August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

शब्दका जादुगर– गुल्जार

1.9K

गुलजार जसको शाब्दिक अर्थ हुन्छ चहलपहल, हरिलोभरिलो, आकर्षक, आनन्ददायक, शोभायुक्त, सुशोभित आदि । गुलजारको शब्दको अर्थ खोज्दा जे–जे भेटियो, ठ्याक्कै उनका सिर्जनामा पनि गुलाजर नै गुलजार पाइन्छ । हुन त गुलजारको वास्तविक नाम सम्पूर्ण सिंह कालरा हो । उनको नाम सम्पूर्णको अर्थ खोज्ने हो भने उनी भन्दा सम्पूर्ण अरु कोहि खोज्ने झंझट गरिरहन पर्दैन । एउटै व्यक्ति जो गीतकार, कवि, पटकथाकार, लेखक, नाटककार र फिल्म निर्देशक भएपछि उनी नै सम्पूर्णको पर्यायवाची भइ नै हाले ।

हामीहरू गुलजारसँग धेरैपटक अप्रत्यक्ष जंकाभेट गरिरहेका हुन्छौं । कहिले सार्वजनिक बसको कोलाहलभित्र तीखो स्पिकरमा ‘तुझ्से नारज नहिं जिन्दगी’ भनेर अँगालोको आव्हान गरिरहेका हुन्छन्, कहिले फेरि बिछोडिएको प्रेमी/प्रेमिका सम्झाइ दिन्छन् ‘मेरा कुछ सामान तेरे पास हें’ भनेर । कहिले उनको गीत प्रेमिकाको प्रशंसा गर्न गुनगुनाइन्छ, ‘आपकी आँखो मे मेहकी हुई सि राज हें’ भन्दै । अनि बूढो भएको तनको प्रतिनिधित्व गर्दै लड्डुको स्वाद चखाउने गीत ‘दिल तो बच्चा हे जि.. ।’

उनका रचनाले बच्चादेखि वृद्ध, पार्कदेखि पार्टी, मिलनदेखि बिछोड, प्रेमदेखि पूजा आदि सबै क्षेत्रलाई स्पर्श गरेको हुन्छ । आजको यो गुलजारसँगको यात्रामा मैले गुलजारका जीवनको एल्बम पल्टाएर उनका केही रोचक किस्सा र उनले रचना गरेका गीत, कविता, गजलका केही अंशलाई नेपाली अनुवाद प्रस्तुत गरेर तपाईंको मन देखि मस्तिष्कलाई आनन्द दिने कोसिस गर्ने छु ।

Advertisement

नक्साबिना नै पंक्षीहरू आफ्नो गन्तव्यसम्म पुग्छ्न्
मान्छे मात्रै हो मनदेखि मनसम्म पनि पुग्न नसक्ने ।

***

तिमीलाई गुमाउन चाहन्न, त्यसले पाउने चाहना पनि राख्दिन ।

***

मलाई त्यस्तो कुर्सीमा बस्न मन लाग्दैन, जसमा बस्दा खुट्टा भुइँमा छोइन्न ।

***

सबै आफ्ना जस्तै लाग्छन् तर कुरामा मात्र ।

***

प्राय त्यही दियोले हात जलाइदिन्छ जसलाई हामी हावाबाट बचाएर राख्छौँ ।

***

एउटा समय थियो जब हामी सोच्थ्यौं कि हाम्रो पनि दिन आउने छ ।
आज यस्तो लाग्छ, ती अतितका दिन क्या दिन थियो यार ।

***

जिन्दगीभर सुख कमाएर घरको ढोकाबाट भित्र्याउँछौँ, तर पत्तै लाग्दैन कहिले–कहिले झ्यालबाट उमेर निक्लेर जान्छ ।

***

घामलाई लिएर जाऊ, लामो यात्रा छ काम लाग्नेछ ।
छाया पनि बोकेर जानू, थकानमा शीतलता छर्नेछ ।

***

आज मुटुको फोटोकपी गराएँ, मात्र वालापनको तस्वीरु रंगिन निक्लियो ।

***

कसैका लागि मर्न थालेपछि सुरू हुन्छ प्रेम
अरे ! यो प्रेम जीवित मान्छेको बसमा कहाँ छ

