April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

‘लाटो पहाड’ कथासंग्रहका १/२ वटा कथा फेरि लेख्न पाए हुन्थ्यो जस्तो लाग्छ: उपेन्द्र सुब्बा

7.7K

कोरोना भाइरसको महामारीका कारण कतिपय क्षेत्रहरू प्रभावित वनेका छन् । कोरोना कहरबाट आर्थिक, सामाजिक, शैक्षिक लगायतका क्षेत्रहरू सबैभन्दा धेरै मारमा परेका छन् । साहित्यिक क्षेत्र पनि महामारीको प्रभावमा नपरेको भने होइन, तर यो अवस्थामा सर्जकहरू त्यति फुर्सदिला पनि देखिदैनन् । यो अवस्थालाई केही साहित्य सर्जकहरूले सृजनाको उत्तम अवसरका रुपमा लिने गरेका छन् । यही अवसरमा नेपाल मामिलाले चर्चित कथासंग्रह ‘लाटो पहाड’ का लेखक उपेन्द्र सुब्बासँग नेपाली साहित्यको विषयमा गरेको कुराकानी ।

🔹पछिल्लो व्यस्तता के मा छ कविज्यू ?
हा.. हा.. अहिले त लकडाउनको समय छ । दिनभर बस्यो यताउता त्यस्तै चलिरहेको छ ।

🔹साहित्य सृजनाका लागि यो अवस्थालाई अवसर पनि भनिन्छ नि । तपाइले यो अवसर कसरी व्यतीत गर्दै हुनुहुन्छ ?
अँ त्यस्तो चाहिँ मेरो भएन । अन्य साथीहरूको चाहिँ कस्तो भयो थाहा भएन, मचाहिँ यो समयमा लख्न सकिनँ, न त पढ्न नै सकिरहेको छु । सामान्य तया चलचित्र हेर्दैछु । चलचित्र पनि त्यत्ति सिरियस खाले हेर्न नसकेर हास्यव्यङ्ग्य चलचित्रहरू हेरिरहेको छु ।

Advertisement

🔹तपाई त सबै खाले पाठकहरूले रचाएका कवि हुनुहुन्छ, खासमा लेखन सृजनामा कुनै कुराको प्रभाव आकर्षण चाहिन्छ कि जुनै समय पनि सृजना गर्नुहुन्छ ?
म त दिमागमा बोक्दा बोक्दा १०/१२ वर्ष पो बोक्छु त । लेखनमा चाँही मेरो बानी कस्तो छ भने फाट्टफुट्ट लेख्ने चलन छैन । मुड चल्यो भने १/२ महिना लेख्ने चलन छ । तर जतिखेर र जहाँ पनि लेख्न सक्ने कवि नै होइन म । अनि त्यो लेखक नै होइन म । एउटा कविता सोचेर हिड्ने चलन छ, अनि त्यसो गर्दा चाहिँ दिमागमा बसिराख्दछ । खासमा म उपयुक्त समयमा सृजना गर्ने गर्दछु । यो चाहिँ मेरो पुरानो बानी हो । मैले कविता संग्रह वनाउँदा चाहिँ नियमित १र२ महिना बसेरै लेखेको कविताहरू मात्र छन् । ३०/४० वटा कविता लेखेको अनुभव छन् मसँग ।

🔹कवि, लेखक, निर्देशक, गीतकार यति धेरै परिचय र बाटो छन् तपाईसँग । तर, तपाई किन एउटा क्षेत्रमा अडिग रहन सक्नु भएन ?यो तपाइको आचरण कि अवसरको प्रभाव हो ?
त्यो चाँही ममा एउटा विशिष्टता नहुनुले होला । किन भने म सन्तुष्ट नभएर पनि होला । जस्तो कि कविता लेखेँ सधैँभरी लेख्न सक्दिनँ जस्तो लाग्यो, कथाहरू लेखेँ त्यसमा पनि उत्कृष्ट बन्न सक्छु जस्तो लागेन, अनि चलचित्रको कुरा त रोजिरोटीसँग जोडिएको कुरा हो । तर चलचित्रको कुरा चाहिँ लेख्दा लेख्दै कुनै कुनै विषयहरू रहे जुन म पनि गर्न सक्छु भन्ने रहरले मात्रै मैले चलचित्र निर्देशन गरेँ । तर त्यो पनि कोरोनाको महामारीले गर्दा हलहरूमा प्रदर्शन गर्न सकेको छैन । कोरोना कहर सकिएपछि प्रदर्शन गरेर दर्शकहरूको प्रतिक्रिया चाहिँ लिने छु ।

