेरणा मिलेको छ । अहिले पनि व्यक्तिगत रूपमा जारी छ वधाई आउने क्रम । केही कार्यक्रम पनि हुने सम्भावना छ । कसै–कसैले त नोबेल पुरस्कार पाएजत्तिकै पो सम्मान पायौ त भनेर पनि जिस्काउछन् । यो मेरो साधनाले पाएको सम्मान हो । खुशी लाग्छ ।

तपाइँलाई आफू विजेता बन्छु भन्ने लागेको थियो ? प्रथम घोषणा हुँदाको क्षणलाई सम्झनोस् न ?
आइन्सटाइनले कुनै पनि कुरालाई अरू कुरासँग तुलना नगर्ने हो भने सबै कुरा उत्तिकै सुन्दर हुन्छन् भन्नु भएको छ । सबै राम्रा कविताबाट मेरो कविता उत्कृष्ट ठहरिएको सत्य हो । मलाई त्यो क्षण सपनाजस्तो लागेको थियो । किन कि हरेक नेपाली कविको महोत्सव जित्ने सपना हुन्छ । तर सबैलाई त्यो सफलता मिल्दैन । मेरो पनि त्यो सपना थियो । तर हुन्छु भनेर यसमा भन्नै सकिन्न । किनकि कविताको मूल्याङकन सापेक्ष हुन्छ । हिसाबको सुत्र मिलेजस्तो जसले मूल्याङकन गरे पनि एकै हुने हुँदैन । यसको मतलव कमजोर कविता पनि राम्रा हुन सक्छन् भन्ने मेरो आशय होइन । राम्रो मध्यबाट उत्कृष्ट छान्न कठिन नै हुन्छ । त्यो दिन भर्चुअलरूपमा भएको कार्यक्रम सकेर म त घरधन्दामा लागेको थिएँ । आधा घण्टापछि निर्णय आउँछ भन्नु भएको थियो । केही भए जानकारी आउला भन्ने थियो । प्रथम नै हुन्छु भन्ने थिएन । सबै कविता सुनि सकेपछि मेरो कविता पनि शक्तिशाली नै छ है भन्ने लागेको हो । तर तेस्रोसम्म हुन पाए हुनेजस्तो लागेको थियो । यो किन पनि भने जब कार्यक्रममा निर्णायकको नाम सुनँे मैले डा.हेमनाथ पौडेल सरबाहेक कसैलाई चिनेको थिइनँ । यसैपनि म केही हुँदिनँ होला भन्ने लागेको थियो । कार्यक्रम सकिएको एकघण्टा पछाडिजसो बुङ्वाखा पत्रिकाका सम्पादक पदम वालाहाङ सरले फोन गरेर बधाई दिनुभयो । म के भइछु भनेर सोध्दा प्रथम भनेर सूचना आयो भन्नुभयो । हो साँच्चिकै ! त्यो क्षण मेरो जीवनको एकदमै खुशीको क्षण थियो । आमाबाबालाई सम्झेर रुन मन लागेको थियो । किन कि मेरो मुख्य प्रेरणाका स्रोत नै मेरो आमाबाबा हुनुहुन्थ्यो ।

Advertisement

भविष्यमा कविता लेख्छ भनेरै अभिभावकले कविता नाम राखिदिएका थिए कि ?
होइन, मेरो पण्डितले लेखेको चिना छ । म जन्मेर न्वारान गरिसकेपछि बाबाले गाउँमै भीमलाल ढकाल पण्डितलाई लेखाउनुभएको रे । त्यस अनुसारको मेरो नाम नेत्र कुमारी हो । सानोमा घरमा बोलाउने नाम काले थियो कसैले पनि नेत्रकुमारी भन्नुहुन्थेन । मेरो नाम कविता रहेको दिन मेरो स्कुलको पहिलो दिन हो । मलाई बाबाले घरमै क, ख पढाएर छ वर्षको भएपछि स्कुल पठाउनुभएको हो । जब म मेरा माहिली र साहिँली दिदीसँग पहिलो दिन स्कुल जाँदै थिएँ । घरभन्दा पर खेतको बाटोमा पुगेपछि बाबाले माहिली दिदीलाई घरबाट बोलाएर बहिनीको नाम कविता लेखिदे है भन्नुभयो । दिदीले स्कुलमा मेरो नाम कविता राई लेखाइदिनुभयो । त्यसपछि म कविता बनेको हुँ । कविता लेखोस् भनेरै त होइन होला सायद कोही कविता नाम गरेको राम्रो मान्छे बाबाले चिन्नुभएको थियो होला र मलाई त्यस्तै होस् भन्ने चाहेर यो नाम राखिदिनुभएको होला । मैले यसबारे बाबालाई कहिल्यै सोधिनँ रहेछु ।

