December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

प्रेम, विवाह र यौनलाई एउटै टोकरीमा हाल्ने सत्ता र सोचको म खुलेर बिरोध गर्छु – आश्मा अर्याल

2.3K

कविता र आख्यानसँगै संगीत र समाजसेवामा निरन्तर लागिरहेकी व्यक्ति हुन्, आश्मा अर्याल । ललितपुरको कुसुन्तिमा बस्दै आएकी उनी हाल झंकार कलाकेन्द्रकी संस्थापक, संचारकर्मी, डिमारिका अभियानकी अभियन्ता र बिद्यालयको पहुँच बाहिर रहेका गम्भीर प्रकृतिका अपाङ्गता भएका बालबालिका तथा युवाहरूकी शिक्षिका समेत हुन् । प्रस्तुत छ नेपाल मामिलाका लागि सीता तुम्खेवाले उनिसँग गरिएको कुराकानी ।

***

साहित्यकार, संगीतकर्मी, संचारकर्मी, समाजसेवी, मोटिभेसनल स्पीकर, उद्धघोषक कुन नामबाट सम्बोधन गर्नु तपाइँलाई ?

Advertisement

खासमा मैले पहिचानको ल्रागि जीवनमा केही पनि गरिन । न त लेख्न सक्छु भन्ने लागेर लेखेँ, न त गाउन सक्छु भन्ने लागेर संगीत सिक्न गएँ । रहरमै बोलेँ र खै किन हो अरूको दुख र सुखमा आफूलाई उभ्याएर हेर्दा भित्रैबाट पुलकित भएँ । त्यसैले सायद, म सबैभन्दा पहिला आश्मा हुँ । मलाई जीवन्त भएर आफ्नै लयमा हिँडिरहनु छ । उदेश्यले तय गरेको यात्रा मलाई साह्रै निरस र साँघुरो लाग्छ ।

डिमारिकामा सक्रिय देखिनुहुन्छ, डिमारिकाबारे बताइदिनोस् न ?

डिमारीका सबैभन्दा पहिला त मनिषा गौचन दिदी र मेरो मायाको निशानी र हाम्रा साझा सपनाहरूको एउटा क्यानभास हो । त्यसपछि यो एउटा अभियान हो, जहाँ कला, साहित्य, संगीत र शिक्षामा सपना देख्नेहरू आफ्ना सपनाहरू लिएर हामीसँग जोडिन सक्नुहुन्छ । यसर्थ यदि ती सपनाहरू हामीले कोरिरहेको चित्रसँग मिल्ने किसिमका छन् भने हामी जोसँग पनि सहकार्य गर्न सक्छौँ । हाम्रो अभियानमा कल्पना श्रेष्ठ ’कल्पपुन्ज’ दिदी सुरूदेखि नै जोडिनु भएको छ र अरू थुप्रैले सहयोग गर्नुभएको छ ।

तपाइँ आफै संगीत गुरू पनि हुनुहुन्छ, गीतहरू रेकर्ड भएका छन् ? कतिवटा भएका छन् ?

मेरो आफ्नै आवाजमा चाहिँ एउटा मात्र गीत रेकर्ड भएको छ तर मेरो संगीत र मेरा विद्यार्थीहरूको आवाजमा चाहिँ अहिलेसम्म ४ ओटा गीतहरू रेकर्डेड छन् । एउटा सामुहिक दशैँ गीतमा पनि मेरो आवाज छ ।

उपन्यास लेखन कहाँ पुग्यो नि? कहिलेसम्म पाठकमाझ आइपुग्ला ?

लेखेका सबै कथाहरूले आफूलाई नछुने रहेछन् । त्यसो त आफूलाई नछुँदा नछुँदै अरूको कथा अरूकै लागि लेख्नु नै सबैभन्दा ठूलो गल्ती र आफ्नै कमजोरी बन्दोरहेछ । मैले यहाँले सोध्नुभएको उपन्यास लेख्दा पनि यही गल्ती गरेँ भन्ने लाग्छ । पाण्डुलिपि छ तर प्रकाशित गर्छु गर्दिन टुङ्गो छैन ।

नेपालमा ब्रेल लिपिमा पनि साहित्य लेखिइने चर्चा सुनिएको छ, ब्रेल साहित्य लेख्नेहरु संगठीत हुनुभएको छ कि छैन ?

पहिलो कुरा, ब्रेल लिपिमै लेख्ने र दृष्टि सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरूमा आफ्ना कृतिहरूको पहुँचको लागि लेख्ने २ थरी ट्रेन्ड कै बीचमा दुरी छ । ब्रेलमा लेख्ने दृष्टिविहीन व्यक्तिहरूलाई साहित्यकार लेखक मान्न हिचकिचाउने जमात नै ठूलो छ । एक–दुई जना अपवादको उदाहरण दिएर के गर्नु र ? यहाँ त मान्छेहरूको सोच नै लाज लाग्दो छ ।

तपाइको शारीरिक अपाङ्गता र त्यसमा पनि महिला हुनुलाई लिएर सम्बन्ध बनाइरहन नचाहने व्यक्तिहरू भेट्नुभएको छ ?

भेटेकी छु । तर त्यस्ता मान्छेहरू देख्दा मलाई दया लाग्छ । ती भित्रभित्रै कति खुम्चिएका हुँदा हुन् विचरा ! होइन भने प्रेमभन्दा ठूलो जाबो मेरो एउटा सेतो छडी हुन सक्ला र ? देख्नेहरूसँग त आँखाको इशाराले प्रेम दर्शाउँदा भयो तर मेरो हात समाएर म सँगै हिँड्न त हिम्मत चाहिन्छ र यत्रो ठूलो संसारमा सबैले आफूले चाहेजस्ता आफूलाई बुझ्ने मान्छेहरू भेट्न सक्छन् पनि ।

प्रेम गर्नु र स्वीकार्नुमा केही अन्तर देख्नुहुन्छ ?