🔹तर तपाइले जुन क्षेत्रमा हाल हाल्नु हुन्छ सफलता त पाइराख्नु भएको छ नि त ।
चर्चा ठूलो कुरा होइन रहेछ । मलाई पनि पछि थाहा भयो चर्चा या पुरस्कारहरू ठूला कुरा होइनन् रहेछ । आत्मसन्तुष्टि नै ठूलो लाग्यो । आफ्नो लेखनमा सन्तुष्टि भएन मलाई । अन्य साथीहरूको सृजना हेर्दा म आफैँ कवि हुन त्यति लायक मान्छे होइन रहेछु कि क्या हो भन्ने आभाष भयो । तर सामान्य कविताहरू पाठकले मन पराइदिए, त्यसमा मत खुसी नै छु । २/४ वटा कविताहरू छन् पढ्न लगाउँछन् करकापले पढ्ने गरेको छु ।

🔹चलचित्रका कुरा गरौँ कविज्यू, कबड्डि कबड्डि चलचित्र निकै चर्चामा रह्यो । त्यसभित्रको एउटा रमाइलो पत्र झाँक्रीको परिवेशमा तपाईलाई दर्शकले पाए । र, एक पटक तपाइ फेरि आम दर्शकसामु झाँक्रीको उपनामले चिनिन थाल्नु भयो । त्यो उपनामसँग तपाई कति सन्तुष्ट हुनुहुन्छ ?

हाहाहा…. यो कुनै कुनै लोदरे मान्छे भइँदो रहेछ कि क्या हो, त्यस्तै लोदरेमा एउट म पर्छु । अब चलचित्र लेखन क्षेत्रमा चाहिँ म निर्देशक रामबाबु गुरुङको संगतमा मात्र आएको हूँ। अहिले पनि मसँग त्यस्तो चिनजान छैन चलचित्र क्षेत्रका मान्छेहरुसँग । मेरो सानो पेरिफेरी छ, त्यसभित्र काम गर्छु, उहाँहरूले पत्याउनु हुन्छ, मलाई काम गर्न पनि सहज छ । अब, कबड्डी सिरिजचाहिँ रामबाबु र मैले लेखेको हो । चलचित्र छायाङ्कनका क्रममा झाँक्री र लामाको पात्र उभ्रेको थियो । त्यसमा डाइलग पनि लेखेको थिएन । त्यसमा रामबाबुले मलाई म लामाको गर्छु तिमी बुढा झाँक्रीको गर्नू भनेपछि यसो सम्झेँ एक सिन त हो म गरिहाल्छु नि भने, र रहरमा गरियो पनि । कबड्डी कबड्डीमा चाहिँ के भएको हो भने नेपालको कुनै क्षेत्रमा घटेको सत्य घटनालाई सचेतनाका लागि चलचित्रमा उतार्ने क्रममा त्यो सिन मैले गर्नु पर्ने भयो ।

🔹तपाईलाई झाँक्री भनेर बोलाउदा चाँही कस्तो लाग्छ ?
मलाई पहिलेचाहिँ झाँक्रीभन्दा भयङ्कर रिस उठ्थ्यो । तर पछिचाहिँ मैले पचाँए हौँ हाहाहा… किन भने विदेशतिर मलाई के सजिलो भयो भने कविता वाचन गर्दा दर्शक चाहिँ भयङ्कर पाँए । जस्तो झाँक्री हेर्न आउने दर्शकहरूलाई कविता सुनाएर पठाएँ । मलाई फाइदै भयो त्यसकारण । अनि पछि चाँही यस्तै हो भन्ने लग्यो अनि आजकाल सामान्य लिन्छु त्यो शब्द । पहिलेचाहिँ साँच्चै रिस उठ्थ्यो, हेपेको जस्तो लाग्थ्यो ।