***

एउटा चिठी लेखेँ मानवताको ठेगानामा
हुलाकी नै हरायो दुनियाँबाट
ठेगाना खोज्दाखोज्दै ।

***

सुनेको छु
धेरै पढेलेखेको छौ, तिमी
कहिलेकाही त्यो पनि पढ
जे म व्यक्त गर्न सक्दिनँ ।

***

अलिकति वार्तालाप साथीभाइसँग
गर्ने गर
प्राय बन्द कोठामा जालो लाग्ने गर्छ ।

***

निदाउनु
सबै समस्यालाई सिरानी हालेर
विहान
हुनेबित्तिकै
फेरि त्यसैलाई
अँगालोमा बेर्नु छदैछ ।

***

कसले भन्छ
हामी झुठो बोल्दैनौं
एकचोटि हालखबर
सोधेर त हेर !

***

थोरै शान्तिको पनि
खोजी गर्नोस् हजुर
यो आवश्यकता त
कहिले पूरा हुँदैनन् ।

***

इच्छा
धोकेबाज हुन्छ
पूरा हुनेबित्तिकै
बदलिन्छ ।

***

प्राप्ती त
धेरै भयो जिन्दगीबाट
बस् हामीले
गिन्ती त्यसैको गर्छौं
जो प्राप्त हुन सकेन ।

***

पीडाको पनि आफ्नै अदा हुन्छ
जसले सहन सक्छ , उसैमा फीदा हुन्छ ।

***

कुनैकुनै नाताबाट फाइदा हुन्न
तर
जिन्दगी
धनी बनाइदिन्छ ।

***

कुनै इच्छाहरु
यसरी पनि अधुरो रह्यो ।

पहिला उमेर थिएन
अब उमेर रहेन ।

***

क्षणभरको वार्ता अनि महिनाभरको दुरी
आदत तिम्रो पनि तलब जस्तो छ ।

***

जो तिमीबाट वाक्क भइसकेका छ्न
उसलाई छोडिदेउ
बोझ बनेर बस्नु भन्दा याद बन्नु बुद्धिमता हो ।

***

आँखा पोखरी होइन
तर पनि भरिन्छ
मन सिसाको होइन
फेरि पनि फुटछ

र मान्छे मौसम होइन तर पनि बदलिन्छ ।

***

पीडा सधै आँसुबाट बहेर जान्न
कहिलेकाही मुहारको हाँसोबाट पनि निक्लेर जान्छ ।

***

तिमी सपना होइन यथार्थ हो
त्यो यथार्थ जो सपना हो ।

***

एउटी नारी कुनै पुरुषलाई तबसम्म सुन्दर लाग्छ
जबसम्म प्राप्त हुदैन
जब प्राप्त हुन्छ
उसले कदर गर्न छोडिदिन्छ ।

***

तिमीलाई त्यही पल भुलिदिन्छु
जुनदिन तिमीलाई मैले भन्दा धेरै प्रेम गर्ने मान्छेसँग
भेट गराइदिन्छौ ।

***

तिम्रो नखरा उसैले सम्हाल्न सक्छ
जसले तिमीलाई साचो प्रेम गर्छ

***

कसैको गल्तीलाई बेनकाब नगर
ईश्वर छदैछ तिमी हिसाब नगर

***

हरेक कुरालाई मनमा लियौ भने रोएर बस्नेछौ
जो जस्तो छ उस्तै बन्न सिक

***

आत्मालाई होइन सरिरलाई प्रेम गर्न थाल्यो दुनियाँ
प्रेमको वाहानामा बासनालाई मेटाउन थाल्यो दुनियाँ

***

पुरुषको चरित्र थाहा पाउनको लागि एक्लै भेट्न पर्छ ।
नारीको चरित्र थाहा पाउनको लागि ऊसँग तब भेट्नपर्छ जब उनी आफ्ना साथीहरुसँग हुन्छिन् ।

***

जुन नाताले हामीलाई रुवाइदिन्छ, त्योभन्दा गहिरो अर्को कुनै नाता छैन ।
जुन नाताले हामीलाई रोइरहेको अवस्थामा छोडिदिन्छ , त्यो भन्दा कमजोर अरु कुनै नाता छैन ।