राष्ट्रिय कविता महोत्सवभन्दा अघि र पछिको समयमा केहि भिन्नता पाउनुभयो ?
धेरै भिन्नता छ । अहिले कविता लेख्न नै डर लाग्छ । राम्रो लेख्नुपर्छ भन्ने दबाब महसुश हुन्छ । जता पायो त्यता बोली हिड्न डर लाग्छ । अग्रज, अनुज, परिवार, समाज, साथीभाइले हेर्ने नजरमा नै फरक आएको छ । जिम्मेवारी बढेको महसुस भएको छ ।

सरकारी साहित्यिक संस्थाले नयाँ उठेका साहित्यिक बहसहरूलाई मान्दैन भन्छन् नि ?
कस्ता–कस्ता बहसको कुरा गर्न खोज्नुभएको हो यहाँले त्यो पनि प्रष्ट पारी दिनुभएको भए राम्रो हुनेथियो । यो कतिपय सन्दर्भमा हो पनि । सँधै एउटै कुरालाई मानक मानिरहनुपर्ने । सरकारी साहित्यिक संस्थालाई मात्रै नभनौँ कतिपय मूलधारको प्रतिनीधित्व गर्ने हुँ भन्ने संस्था तथा निकायहरूले पनि साहित्यमा आएका नयाँ चिन्तन, नयाँ विषय सौन्दर्यलाई वेवास्ता गरेको देखिन्छ ।

प्रज्ञाले दिने पुरस्कारहरूमा प्रायः विवादित हुने गर्दछन्, यहाँले यो समस्या भोग्नुभयो कि भएन ?
यो वर्ष विवादरहित भयो भनेर सबैले भन्नुभएको छ । कविताको विषयलाई लिएर कुनै पनि टिका टिप्पणी आएन भनेको सुनियो । मिडियामा पनि पढ्न पाइएन । यो मेरा लागि खुशीको कुरा हो । अहिलेसम्मकै सबैभन्दा बढी मिडियाले कभर गरेको भनेर वधाई दिनेहरू पनि हुनुहुन्छ ।

जब आफैँ पुरस्कृत हुनुभएपछि निष्पक्षताबारे कतिको प्रष्ट हुनुभयो ?
म त गाउँमा केटाकेटीसँग ढुङ्गामाटो खेल्दै, झारपातसँग पौँठेजोरी खेल्दै, खोलानाता, पहाडपखेरासँग सुसेली खेल्दै गाउँमा बसेर लेख्ने कवि हुँ । निर्णायकज्यूहरू चिनेको थिइनँ भनेर अघि नै भनिसकेँ । शहरमा मेरो के पो पहुँच छ र ? नेपाल प्रज्ञा प्रतिष्ठानको निष्पक्षतामाथि म चाहिँ पूर्णरूपले विश्वस्त बनेँ । अरु सालमा के भयो त्यो मैले जान्ने कुरा पनि भएन ।

विद्यार्थी जीवनमा के कति प्रतियोगितामा भाग लिनुभयो र पुरस्कृत हुनुभयो ?
थुप्रै प्रतियोगितामा भाग लिएँ र प्राय पुरस्कृत नै हुन्थेँ । २०५२ सालमा म आठ कक्षामा पढ्दा मैले लेखेको गीतले भोजपुर जिल्लाव्यापी विरेन्द्र शिल्ड जितेको थियो । त्यही साल रेडियो नेपालमा कथामा प्रथम बनेको थिएँ । क्याम्पस पढ्दा जिल्ला स्तरीय प्रतियोगिताहरू जितेको छु । अन्य साना प्रतियोगितामा पनि सफल भएको छु ।

प्रस्तुतिः सीता तुम्खेवा