🔹तपाइको कथा संग्रह लाटो पहाडको कुरा गरौँ । धेरै पाठकले अत्यधिक रुचाएको कथा संग्रहभित्र लाटो पहाड पनि पर्दछ । अनि त्यो तपाइको कृतिले पद्मश्री पुरस्कार पनि प्राप्त गरेको छ । वास्तवमा यो कथासंग्रह भित्र के पाउन सकिन्छ ?
लाटो पहाड कथा संग्रहभित्र त्यस्तो उत्कृष्ट कथा त खासै छैन । थुप्रै बिग्रेका कथाहरु छन् । त्यो कृति चाहिँ कबड्डी चलचित्रको छायाङ्कनका समयमा हतारमा प्रकाशित भएको कृति हो । मैले फाइनल हेर्न पनि नपाई प्रकाशित भयो । एउटा कुरा चाहिँ के सत्य हो भने मैले ५/६ वर्ष भयो होला त्यो कृति दाहोर्‍याएर पढ्न पाएको छैन । त्यो कृतिभित्र कुनै–कुनै कथाहरू त कथा जस्तो नभएर निबन्ध जस्तो भएका छन् । त्यै भएर पनि पाठकहरूले रुचाइदिए, यसै पुरस्कार पनि थापियो, खुसी छु । तर त्यो कथा संग्रहमा मेरो मिहेनत चाहिँ कम छ । २/३ वटा कथाहरूमा चाहिँ खुब मिहेनत गरेको छु । कथासंग्रहमा नयाँ के छ भने नेपालको पूर्वी लिम्बुवानको जनजीवनका पात्रहरुलाई समावेश गरेको छु । सायद धेरै कथाहरु पात्र विशेष भएकाले पनि पठकहरुले रुचाए होला, म चलचित्र प्रति अलि धेरै चाहाना राख्ने भएकाले पनि होला पात्रहरुको खोजी मेरो प्रमुख प्राथमिकतामा पर्दछन् । निचोडमा भन्ने हो भने लाटो पहाड कथा संग्रह त्यस्तो उत्कृष्ट कथा संग्रह चाँही होइन तर १/२ वटा कथा चाँही मलाइ पनि फेरी लेख्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ ।

🔹अब, अलि कति फरक प्रसंग जोडे मैले कवि ज्यु, तपाइहरु त सृजनशिल अराजकताको साहित्यक आन्दोलनमा पनि हुनुहुन्छ नि । बास्तबमा यो अभियान के हो ? र यसले नेपाली साहित्यमा के प्रभाव पार्छ ?

सृजनशिल अराजकताको साहित्यिक आन्दोलनमा हामी राजन मुकारुङ, हाङयुग अज्ञात र म छौँ । हामीले यो आन्दोलन किन ल्यायौँ भने नेपाली साहित्यमा विविधता छैन । नेपाली साहित्य एकल शौन्दर्यको छ । हिन्दु शौन्दर्य र भारतीय शौन्दर्यशास्त्रीबाट नेपाली साहित्य निर्देशित छ । यहाँ हामी आफ्नो कुरा लेखेर फरक हुन सक्छौँ जस्तो लाग्यो, र यो नेपाली भाषा, साहित्यका लागि प्रभावकारी अभियान हो । र पछि चाँही यहीँ कुराहरु पहिचानसँग जोडिएर आयो । हाम्रो पनि नेपाली साहित्यमा पहिचान कै खोजी हो । त्यसमा हामीलाई पनि स्थापित हुन सजिलो भयो होला । र यो अभियानले नेपाली साहित्यलाई अझै फाराकिलो वनायो । मलाई के लाग्छ भने कविता मार्फत मात्र भए पनि नेपाली साहित्यमा धेरै शब्दहरुको बिकास भए । त्यसैले यो आन्दोलनले नेपाली साहित्यमा धेरै प्रभाव पारको छ ।।