***

याद त्यो होइन, जुन एक्लोपनमा आउँछ ।
याद त त्यो हो, जो भीडमा आउँछ र एक्लो बनाइदिन्छ ।

***

खुट्टामा लाग्ने ठेसले सम्हालेर हिँडन सिकाउँछ ।
मनमा लाग्ने चोटले समझदारीको साथ जिउन सिकाउँछ ।

***

तिमीलाई भेटेर यो ज्ञान मिल्यो ।
झुटा मान्छेहरू पनि कति महत्त्वपूर्ण हुन्छन् ।

गुलजारको जन्म १८ अगस्त १९३६, दीना झेलम जिल्ला, पंजाब, ब्रिटिस भारत (अहिले पाकिस्तान ) मा भएको हो । देशको विभाजन भएपछि उनको परिवार अमृतसर– पंजाबमा आएर बस्यो । गुलजार मुम्बई आएर ग्यारेजमा मेकानिक भएर काम गरे । फुर्सदको समयमा साहित्य सिर्जना गरे । उनको संगत प्रशिद्ध निर्देशक बिमल राय, ऋषिकेश मुखर्जी, हेमन्त कुमारसँग भयो र यीनिहरूको सहायक भएर पनि काम गरे । उनले अभिनेत्री राखीसँग विहे गरे तर छोरी जन्मिनासाथ उनीहरू अलग भए । राखी र गुलजार अलग भएपनि कानुनी रुपमा कहिल्यै सम्बन्ध बिच्छेद गरेनन् । उनको छोरी मेघना गुलजार निर्देशक पनि हुन् । उनले सत्यकथामा आधारित चलचित्र छपक बनाएकी छन्, जुन कथा एसिड आक्रमण सर्भाइभरको हो ।

गुलजारले बंदनी फिल्मबाट गीत लेखेर ‘क्यारियर’को सुरुवात गरे । त्यसपछि आशीर्वाद फिल्मबाट संवाद पनि लेख्न सुरु भयो । निर्देशक भएर मेरे अपने, परिचय, कोशिश, अचानक, खुशबू, आँधी, मौसम, किनारा, किताब, अंगूर, नमकीन, मीरा, इजाजत, लेकिन, लिबास, माचिस, हु तू तू जस्ता चलचित्र बनाए । उनले भारतबाट पाइने लगभग सबै महत्त्वपूर्ण पुरस्कार प्राप्त गरिसकेका छन् । सन् २००७ मा स्लमडग मिलेनियरको गीत ‘जय हो’ को लागि ओस्कार अवार्ण पनि प्राप्त गरे ।

गुलजारले पछिल्लो समय गद्य कविताहरू लेखिरहेका छ्न् । केहि कविताहरूको नेपाली अनुवाद प्रस्तुत छ ।

पहाड र मान्छे

यसै ठाउँमा पछिल्लो चोटि आउँदा पनि
यहीँ पहाडको मुनि थिएँ
पहाडले भनेको थियो

तिमीहरूको उचाई किन होचो हुन्छ ?
आउँ हात समाऊँ मेरो
करङमा पाउँ टेकेर माथी चढ
आउँ नियालेर अनुहार त हेरौं, कस्तो देखिन्छौ !
जसरी मेरा भिन्नभिन्न कमिलाहरूलाई तिमीले चिन्न सक्दैनौ
त्यसैगरी मलाई पनि तिमीहरू सबै उस्तै लाग्छौ
बस् एउटै मात्र फरक छ
मेरा कुनै कमिला तिम्रो शरीरमा चढ्यो भने
चिमोठेर मारिदिन्छौ
तर म त्यसो गर्दिनँ

मेरा गोब्रेसल्लोको उचाई कति अग्लो छ !
तिमी भन्दा सात गुणा, कोहि–कोहि त दसबाह्र गुणा नै अग्ला होलान्
आयु हेर कति लामो छ
शताब्दीदेखि जिउँदै छन्

भन्नलाई त भनिदिन्छौ
तर ठूलाबडाको इज्जत गर्दैनांै
त्यसैले होचो हुन्छौ तिमीहरू

म त्यति एक्लो छैन जति तिमीले सोचेको छौ
तिमीहरू नै भीड भित्र पनि एक्ला छौ

बादलको भीडको समुह जब यात्रामा निक्लन्छ्न्
मलाई अँगालो मारेर जान्छ्न्

नदि जब बग्दछ, चरण स्पर्श गरेर विदा लिन्छ
मौसम त मेरो पाहुना हो
एकचोटि आएपछी महिनौं बसेर जान्छन्
अलगअलग सम्बन्ध गासिएको छ ।