नस्वीकार्नेले प्रेम नै गर्दैनन् भन्छु म त ।

तपाइँका संगीतका प्रोडक्टहरूको सफलताबारे बताइदिनुहोस् न ?

यो समयले बताउला, बताएको पनि छ । यति जना यहाँ पुगे र यस्ता भए भनेर मैले भन्नुभन्दा पनि ती सफल भएको महसुस गर्नेहरूले नै दिऊन् यो प्रश्नको उत्तर । सफलताको श्रेयमा सानो ठाउँ मात्र पनि दिँदैनन् भने पनि केही गुनासो छैन र हुने पनि छैन किनकि अरूलाई केही बाँड्नु भनेको सागर हुनु हो, लहराहरू आउँछन् जान्छन्, यही हो जिन्दगी ।

अहिले झंकार कला केन्द्रमा कस्ताकस्ता विद्यार्थीहरू संगीत सिकिरहेका छन् ? दृष्टिविहिन र अन्य विद्यार्थीहरूलाई संगीत सिकाउदाका भिन्नता केहि छन् ?

नदेख्नेले खोलेको इन्स्टिच्युटमा नदेख्नेहरू नै सिक्न आउँछन् भन्ने कतिपय मान्छेहरूको सोच हुने रहेछ । मलाई भने यसमा केही भन्नु नै छैन किनकि मसँग ३ वर्षदेखि ७२ वर्षका किसिम किसिमका विद्यार्थीहरूलाई सिकाएको अनुभव छ । जम्मा एकजना विद्यार्थी छिन् दृष्टिविहीन र हुइलचेयर युजर, त्यो पनि उनी आएकी होइनन् म आफैँ उनको गलाबाट प्रभावित भएर उनलाई सिकाउन गएकी हुँ, अहिले पनि सिकाउँछु, आँखा र संगीतको कुनै पनि सम्बन्ध कदापि हुँदैन ।

प्रथमपटक मैले तपाइँलाई होटल याक एन्ड यतिमा कार्यक्रम होस्ट गरिरहेको देखेको थिएँ, उमेरले टिनएजर हुनुहुन्थ्यो । मन्त्रीहरूको उपस्थिति रहेको सो कार्यक्रममा तपाइँको उद्धघोषण क्षमता देखेर म मात्रै हैन सबै चकित थिए । तपाइँमा यस्तो कन्फिडेन्स कसरी आउँछ ?

म कस्तो छु त्यो मुल्याङ्कन व्यक्तिहरूको आ–आफ्नै होला तर म चाहिँ आफूलाई सबैभन्दा धेरै प्रेम र विश्वास गर्छु । सायद यही कारण म भित्रको म बलियो लागेको हो कि यहाँलाई ?

कति दृष्टि भएर पनि आफै अन्धाकारमा हुन्छन्, कति दृष्टि नभएर पनि उज्यालोमा हिड्छन्, अरुलाई पनि उज्यालो छर्छन् , वास्तवमा ‘दृष्टि’ प्रतिको तपाइँको बुझाइ कस्तो छ ?

मेरो लागि दृष्टि भ्रम हो । एउटालाई राम्रो लागेको कुरा अर्कोलाई ठिकै या साह्रै नराम्रो पनि त लाग्न सक्छ ! फेरि उज्यालो भनेको प्रकाश मात्र अनि अँध्यारो भनेको कालो मात्र पनि त होइन । कालोको विपरित सेतो हो भन्ने कुरामा म कुनै तथ्य या तर्क भेट्दिन ।

शारीरिक अपाङ्ताप्रतिको तपाइँको दृष्टिकोण कस्तो छ ?

जसरी कोही दुब्लो, मोटो, अग्लो, होचो, कालो, गोरो या अरू जेसुकै अवस्थाको हुन सक्छ, त्यस्तै शारीरिक अपाङ्गता पनि एउटा अवस्था मात्र हो ।

मेरो बुझाइमा तपाइँलाई शारीरिक अपाङ्गता भएकाहरूलाई ‘विचरा’ भनेको मन पर्दैन, वास्तवमा उनिहरूप्रति आम मानिसको दृष्टिकोण कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

सहज र सबै मान्छेलाई जसरी हेरिन्छ, त्यस्तै दृष्टिकोण हुनुपर्छ अपाङ्गता र अपाङ्गता भएका व्यक्तिहरू प्रति पनि । कुनै फरक या विशेष दृष्टिको अलिकति पनि खाँचो छैन ।

तपाइँका पढाइ कता पुग्यो ?

अङ्ग्रेजी भाषा र साहित्यमा मास्टर्स लेभलमा पढ्दै छु ।

प्रेम प्रस्तावहरू कतिको आउछन् ? प्रेम, विवाहलाई तपाइँ कसरी लिनुहुन्छ ?

प्रेम प्रस्तावहरू धेरै आए र आउन सक्छन् अझै पनि । भर्खर २३औँ बसन्तमा जो छु । तर प्रेम, विवाह र यौनलाई एउटै टोकरीमा हाल्ने सत्ता र सोचको म खुलेर बिरोध गर्छु किनकि प्रेम गर्दैमा अनुबन्धितसम्म पनि हुनैपर्छ भन्दिन म ।