मलाई यस्तो लाग्छ– कति छोटो आयुमा तिमीहरूको मिलन र बिछोड हुन्छ
आशा र उद्देश्य पनि साना नै हुन्छ्न्
त्यसैले तिमीहरूको उचाई यति धेरै होचो हुन्छ ।

गफाडी कवि

अचेल म उसको केहि कुरासँग सहमत छु
शायद उसले भनेको सहि हो
कवि नभएको भए कति गफाडी मान्छे हुन्थ्यौ तिमी !

भेट हुने बित्तिकै प्रश्न सोधेको थियो
नयाँ–नयाँ कुर्तामा कहाँबाट रंग लगाएर आयौ ?
यसो हेरेर याद आयो
समुन्द्री किनारमा गएको
सुर्यास्त हेर्दै थिएँ
त्यसैको रंगले रंगियो शायद !

के भयो आँखामा ? किन मिचिरहेको ?

छतमा थिएँ
बिजुली चम्कियो
एक टुक्रा प्रकाश गएर बायाँ आँखामा पसेछ !

उसलाई पागलपन लाग्दो हो

अबेलासम्म हिजो आकाश हेरेँ
आँखा निलो हुन थाल्यो
रंग उडेछ आकाशको
आकाशको रंग काँचो रहेछ !

औलामा केही भयो क्या ?

अँ राती तारा गन्दागन्दै औला जल्यो
छाला उक्किएछ !

उदास घाटी (उपत्यका)

धेरै उदास–उदास छ यो घाटी
घाँटी निमोठिरहे जस्तो औलाहरूले
यो सास फेरिरहेछ तर सास लिन सकिरहेको छैन।

वृक्ष उमिरहेछ केही सोचेर यसरी
जसले सिर उठाउनेछ उसैको सिर काटिनेछ पहिले ।

बादल पनि गर्धन निहुराएर आउँछन् लज्जित भएर
किनभने मेटाउन सकिने छैन रगतले बनाएको दागहरू ।

हरियो–हरियो छ, तर अब घाँस हरियो पनि छैन
जहाँ गोली चलेको थियो जमीनमा घाउ भरिएको पनि छैन

जुन माइग्रेटरी पक्षीहरू आउने गर्थे
उनीहरू सबै फर्किए घाइते हावासँग डराएर

धेरै उदास उदास छ घाटी
यो घाटी हो, कश्मिर ।

गुलजारले धेरै फिल्ममा संवाद लेखे तर आनन्द फिल्ममा उनले लेखेको संवादले अमृतपान ग¥यो । फिल्मका प्रत्येक संवादले दार्शनिक उचाई पायो । प्रस्तुत छ, आनन्द फिल्मको केही संवाद नेपाली भावानुवादमा ।

जबसम्म जीवित छु, तबसम्म मरेको छैन । जब मर्नेछु साला म नै रहन्न ।

***

जिन्दगी विराट हुनुपर्छ लामो होइन ।

***
मान्छु कि जिन्दगीको ताकत मृत्युभन्दा ठूलो छ । तर, यो जिन्दगी मृत्यु भन्दा के कम छ र ?

***

जीवन र मृत्यु त भगवानको हातमा छ । त्यसलाई न तपाईं बदल्न सक्नुहुन्छ न त म । हामीसबै रंगमञ्चको कठपुतली हौँ, जसको डोरी भगवानको हातमा छ ।

***

मृत्यु तँ एउटा कविता हो
मलाई कविताको कसम छ, पाउने छु मैले
डुब्दै गरेको नाडीमा
जब पीडालाई निन्द्रा लाग्न थाल्छ
पहेँलो मुहार बोकेर जून, जब क्षितिजमा पुग्छ
दिन अझै पानीमै छ, रात किनाराको नजिक
न अँध्यारो, न उज्यालो, न दिन न रात

देह जब नष्ट हुन्छ अनि आत्माले प्राण भर्दछ
मलाई कविताको कसम छ
मैले प्राप्त गर्ने छु ।

गुलजार राखी सम्बन्ध

राखी र गुलजारको बिहे सन् १९७३ मा भयो । उनीहरूको सन्तनाको रुपमा मेघनाको जन्म भयो । छोरी जन्मेको एक वर्षमै यो जोडी अलग भयो । यीनिहरू अलग हुनुको खास कारण बाहिर मिडियामा आएको थिएन तर केही पहिला एउटा मनोरञ्जन पोर्टलले एउटा मस्तिष्क हल्लाउने खबर छाप्यो । जसमा उनीहरू अलग हुनुको कारणसहित समाचार सम्प्रेषण भएको थियो ।

समाचार अनुसार गुलजार र राखीको विहे सम्झौतामा भएको थियो । विहेपछि राखीले फिल्ममा अभिनय नगर्ने सहमति थियो । राखीलाई आशा थियो कि बाहिरको फिल्ममा अभिनय नगरेपनि गुलजारले बनाएका फिल्ममा अभिनय गर्ने अवसर मिल्छ होला भन्ने तर यसो भएन जसकारण राखी दुःखी हुँदै गएकी थिइन् ।
राखीलाई धेरै फिल्मका अफर आउँथे तर गुलजारले अनुमती नदिएपछि दुईबीच मनमुटाव सुरु हुन लाग्यो ।

पिकंविला पोर्टलले लेख्छ, ‘गुलजार आँधी फिल्मको शूटिङको लागि काश्मिरमा थिए, आफ्ना समुहसँगै राखी पनि उपस्थित थिइन् । एउटा रात्री डिनर पार्टीमा नायक सञ्जिव कपुर निकै मातेको अवस्थामा थिएँ, नायिका सुचित्रा सेनको हात समातेर उनलाई उम्कन दिएका थिएनन् । त्यतिबेला गुलजारले सुचित्रा सेनलाई कपूरबाट उम्काउन कोठामा लिएर गए । त्यतिनै बेला राखीले गुलजारलाई सुचित्राको कोठाबाट आउँदै गरेको देखिन । त्यसपछि बबाल सुरु भयो । राखीले आकर्षक हिरोइनलाई कोठासम्मै छोड्न जानपर्ने कारणबारे केरकार गरिन् । गुलजार यो प्रश्नबाट छुटकारा खोज्दै थिए तर राखीले त्यहाँ तमासा गर्न थालिन् । यतिकैमा कोमल शब्द लेख्ने गुलजारका हातले राखीलाई प्रहार गर्न थाल्यो । यो घटनापछि राखीले गुलजारको पशु जस्तो व्यवहार भुल्न सकिनन् । अन्ततः सधैको लागि अलग भए ।’

यो समाचार कति सत्य वा असत्य हो यकिन गरेर भन्न सकिन्न । यसबारेमा न कहिले राखीले भनेकी छिन् न त गुलजार नै बोलेका छन् ।

उनीहरू अलग भएको करिब ५० वर्ष भएपनि छोरीका कारण डिभोर्स भने गरेनन् । एकर्कासँग हरेक उत्सव मनाउँदै आए । पछिल्लोपटक राखी, गुलजार र उनका नातीले खुसीसाथ होली खेलेको तस्बिर पनि समाजिक सञ्जालमा छ्यापछ्याप्ती आएको थियो ।

गुलजार र राखीकी छोरी भने आफ्ना मातापिताको अलग बस्ने निर्णयलाई सकारात्मक रुपमा लिन्छिन । उनले भनेकी थिइन, ‘मेरो मातापिता अलग बस्नुले नै उहाँहरू सिर्जनशील हुन पाउनुभयो । अलग बसेपछि आमाले फिल्म क्यारियरलाई अझै विराट रुपमा लैजाने अवसर पाउनुभयो भने बुवाले आफ्नो लेखनलाई फराकिलो बनाउन पाउनु भयो ।’

गुलजारलाई आरोप

हिन्दी गीतबाट ओस्कार अवार्ड प्राप्त गर्ने, बलिउडका अत्यधिक सफल र चर्चित गीतकार गुलजारलाई एउटा आरोप लाग्ने गरेको छ । उनी चर्चित शायरका लाइनलाई आफ्ना गीतमा प्रयोग गर्छन् भनेर ।

‘जी ढूंढता है फिर वही फुरसत के रात दिन
बैठे रहे तसव्वुरे जाना किए हुए’

यो माथिको शेर मिर्जा गालिबको हो । गुलजारले यसलाई
मौसम फिल्मको गीतमा यसरी प्रयोग गरेका छन्, ‘दिल ढूंढता है फिर वही फुरसत के रात दिन ।’

त्यसैगरी सर्वेक्षल दयाल सेक्स्नाको कविता ‘इब्न बतूता पहन के जूता निकल पडे बजार मे भ्व पढ रखी होगी ।’ यो कवितालाई गुलजारले ईश्किया फिल्ममा यसको अगाडि ‘पहनो तो करता चुर्र।’ लगाएर प्रयोग गरेका छन् ।

गुलजारले यो कुराको बचाव गर्दै भन्छ्न्, ‘नयाँ शायरलाई पुराना शायरले एउटा लाइन दिन्छन्, जसमा उसले बाँकी शेर बनाउँदै लानुपर्छ । यो एउटा उर्दू परम्परा हो । म पनि दिग्गज शायरको अगाडि सानो शायर हुँ । त्यसैले उहाँका लाइन प्रभावित भएर लिएको हो ।’

मीना कुमारीको त्यो डायरी

मीना कुमारी र गुलजारको दोस्ती विपरीत ध्रुवको चुम्बक जस्तै थियो । ट्राजेडी क्वीन भनेर चिनिने मीना कुमारी गुलजारका सिर्जनाको प्रशंसक थिइन । श्वासको धागो चुड्ने बेला मीना कुमारीले गुलजारलाई एउटा डायरी दिएर गएकी थिइन् । त्यो डायरीमा मीना कुमारीको आत्मकथा र किस्सा होलान भन्ने धेरैको अनुमान थियो । गुलजारले जब त्यो डायरी पढे, त्यो डायरीले मीना कुमारीका शायरी जतन गरेर राखेको थियो । आफ्नो दोस्ती निभाउँदै गुलजारले ती शायरीलाई संकलम गरेर सम्पाद्न सहित ‘मीना कुमारी कि शायरी’ भनेर किताब प्रकाशित गराइदिए ।

गुलजारले किन सेतो वस्त्र धारण गर्छन् ?

बालापनमै जब भारत र पाकिस्तान अलगअलग राष्ट्र बन्यो । पाकिस्तानबाट ज्यान बचाउन उनका परिवार भारतमा शरण लियो । भारत–पाकिस्तानको दंगामा आफ्ना दुई दिदीबहिनीलाई गुमाए । वैवाहिक जीवन सफल भएन । आफ्ना पिताको अन्त्योष्टीमा पनि सहभागी हुन सकेनन् । यी सबै कुराले व्यक्तिगत जीवन पीडा र उदासीले भरिएको महशुस गर्न सकिन्छ । उनी आफैले यहि कारण सेतो वस्त्र लगाउँछु नभनेपनि, शोकको कारण उनी सेतो वस्त्र लगाउँछ्न भनेर बलिउडमा अड्कल अन्दाजी लगाइन्छ ।

गुलजारले भारतबाट प्रदान गरिने लगभग सबै पुरस्कारलाई स्पर्श गरे उनले पद्म भूषण अवार्ड, ओस्कार अवार्ड, दादा साहेब फाल्के अवार्ड, कयौं फिल्मफेयर अवार्ड, नेशनल अवार्ड प्राप्त गरेका छन् । उनले टेलिभिजनदेखि ठूलो पर्दामा सफल निर्देशक र पटकथाकार भएर काम गरे । मिलेनियम सुरु भएपछि उनले फिल्म बनाउने कामलाई आराम दिएर आफ्नो गद्य कविता लेख्ने सपनालाई पूरा गर्नतिर लागे । उनका गीत–गजल त प्रशिद्ध थिए नै गद्य कविता पनि निकै चर्चित छन् । ८६ वर्षको उमेरमा पनि गुलजारको कलम बूढो भएको छैन । उनको कलमले लेखिरहोस् जिन्दगीलाई, शुभकामना ।

प्रस्तुतिः जनक कार्की